लकडाउनको शुल्क मिनाहको माग गर्दा उल्टै धम्क्याउँछन् शिक्षक

लकडाउनको शुल्क मिनाहको माग गर्दा उल्टै धम्क्याउँछन् शिक्षक

इटहरी : विगतमा राजनीतिक विद्यार्थी संगठनले मात्र गर्ने आन्दोलन निजी कलेजका विद्यार्थीले पनि सुरु गरेका छन्। लकडाउनको समयमा पढाइ नभएकाले शुल्क लिन नपाइने भन्दै इटहरीका विद्यार्थीहरु एक सातादेखि आन्दोलनरत छन्।

इटहरीको कस्तुरी कलेजबाट सुरु भएको आन्दोलन अन्य कलेजमा पनि सरेको छ। गत बुधबार कस्तुरी कलेजका विद्यार्थीले शुल्क मिनाहको माग गर्दै आन्दोलन सुरु गरेका थिए।

सोही क्रममा इटहरीकै विश्व आदर्श कलेजका विद्यार्थीले पनि शुल्क मिनाहाको माग राखे। कलेज प्रशासनले माग बेवास्ता गरेपछि शुक्रबार इटहरी उपमहानगरपालिका घेराउ गर्न निस्किएका थिए।

उपमहानगरपालिकाले आइतबार छलफलमा बोलाउने भने पनि नबोलाएपछि उनीहरु मंगलबार उपमहागनरपालिका घेराउमा निस्किए।

कस्तुरी कलेजमा अध्ययनररत विद्यार्थी निश्चल पौडेलका अनुसार कलेजले ७ महिना पढाएर १२ महिनाको पैसा लिइरहेको छ। अफिसमा गएर माग राख्दा बेवास्ता गरेको कारण स्थानीय सरकारको ढोकामा न्याय माग्न पुगेको उनले बताए।

सोही कलेकी विद्यार्थी निमा तामाङ नपढेको महिनाको समेत पैसा मागेर हैरान बनाएको बताउँछिन्। ‘तिमिहरुसँग वार्ता गर्न सक्दैनौं। प्राक्टिकलको नम्बरमा जानेका छौं भन्दै सरहरु धम्की दिनुहुन्छ’, उनले भनिन्, ‘बुबाआमालाई फोन गरेर छोराछोरीले पढेन भनेर हामीलाई नभन्नु, पछि फेल भयो भने हामी केही जान्दैनौं भन्दै धम्की दिन्छन्।’

कोशी कलेजकी विद्यार्थी रोइनी गुरुङ भर्चुअल कक्षाको भन्दै पैसा मागेको गुनासो गर्छिन्। ‘हामी ४ सय जना विद्यार्थी थियौं तर १ सय जना पनि नेटको पहुँचमा थिएनौं। अहिले सबैलाई जबरजस्ती पैसा तिर्नुपर्छ भन्नुहुन्छ। त्यो बेला पनि १० हजार तिरेर मात्रै जुम आइडीको पासकोर्ड दिनु भएको थियो,’ उनले भनिन्, ‘अब सम्पूर्ण शुल्क तिरेपछि मात्रै वार्षिक फर्म भर्न पाइन्छ। ६ महिनाको तिरिसक्यौं। बाँकी पैसा मागेर हैरान पारिसक्नुभयो।’

कलेजमा कुरा उठाउँदा शिक्षकले धम्की दिने गरेको विद्यार्थीहरू सुनाउँछन्। बारम्बार भन्दा समेत बेवास्ता गरेको भन्दै सडकमा आउनु परेको उनीहरूको तर्क छ। आफ्ना कुराहरू उठाउँदा विषयान्तर गर्ने गरेको उनीहरुको गुनासो छ।

विश्वआदर्शका विद्यार्थी सरोज दाहालले प्रश्न गरे, ‘हामी राणा शासनको पालक हो र? अन्याय सहनुपर्ने? हाम्रो स्वतन्त्रता छैन? माग राख्दा किन यातना दिन खोजियो?’ आफुहरुलाई पैसा भन्दापनि शिक्षकको व्यवहारले धेरै आक्रोशित बनाएको उनी बताउँछन्।

गत आइतबार नै एक विज्ञप्ति जारी गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आन्दोलनको कुनै औचित्य नभएको बताएको थियो। सुनसरी वा इटहरीमा मात्र फरक नियम लागू हुन नसक्ने हिसानको तर्क छ।

केही दिनदेखि जारी विद्यार्थी आन्दोलनको निन्दा गर्दै हिसानले कसैका कर्तुतका पछाडि लागेर आफ्नो भविष्य जोखिममा पर्न नदिन र त्यसतर्फ अभिमुख हुन नदिन अभिभावक तथा विद्यार्थीहरुमा अपिल गरेको छ। लकडाउनको समयमा भर्चुअल विधिबाट पढाएको र त्यस समयको समेत शिक्षक कर्मचारीको तलब दिएको भन्दै शुल्क लिनु अन्याय नभएको बताएको बताएको हो।

विद्यार्थीको मागको विषयमा इटहरी उपमहानगरपालिकाले भने कुनै प्रतिक्रिया जनाएको छैन। शिक्षा शाखा प्रमुख सूर्य सुवेदी उपमहानगरले निजी विद्यालयहरुसँग छलफल गरेर निर्णय गर्ने बताए। खास वास्तविकता बुझेर अगाडि बढिने उनको भनाइ छ।

इटहरीमा ठूला–साना गरी कक्षा ११ र १२ पढाउने १ दर्जन बढी कलेज सञ्चालनमा छन्। मनमौजी शुल्क लिइरहेका कलेजको विरुद्धमा निजी कलेजका विद्यार्थीको यो नै पहिलो आन्दोलन हो।

चैत ४, २०७७ बुधबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।