चाैथाे अंग : नेपाली मिडियामा डिजाइन बुझ्ने सम्पादक नै छैनन्
काठमाडौं: नेपालमा पत्रिकाको इतिहास लामो भए पनि डिजाइनलाई अझै महत्वपूर्ण पाटोको रुपमा स्वीकार गरिएको छैन। सुरुआती चरणदेखि नै डिजाइनलाई खासै प्राथामिकता दिइएन।
२०४६ सालमा बहुदल आएपछि व्यावसायिक मिडियाहरु आए। नयाँपन दिन उदाउँदै गरेका ब्रोडसिट दैनिकले गोरखापत्रको तुलनामा केही फरक डिजाइन गरे। यद्यपि, ती पनि उतिसारो ‘प्रोग्रेसिभ’ डिजाइन भने होइनन्।
ब्रोडसिटहरुको संख्या थपिन थालेपछि भने डिजाइन पनि प्राथमिकतामा पर्न थाल्यो। प्राथमिकता त दिइयो तर समस्या के देखियो भने डिजाइन भनेको आर्ट गरेकाले गर्ने हुन् भन्ने बुझियो। रङसँग खेल्न जान्ने तथा स्केच बनाउन जानेकालाई नै प्रमुख जिम्मेवारी दिइयो।
डिजाइनबारे ज्ञान भएको भए कला पढेकालाई प्रमुख बनाइँदैनथ्यो होला। अधिकांश नेपाली मिडियामा डिजाइनर प्रमुख कार्टुनिस्ट हुने गरेका छन्। कला र न्युज डिजाइन फरक पाटो हो। कार्टुनिस्टले डिजाइन गर्नै हुन्न भनेको होइन, तर न्युज डिजाइन भनेको फरक विधा हो भन्ने त बुझ्नुपर्छ नि।
कलाको ब्याकग्राउन्ड फरक हुन्छ, त्यस्तै न्युज डिजाइनको पनि। न्युज डिजाइन भनेको अक्षरसँग खेल्ने हो। पत्रकारितालाई बजारीकरण गर्ने डिजाइनले हो। तर नेपालमा डिजाइन भनेको पत्रकारिताको अंश हो भनेर बुझ्ने न सम्पादक छन् न त प्रकाशक नै। त्यसैले मैले भन्ने गरेको छु, न्युज डिजाइनर पिछडा वर्ग हुन्।
प्रकाशक–सम्पादन टोलीले बुझ्दैनन् डिजाइन
म एउटा दैनिक पत्रिकामा काम गर्थें। त्यहाँ हप्ताको एउटा अंक फिचर निकाल्ने कुरा भयो। हप्ताको एउटा विशेष अंक निकाल्ने भएपछि अन्तर्राष्ट्रिय अंकहरु हेरेर बनाइयो। स्पेस धेरै राखिएको फोटोहरु खेल्न मिल्ने बनाइएको थियो तर डेस्कका साथीले ‘न्युज पेपरमा जति सक्दो समाचार दिनुपर्छ, यो त भएन नी’ भन्नुभयो। उहाँले डिजाइन नै बुझ्नु भएन।
त्यही दैनिकमा काम गर्दा अक्षरसँग खेलेको फोटो स्टोरी मज्जाले प्ले भएका थियो। तर प्रकाशकले बोलाएर उल्टो झपार्नु भयो, ‘किन खाली छोडेको?, यो फोटो किन सानो?, किन ठूलो?, किन स्पेस?।’ उहाँले पनि डिजाइन बुझ्नु भएन।
यहाँ प्रकाशकले पनि डिजाइन बुझेका छैनन्। उही पुरानै पारामा डिजाइन गर्ने चलन छ। एक–दुई पत्रिकाले प्रोग्रेसिभ डिजाइन दिन नखोजेका हैनन्। तर निरन्तरता दिन सकेका छैनन्। एक प्रकारले भन्दा नेपाली पत्रिकाहरुको डिजाइन सम्पादकको मुडमा भर पर्छ।
स्वभाविक रुपमा न्युज रुममा सम्पादकको हस्तक्षेप हुन्छ नै। तर आफूलाई थाहा नै नभएको कुरामा पनि हस्तक्षेप गर्छन् सम्पादक। सम्पादकले जति बुझ्यो त्यति मात्रै हुने हो डिजाइन। डिजाइनरले आफ्नो तरिकाले खेल्न पाउँदैन। आफ्नो कला देखाउन पाउँदैन।
डिजाइनिङमा मेरो २० वर्षको अनुभव केलाउँदा पाँच वर्ष मात्रै स्वतन्त्र महसुस गरेँ। अहिले केही मिडियामा अलिअलि स्वतन्त्रता हुन थालेको छ। कम्तीमा न्युज कसरी राख्ने भनेर सल्लाह हुन थालेको छ। पहिले त सल्लाह पनि हुँदैनथ्यो। डेस्क र सम्पादकले भने अनुसार जहाँजहाँ भन्छन्, त्यहीँत्यहीँ राखिदिने गरिन्थ्यो। अहिले बैठक हुन थालेको छ। बैठकमा डिजाइनरको कुरा पनि सुनिन थालेको छ।
नेपाली र अंग्रेजी माध्यमका नेपाली पत्रिकाहरुको डिजाइन फरक छ। अंग्रेजी माध्यमका पत्रिकाको डेस्कमा बस्नेले नेपाली माध्यमको डेस्कमा बस्नेको तुलानामा थोरै भए पनि डिजाइनिङ बुझेको पाएको छु। सम्पादकमा पनि फरकपन पाएको छु। डिजाइनिङमा मस्त खेल्नूस् है भन्ने सम्पादक पनि छन्।
डिजाइनले पत्रिकालाई आकर्षक बनाउँछ। जति शब्दको समाचार छ त्यति नै कोचकाच पारेर डिजाइन गर्दा पेज भद्दा हुन्छ। यसले बजारीकरण फेल खान्छ। सम्पादक डिजाइन फ्रेन्डली भए भने पत्रिका नै राम्रो देखिन्छ।
समस्या के त ?
डिजाइनका आधारभूत सिद्धान्त हुन्छन्। सम्पादन समूहलाई यसबारेमा जानकारी छैन। जानकारी नहुँदा सिद्धान्त नै मारेर डिजाइन हुन्छ अनि कसरी राम्रो देखिन्छ? धेरै नेपाली पत्रिकाको डिजाइन पश्चिमा देशहरुको सिको गरेर भएको देखिन्छ तर एउटाको फलो हैन, दुई चार–वटाको मिश्रण भएको पाइन्छ।
केहीले भारतीय पत्रिकाको शैलीमा जतिसक्दो धेरै न्युज पस्किने गरेका छन्। केही समयअघि एउटा पत्रिकामा भारतका डिजाइनर जय कुमार आएका थिए। उनले नेपाली पत्रिकाको न्युज दिने शैली हेर्दै तिमीहरुकोमा समाचार प्रोडक्सन हुँदैनन्? भनेर सोधेका थिए। भारतमा हाफ पेजमा नै १० वटा छोटा समाचार दिन्छन् केही पत्रिकाले। यो एउटा शैली हो। नेपालको केही पत्रिकाले यो शैली अपनाएका पनि छन् तर सम्पादक फेरिएपिच्छे तरिका बदलिएको पाइन्छ।
नेपाली पत्रिकाका केही डिजाइन हेर्दा कुन समाचार कहाँबाट सुरु भएको हो र कहाँ गएर अन्त्य भएको छ पत्तो नै पाउँदैनन् पाठकले। डिजाइनको प्रिन्सिपल नै थाहा नभएर यस्तो भएको हो। जथाभावी डिजाइनको थ्यौरी प्रयोग गर्न खोजिन्छ। सम्पादन समूहले नै यस्तो गरेपछि डिजाइनरले जिद्धी गर्न मिलेन। न्युज भ्यालु उहाँहरुलाई थाहा हुन्छ तर डिजाइनको मूल सिद्धान्तलाई नै मार्न त भएन नी।
डेस्क इडिटरले डिजाइन जान्नै पर्छ
डेस्क एडिटरको काम के हो? समाचार सम्पादन गर्ने मात्रै हो त?
समाचार मिठो बनाएर मात्रै हुँदैन, त्यसलाई कसरी पाठकको आँखामा पार्ने भन्ने जिम्मा पनि उहाँहरु कै हो। कुन समाचारलाई कति स्पेस दिने, फोटो कुन छान्ने, हाइलाइट्स कुन निकाल्ने, ब्रेकर कुन दिने र इनफोग्राफिक्स के दिने भन्ने त जानेकै हुनुपर्छ।
डेस्क डिजाइनरले डमी कोर्ने हो। डमी कोरियो भने पेज १५ मिनेटमा बन्छ। कति समाचार, कति हेडलाइन कति फोटो राख्ने भन्ने भएपछि कति शब्दको समाचार चाहिन्छ भन्ने पनि थाहा हुन्छ। त्यही अनुसार सम्पादन गर्न पनि सहज हुन्छ। तर आफूले जति जान्यो त्यही सही भन्नेकै बाहुल्यता भयो। आफ्नो सेक्टरमा राम्रो काम गर्ने हो भने त सबै काम जान्नु पर्यो नि।
सम्पादक डिजाइन फ्रेन्डली नहुनुको कारण यसबारे ज्ञान नभएर हो। समाचार जति छ त्यति नै राख्दिन पर्ने, जिद्धी नै गर्ने सम्पादक पनि हुनुहुन्छ। न्युजलाई चाहिने ग्राफिक्स फर्निचर पनि हुन्छ। यतातिर ध्यान गएको देखिँदैन। ग्राफिक्स फर्निचर भनेका हेडलाइन, बाइलाइन, बुलेट्स, कोड, फिगर, फोटो र इनफोग्राफिक्स प्ले गर्नु हो। यसमा ध्यान दिएको देखिँदैन।
डिजाइनरले न्युज सेन्स नै बुझ्दैनन्
नेपालमा डिजाइनको टुलहरु सिकाउने कुनै संस्था नै छैनन्। ग्राफिक्स डिजाइन पढ्ने स्थान पनि छैन। प्राइभेट्ली सिकाउने बाहेक अरु छैनन्। पत्रकारिता पढाइ हुने ठाउँमा एकेडेमिक तरिकाले पढाइ छैन।
पत्रकारिता पढाइने विश्वविद्यालयहरुमा न्युज डिजाइनबारे पढाइँदैन। मिडिया हाउसहरुमा काम गर्ने डिजाइनरहरु निजी संस्थाहरुमा डिजाइन सिकेर आएका हुन्। न्युज डिजाइन गर्ने भएपछि सम्बन्धीत विषयवस्तु बुझेको हुनुपर्छ।
समाचार के हो? पत्रकारिता के हो? बुझ्न जरुरी हुन्छ। त्यसपछि कुन न्युजलाई कसरी लेआउट गर्ने भन्ने कुरा सिकिन्छ। हाम्रो समस्या के हो भने, लिड भनेको के हो, ब्रेकर कहाँ राख्ने, न्युजलाई कसरी ब्रेक गर्ने, कुन रङको प्रयोग गर्ने भन्ने जानकारी नै छैन। दाबीका साथ भन्छु, ९५ प्रतिशत डिजाइनरले न्युज सेन्स बुझ्दैनन्। जसरी डेस्कले डिजाइन बुझेको हुनुपर्छ त्यसरी नै डिजाइनरले पनि न्युज सेन्स बुझ्नुपर्छ।
पत्रिकामा डेस्क र डिजाइनरबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। डेस्कले डिजाइन नबुझ्ने र डिजाइनरले न्युज सेन्स नबुझ्ने भएको हुँदा नै पाठकहरु दिग्भ्रमित हुने हुन्।
योजना बनाउने डेस्कले हो। त्यो लागू गर्ने डिजाइनरले हो। जर्नालिस्टिक भ्यु भएको डिजाइनर हुनुपर्छ। दुःखको कुरा, ९० प्रतिशत डिजाइनरलाई लेआउट डिजाइन आउँदैन। पत्रिकाको ‘सेन्ट्रल अफ भिज्युअल इम्प्रेसन’ भन्छ। यस्तो देखाउन सक्ने डिजाइनर हुनुपर्छ। फोटो राख्ने कि, कार्टुन राख्ने कि, इनफोग्राफिक्स राख्ने बुझेर पाठकलाई डोर्याउन सक्नुपर्छ।
उदाहरणको लागि केही समयअघि छापिएको नेपाली भाषाको पत्रिकाले राम्रो फिचर गरेको थियो। फिचरमा हेडलाइनदेखि फोटोसम्म अघिपछि भन्दा फरक राखेको थियो। फोटो प्ले बढी भएको त्यो समाचार कहाँबाट सुरु भएर कहाँ गएर अन्त्य हुने हो त्यो नै देखिँदैन। पाठकले बीचमा ब्रेक गरेर अब कहाँ पढ्ने भनेर खोज्नुपर्छ। यस्तो डिजाइन त के नै काम भयो र?
ब्रोडसिट होस् वा ट्याब्लाेइड, या म्यागेजिन नै किन नहोस् मूल सिद्धान्त अनुसार नै डिजाइन हुन्छ। आफूले काम गरेको पत्रिकाको प्रकृति अनुसार डिजाइनरले सिप देखाउनु पर्छ। ब्रोडसिटको प्रमुख मोडुलर फर्म्याटमा हुन्छ भने म्यागेजिनमा मनोरञ्जन र अर्काे समाचारमा फरक हुन्छ। के प्राथामिकता हो पत्रिकाको त्यो त बुझ्नै पर्छ।
अनलाइन पनि उस्तै
दैनिक पत्रिकाहरुको डिजाइनिङ त परम्परागत छ नै अनलाइनले पनि यसमा ध्यान दिएका छैनन्।
नेपालका अनलाइन पाठकमैत्री छैनन्। पढ्न सजिलो छैन। सबैको गज्याङमज्याङ छ। विज्ञापनलाई एकदमै प्राथामिकता दिइएको छ।
मोबाइलमा समाचार पढ्दा लिड लाइनपछि अरु पढ्न निकै अप्ठ्यारो हुन्छ। कि फोटोले कि विज्ञापनले डिस्टर्ब गर्छ। ठूलो हेडलाइन राख्नै पर्दैन अनलाइनमा। पत्रिकामा पो सडकको अर्काे छेउबाट पनि देखियोस् भनेर ठूलो राखिन्छ। तर अनलाइन त मोबाइल तथा ल्यापटपमा हेर्ने भएपछि किन राखिएको हो त्यत्रो हेडलाइन? फोटो हेर्न मात्र दुई स्क्रोल गर्नुपर्ने भएपछि न्युज कति खेर पढ्ने? समय त थोरै खोज्छ नि पाठकले।
हेपिएका डिजाइनर
पत्रकारलाई राज्यलाई चौथो अंग मानिन्छ। तर डिजाइनरलाई चौथो अंगको पनि पाँचौं अंगको जस्तो व्यवहार गरिन्छ। सरकारले पनि मानेको छैन। सरकारले त थाहा पाउनुपर्ने हो नि।
९५ प्रतिशत डिजाइनरले न्युनतम पारिश्रामिक समेत पाउँदैनन्। यस विषयमा सम्पादकीय नेतृत्वले कुरा उठाइदिँदैन। कोरोनाले धेरैको काम गयो। यसको लागि आवाज उठाउने कहाँ? हाम्रो कुरा सुन्ने महासंघले हो। तर महासंघले चुनावको बेला मात्रै हामीलाई देख्छ। अघिपछि चिन्दैन। सम्पादक अन्र्तगत नभएपछि तालिम प्रमोसनहरु हुँदैन। बाहिर जानलाई एकेडेमिक सर्टिफिकेट छैन। मिडिया हाउसले पनि मान्दैन।
अमेरिकामा सोसाइटी फर न्युज डिजाइन छ, जसले प्रतिस्पर्धा गराउँछ विश्वव्यापी रुपमा नै। त्यहाँ हाम्रो सहभागिता छैन किनभने हामीमा एकेडेमिक सर्टिफिकेट छैन।
गर्ने के त ?
न्युज डिजाइनरलाई प्रशिक्षित गराउनुपर्छ। न्युज डिजाइनको भूमिका बुझ्यो भने मात्र वृत्तिविकासका कुरा आउँछन्। वृत्तिविकास गर्दै डिजाइनरलाई सम्पादकीय अन्र्तगत ल्याउनुपर्छ।
कतिपय मिडिया हाउसले समयमा तलब दिँदैनन्। यसबाट डिजाइनरहरु मोरल्ली डाउन छन्, त्यसमाथि लो पेमेन्ट। उनीहरुले स्किल बनाउन पाएकै छैनन्। हामी हेपिएको, चेपिएको अवस्थामा छौं।
न्युज प्रिन्ट मिडियाको भविष्य खस्किँदै छ। यिनीहरुले युनिटहरु बन्द गरेका छन्। अब मिडियामा क्रान्ति नै आउनपर्छ फेरि प्रिन्टको दिन फिर्न। डिजिटल प्लेटफर्मले गर्दा डिजाइन मूलधारमा नै नआई हराउन पनि सक्छ।
अनलाइनले पनि सुधार्नुपर्ने धेरै कुरा छन्। अहिलेको प्लेटफर्ममा डिजाइनरको आवश्यकता देखिँदैन तर इन्फोग्राफिक्स प्रयोग गर्न थालियो भने डिजाइनरको काम हुनसक्छ। परम्परागत शैलीमा चलेका अनलाइनबाट भने यो सम्भावना देखिँदैन।
(अन्नपूर्ण पोस्टका आर्ट ग्राफिक्स एडिटर राना मगरसँग उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)
चैत ३, २०७७ मंगलबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।