धुम्बाराही भेट : माधव नेपाललाई लाग्यो टर्रो, ओलीको नजरमा सकारात्मक

धुम्बाराही भेट : माधव नेपाललाई लाग्यो टर्रो, ओलीको नजरमा सकारात्मक

काठमाडौँ : संसद् विघटनपछि नदिका दुई किनार समान बनेका एमाले २ नेता केपी शर्मा ओली र माधव नेपाल सोमबार धुम्बाराहीको एकै हलमा, एकै लहरमा बसे। संसद् विघटन अगाडिसम्म नेकपाको सचिवालय, स्थायी अनि केन्द्रीय समितिका बैठकमा भेट भइरहने यी नेताबिचको सम्बन्ध संसद् विघटनको निर्णयसँगै टुटेको थियो।

नेकपाको नाम विवादको कानुनी जटिलता सुल्झाउने क्रममा सर्वोच्च अदालत एमाले र माओवादीको एकीकरणमा प्रवेश गर्दै दुवै दललाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माओवादीमा बस्न नसक्ने, एमालेमा फर्कन नसक्ने अवस्थामा पुगेको माधव नेपाल समूह र ओलीको भेटको बहाना बनाइदियो फागुन २८ गते ओली समूहले गरेको निर्णय।

नेपाल समूह ओलीको निर्णयविरुद्ध देशव्यापी प्रतिरोधमा जाने तयारीमा लागेपछि राष्ट्रपति विद्या भण्डारीको सक्रियतामा दुवै नेता एकै हलमा, एकै लहरमा बस्ने अवसर त जुर्यो तर त्यत्ति मिठास देखिएन यो भेट।

बैठक सकिएर बाहिरिँदै गरेको बेला प्रधानमन्त्री ओलीले छलफल सकारात्मक भएको छोटो प्रतिक्रिया दिएर बाहिरिए।

एमाले नेता नेताको प्रतिक्रिया अनुसार छलफलको प्रारम्भमा ओलीले मिठा कुरा गरे तर बैठक टुङ्गिने बेला टर्रा कुरा गरे। सोमबार भएको छलफलको मुख्य समस्या फागुन २८ मा आफू निकटका केन्द्रीय नेताहरूलाई बालुवाटारमा बोलाएर त्यसैलाई केन्द्रीय समितिको बैठकको मान्यता दिँदै भएका निर्णय नै देखियो।

नेपाल समूहले सर्वोच्चले पूर्ववत् अवस्थामा फर्काएकाले माओवादी केन्द्रसँग एकीकरण हुनु अगाडि एमालेमा जे संरचना थियो त्यसैमा फर्कनुपर्ने अडान लिएको छ।

उनीहरूले फागुन २८ मा भएका सबै निर्णय खारेजीको माग राखेका छन्। तर ओली समूहले त्यसलाई केन्द्रीय समितिको निर्णय भन्दै खारेज नहुने अडानमा बसेका छन्।

मुख्य गाँठो नै यही निर्णय देखियो। नेपाल समूह त्यसबाट पछि फर्कन सक्ने अवस्थामा छैन। ओली आफूलाई समस्या पर्दा साथ दिएका माओवादी केन्द्रका नेताहरूलाई दिएको जिम्मेवारी खोसेर गाँठो फुकाउने मुडमा छैनन्।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता नेपालले भने‘अरू कुराभन्दा पनि फागुन २८ गतेको उहाँको जुन गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको नामकरण गर्नुभएको छ, त्यसैमा कुरा मिलेन।’ 

नेपाल समूहका नेताहरूको प्रतिक्रिया अनुसार ओली फागुन २८ गतेको निर्णय उल्टाउने मुडमा छैनन्। उनी सो निर्णयलाई कार्यान्वयनमा लैजाने बरु अन्य समस्या केही भए त्यसबारे छलफल गर्ने रणनीतिमा देखिएका छन्।

तर पदाधिकारीमा अध्यक्ष र महासचिव मात्र कायम राख्ने, प्रदेश प्रमुखहरू बदल्ने र केन्द्रीय सदस्य थपको निर्णयलाई कार्यान्वयनमा लैजान दिन नेपाल समूह तयार छैन।

‘पार्टी पदाधिकारी, जिम्मेवारी र सदस्य पूर्ववत् अवस्थामा फर्काऔँ, २८ गतेको जुन उहाँको भेला हो त्यसमा कुरा मिलेन,’ नेपालले भने।

यता ओली समूहका नेता प्रदीप ज्ञवालीले भने प्रधानमन्त्री ओलीले फागुन २८ को निर्णयबारे छलफल गर्न सकिन्छ तर त्यसैलाई प्रतिष्ठानको विषय बनाउन नहुने पक्षमा रहेको दाबी गरेका थिए।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने ‘ उहाँहरूले २८ गतेको निर्णयबारे पुनर्विचार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। प्रधानमन्त्रीले यो निर्णयहरूका विषयमा छलफल गर्न सकिन्छ, यसलाई नै प्रतिष्ठाको विषय बनाएर जान जरुरी छैन भन्नुभएको छ। अब हामी लगातार छलफलमा बस्छौँ। ७ गतेको केन्द्रीय समितिको बैठकका विषयमा छलफलमा बस्छौँ।’

एमाले महासचिव ईश्वर पोखरेलले अदालतको आदेशपछि एमाले २०७५ जेठ २ को अवस्थामा पुगेको र एमालेको पूर्न जिवन पाएको प्रतिक्रिया दिँदै पार्टीलाई थप व्यवस्थित कसरी गर्ने भनेर छलफल भएको जानकारी दिए। 

फागुन २८ को निर्णयबारे उनको प्रतिक्रिया थियो‘ त्यो विषयमा छलफल भयो अब जारी रहन्छ। यस बिचमा विभिन्न गतिविधि पनि भएका छन्। अर्याल होटेलमा भएका छन्। ती विषयमा पनि कुरा उठे।’

एमाले नेपाल समूहका नेता भीम रावलले राजनीतिक रूपमा छलफल हुनु राम्रो भएको बताउँदै भने‘यति लामो मतभेद र समस्याको अवस्थामा पहिलो भेटमै सबै समस्या सुल्झन्छ भन्ने हामी सोच्दैनौँ। एमाले र माओवादी एक भएन। अब एमालेलाई पनि एक नराख्ने गतिविधि मान्य हुन्न।’

२८ गते भएको बैठकको निर्णय रद्द भए मात्र आफ्नो समूहले बोलाएको चैत ४ गतेको भेला रोक्ने उनले बताए।

चैत २, २०७७ सोमबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।