चलचित्रकर्मीलाई पेन्सनको व्यवस्था गर्न सरकारसँग माग
काठमाडौं : २५ वर्षभन्दा बढी समय काम गरेका चलचित्रकर्मीलाई पेन्सनको व्यवस्था गर्न चलचित्र क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुले सरकारसँग माग गरेका छन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको पहलमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का सहितको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग भेटी यस्तो माग राखेका हुन्। उनीहरुले सरकारको आगामी बजेट, सरकारको नीति तथा कार्यक्रममा चलचित्र क्षेत्रलाई समेट्न आग्रह गरेका छन्।
उनीहरुले आर्थिक वर्ष २०७७–७८ मा नेपाल सरकारले कलाकार संघको भवन निर्माणमा बजेट, चलचित्रकर्मीहरुको निःशुल्क उपचारको व्यवस्था, चलचित्र विकास बोर्डलाई स्वायत्तता, कलाकार संघको कलाकार कल्याण कोषमा सरकारी अनुदान लगायतका माग राखेका छन्।
सोही अवसरमा कलाकर्मीले विशिष्ट चलचित्रकर्मी परिचयपत्रको सहुलियत सुविधा कार्यान्वयन तथा वितरण निरन्तरता दिनुपर्ने, विश्वका धेरै मुलुकमा नेपाली चलचित्रको विकास, विस्तार गर्ने उद्देश्यले प्रत्येक नेपाली राजदूतावासमा विज्ञ सहचारीको व्यवस्था गरिदिन सञ्चार मन्त्री गुरुङसामु माग राखेका थिए।
भेटका क्रममा मन्त्री गुरुङले कलाकर्मीबाट प्राप्त सुझाव कार्यान्वयनमा पहल गर्ने आश्वासन दिएका थिए।
चैत ५, २०७७ बिहीबार १२:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।