नेपाल समूह ओलीको निर्णय नमान्ने अडानमा, वार्ता निष्कर्षविहीन 

नेपाल समूह ओलीको निर्णय नमान्ने अडानमा, वार्ता निष्कर्षविहीन 

काठमाडौँ : नेकपा एमालेको विवाद मिलाउन भएको वार्तामा माधवकुमार नेपाल पक्षले २८ गतेको निर्णय नमान्ने अडान राखेको छ। पार्टी अध्यक्ष केपी ओली पक्षले भने चैत ४ र ५ गते बोलाएको कार्यकर्ता भेला रोक्न भनेको छ। 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले छुट्टै भेला आयोजना गर्दा पार्टी एकतामा बल नपुग्ने भन्दै भेला रोक्न भनेको जानकारी दिए। उनले २८ गतेको बैठकले गरेका निर्णय फिर्ता लिन खनाल नेपाल पक्षले माग गरेको बताउँदै आपसी समझदारीमा समीक्षा गरेर पुनरावलोकन गर्न सकिने बताए। 

वार्ता सकारात्मक भए पनि कुनै निष्कर्षमा नपुगेको ज्ञवालीले बताए। अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीको दसौँ महाधिवेशन, केन्द्रीय कमिटीमा मनोनयन र महासचिव बाहेकका पदाधिकारी हटाउने निर्णय गरेका थिए।

वार्ता आफूहरूको उपस्थिति विना गरिएका निर्णय फिर्ता लिनुपर्ने र २०७५ जेठ ३ गतेकै अवस्थामा पार्टी संरचना कायम हुनुपर्ने माग गरेको उपाध्यक्ष भीम रावलले बताए। ओलीले निर्णय फिर्ता लिए मात्रै चैत ४ र ५ गते बोलाएको कार्यकर्ता भेला स्थगित हुने रावलले बताए। 

नेता घनश्याम भुसालले सर्वोच्च अदालतले दिएको आदेश अनुसार पार्टीलाई पूर्ववत् अवस्थामा लैजान भनेको बताए। दुवै पक्षबीच भएका असमझदारी हटाएर पार्टीलाई एक ढिक्का बनाउन फेरि छलफल हुने ज्ञवालीले जानकारी दिए। उनले छलफल निरन्तर हुने बताए। 

चैत २, २०७७ सोमबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।