रियालिटी शोका विजेता, यता न उता

रियालिटी शोका विजेता, यता न उता

काठमाडौँ : पछिल्लो समय नेपालमा रियालिटीशोले ठुलै बजार लिएको छ। टेलिभिजनहरूले रियालिटीशोलाइ दर्शक तान्ने एउटा माध्यम नै बनाएका छन्।

गाउने, नाच्ने र हँसाउनेसम्मका रियालिटी शोमा टेलिभिजनहरूबिच प्रतिस्पर्धा नै चलेको देखिन्छ। तर लुकेको प्रतिभालाई बाहिर ल्याउने भन्दै गरिने यस्ता रियालिटी शोहरुमा विजेता बनेका प्रतिभा भने गुमनाम जस्तै भएका छन्।

नेपालको पहिलो रियालिटी शो ‘तिम्रो सुर मेरो गीत’ देखि अहिलेको ‘द भ्वाइस अफ नेपाल’ सम्म आइपुग्दा विजेताभन्दा विजेता बन्न नसकेका अन्य प्रतिस्पर्धीको चर्चा बढी हुने गरेको छ।

नेपालमा २०४५ देखि यता दर्जनौँ रियालिटी शो भए। ती रियालिटी शोका विजेताहरुको खासै चर्चा छैन।

२०६१ मा नेपाल टेलिभिजनबाट भएको रियालिटी शो ‘नेपाली तारा’का दीपक लिम्बुले सफलता हासिल गरेका थिए। तर त्यसपछि भएका सिजनका विजेता अगाडि आउन सकेनन्। नेपाली तारा सिजन २ का सन्तोष लामा, सिजन ३ प्रताप लामा, नेपाल स्टारकी पहिलो विजेता बिष्णु चेम्जोङ, दोस्रो सिंगिङ स्टारकी विजेता रितु लामालाई श्रोता तथा दर्शकले बिर्सिसके।

किन गुमनाम भए?

नेपाली तारा सिजन २ का विजेता सन्तोष लामा आफूले गाएका गीत सबैतिर पुग्न नसकेका कारण चर्चा नभएको बताउँछन्। उनी भन्छन्, ‘गीत त मैले गाइरहेकै हुन्छु। तर ती गीत सीमित  दर्शक श्रोतामाझ मात्रै पुग्छ। रियालिटी शो चलिरहेको ६ महिनासम्म चर्चा हुने मात्रै रहेछ। त्यसपछि न पत्रकारले खोज्छन् न कलाकारले। यो चलिसक्यो भन्ठान्नेर हो कि के हो? कसैले सम्पर्क नै गर्नुहुन्न। अर्को कुरा मैले  भाइरल हुने खाल्का गीत नगाएर पनि हो कि भन्ने पनि लाग्छ।’

लकडाउनको समयमा उनले ‘शब्द’ बोलको गीति भिडियो सार्वजनिक गरेका थिए। तर चर्चा कमाउन सकेनन्।

रियालिटी शो नेपाल स्टारकी विजेता विष्णु चेम्जोङको पनि चर्चा छैन। १० वर्ष अगाडिको रियालिटी शो ‘नेपाल स्टार’ की पहिलो विजेता विष्णु त्यसपछि चर्चामा आउनै सकिनन्। उनी आफू चर्चामा आउन नसकेको कुरा स्वीकार गर्छिन्। उनी भन्छिन्, ‘मैले गीत त गाइरहेकै छु ,चलचित्रमा पनि अभिनय गरिरहेको छु तर,  चर्चा हुँदैन। के कारणले हो मलाई नै थाहा छैन।’

नेपाली तारा सिजन ३ का विजेता प्रताप लामा विजेता हुन्जेल मात्रै चर्चामा रहे। त्यसपछि उनका कति गीत आए, गए कसैलाई पत्तो छैन। उनी मात्रै होइन, पछिल्लो समय चर्चामा आएका रियालिटी शोका थुप्रै प्रतियोगी गुमनाम जस्तै देखिएका छन्।

‘द भ्वाइस अफ नेपाल’का पहिलो विजेता सिडी विजय अधिकारी पनि खासै चल्न सकेनन्। बेलाबेलामा पुरस्कार नपाएको गुनासोले बरु चर्चा पाइरह्यो। सिडीका अनुसार रियालिटी शोका विजेताले चर्चा नपाउनुमा धेरै कारण छन्। ‘रियालिटी शो विजेता भइसकेपछि एक वर्षसम्म उसैको अन्डरमा रहनुपर्छ। अरूका गीत त्यो अवधिभर गाउन पाइँदैन। त्यसपछि बिस्तारै दर्शक तथा श्रोताले भुल्दै जान्छन्,’ सिडी भन्छन्।

रियालिटी शो  ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का राम लिम्बु शोसम्म मात्रै चर्चामा आए। रियालिटी शो सकिएसँगै उनको चर्चा पनि सकियो। अहिले उनको न गीत चर्चामा रह्यो र उनी नै चर्चामा छन्।

त्यस्तै रियालिटी शो ‘नेपाल आइडल’ का पहिलो विजेता पोखराका बुद्ध लामा गायनमा अगाडि आउनै सकेनन्। नेपाल आइडलकै सिजन २ का रवि ओड कोरोनाको कारण आफू गुमनाम जस्तै भएको बताउँछन्।

‘कोरोनाका कारण एक वर्षसम्म चुपचाप नै बसियो। अहिले ‘द लास्ट इयर’ एल्बम लिएर आएको छु। यसमा फरक फरक खालका १० वटा गीत समावेश गरेको छु। निकै मिहिनेत गरेर गीत बजारमा ल्याएँ, अब चल्छ होला,’ उनले भने।

नेपाल आइडल सिजन ३ की विजेता मोरङकी सज्जा चौलागाईं आइडलपछि अगाडि आउनै सकिनन्। बरु आइडलका टपटेनमा परेका रचना रिमाल, प्रविन बेडवाल, किरण भुजेल चर्चामा छन्।

२०७७ सालमा भएको ‘वाईवाई नेपाल स्टार’ मा पोखराकी एलिना गुरुङ विजेता बनिन्। उनको पनि अहिले खासै चर्चा सुनिँदैनन्।

‘तिम्रो सुर, मेरो गीत’ देखि ‘भ्वाइस अफ नेपाल’ सम्मको अवधिलाई हेर्ने हो भने नेपालमा रियालिटीको अभ्यास भएको दुई दशक बितिसकेको छ। नेपाल टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘तिम्रो सुर, मेरो गीत’ लाई व्यवस्थित शैलीको पहिलो रियालिटी शोका रूपमा लिइन्छ। नेपाली ताराकै दौरान ‘खोजी प्रतिभाको’, ‘साउथ एसियन स्टार नेपाल’, ‘सिंगिङ स्टार’, ‘लक्स नेपाल स्टार’ जस्ता शोहरू प्रसारण भएका थिए ।

रियालिटी शो खहरे खेला जस्तै : राजु सिंह

साउथ एसियन स्टार नेपाल, लगायत रियालिटी शोमा जजको भूमिका निभाइसकेका सङ्गीतकार राजु सिंह रियालिटी शो खहरे खोला जस्तै भएको बताउँछन्। उनी भन्छन्, ‘रियालिटी शोमा अरूका गीत विजेताहरूले राम्रै गाउँछन् तर पछि आफ्नै गीत राम्रो गाउन नसकेको हो की भन्ने मलाई लाग्छ। उहाँहरूको स्वर राम्रो हुन्छ। तर राम्रो कम्पोजर, राम्रो गीत नभेटेको कारण पनि पछि परेको भन्ने मलाई लाग्छ। राम्रो गीत पाएकाहरू त चलेकै छन् नि।’

उनी हरेक गायक-गायिकामा आफ्नो मौलिकता हुनुपर्ने बताउँछन्। अहिले जति पनि गायक-गायिका तथा सङ्गीतकार छन्, ती सबै आफ्नै मौलिकपनबाट चलेको र दर्शकमाझ चिनिएको सङ्गीतकार सिंहको भनाइ छ।

चैत ५, २०७७ बिहीबार ०७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।