माधव नेपालले भने- साइबर स्यालहरू जिउँदै रहेछन्

माधव नेपालले भने- साइबर स्यालहरू जिउँदै रहेछन्
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विचार शून्य भएकाहरूले कम्युनिस्ट पार्टी बनाउन नसक्ने बताएका छन्।

आज आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेता नेपालले अहिलेको अवस्थाको जिम्मेवार केपी शर्मा ओली नै रहेको बताए। 

उनले गलत सूचना दिन साइवर स्यालहरू अहिले पनि बाँचिरहेको बताए। ‘कार्यकर्ता भेला रोकियो भनेर प्रचार भएछ,’ उनले भने,‘साइवर स्याल जिउँदै रहेछन्।’

उनले यो पदको लडाईं नभएको बताए। राष्ट्रिय भेला विधि, विचार र पार्टी निर्माणसँग जोडिएको नेपालको भनाइ छ। 

ओलीले मदन भण्डारी फाउन्डेसनको नामबाट पूर्वाग्रह राखेर गुटको सुरुवात गरेको नेपालले बताए। उनले ओलीको विधि प्रक्रिया मिच्ने प्रवृत्तिबाट पीडित भएकाहरू एक ठाउँमा भेला भएको बताए।

नेता नेपालले अध्यक्ष ओली छलफलका लागि तयार नै नभएको बताए। ओलीमा ‘आइ एम त पार्टी’ भन्ने तानासाही प्रवृत्ति रहेको नेपालको भनाइ छ। उनले सबै समस्याको जरो ओली नै भएको आरोप पनि लगाए। सहमतिको सधैँ रटान लगाउने तर स्वेच्छाचारिता लाद्ने काम ओलीले गरेको नेपालको भनाइ छ। 

‘समाजवादमा जाने कुनै चिन्तन देखिँदैन,’ उनले भने, ‘यी सबै विषयमा हामी छलफल गर्नेछौ।’ उनले सर्वोच्च अदालतको परमादेश मान्न बाध्य भएको बताए। 

ओलीले विदेशी तत्त्वको सेवा गरेको भन्दै नेपालले समाजवादमा जाने चिन्तन नदेखिएको बताए। उनले ओलीले कम्युनिस्ट आन्दोलनलाई तहस नहस पार्न पार्टी एकीकरणको काम नगरेको आरोप पनि लगाए। उनले ओली र प्रचण्डले खुसुक्क सहमति गरेका बताए। ‘खुसुक्क सहमति गर्ने अनि उल्लङ्घन गर्ने?’ उनले प्रश्न गरे। 

नेता नेपालले पूर्व एमालेको सङ्गठनात्मक संरचना, राजनीतिक, वैचारिक मान्यता, सबै नेतृत्व र सदस्य यथावत् राख्नु पर्ने बताए। पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्नु पर्ने र पार्टीको बैठक निजी निवास र सरकारी निवासमा नहुने ग्यारेन्टी हुनुपर्ने नेता नेपालले बताए।

उनले अहिले पनि मिलेर अगाडि बढ्न तयार रहेको बताए। पूर्व एमालेलाई बलियो र सुदृढ बनाउनु पर्ने उनको भनाई छ। भेलामा कार्यपत्र प्रस्तुत गर्न भन्दै नेता नेपालले पत्रकारलाई हलबाट बाहिर जान भने। 

चैत ४, २०७७ बुधबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।