३३ वर्षदेखि चिया खुवाउँदै बिजुली शोभा
काठमाडौँ : मध्यपुर थिमी भुलाङखेलकी ६७ वर्षे बिजुली शोभा बज्राचार्यको दैनिकी बिहानको ३ बजेबाट सुरु हुन्छ । आफ्नै घरको भुईंतलामा छ उनको चिया–नास्ता पसल। पसलको उमेर पुग्यो ३३ वर्ष।
बिहान ३ बजे नै उठ्छिन् उनी। सबेरै नजिकैको गणेश मन्दिरतिर लाग्छिन्।
गणेश दर्शनपछि चिया पकाउने र मालपुवा बनाउन उनका हात व्यस्त हुन्छन्।
बिहानै शरीर तन्काउन घरबाट निस्कनेहरू, खर्पनमा तरकारी बेच्ने उनका बिहानी ग्राहक हुन्। तीन छोरी र एक छोराकी आमा बज्राचार्यको जे छ त्यही चिया पसलै त छ। तीन छोरा–छोरीको पढाइदेखि घरबार बसाउन समेत उनलाई त्यसैले सघायो।
‘खान पुग्ने जग्गा थिएन। श्रीमानले अरूको खेतमा अध्याय कमाउनुहुन्थ्यो,’उनले भनिन् ‘सुरुमा उहाँलाई मैले चिया पसल गरेको मन परेको थिएन। तर पछि परिवारको खर्च धान्ने मेसो नै यही बन्यो।’
नेवारी समुदायमा जात अनुसारको काम छुट्टाइएको छ। बज्राचार्यको काम पुजारी हो। जुन समयमा उनले चिया –नास्ता पसल गरिन् उनको परिवारले सहजै स्विकार्ने अवस्था पक्कै थिएन।
‘पसल गरेकोमा श्रीमान् जहिले पनि गुनासो गर्नुहुन्थ्यो,’ उनले भनिन्‘ ‘जसै भक्तपुरका खेतहरू मासिए यही पसल काम लाग्यो।’
उनका श्रीमानको निधन भइसक्यो। ३३ वर्ष अघि जुन जोस थियो अहिले पनि उस्तै रहेको बताउँछिन् उनी। ग्यास्ट्रिक बाहेक स्वास्थ्य समस्या छैन रे।
‘त्यो बेला २ बजे नै उठेर काम गर्थे अहिले ३ बजे उठ्छु,दिउँसो केही बेर काम बन्द गर्छु फेरि बेलुकी ७ बजेसम्म पसल खुलै हुन्छ।'
बेलुका पसल बन्द गरेपछि भान्छामा खटिन्छिन्। उनलाई टेलिभिजन हेर्न मन पर्छ। खाना खाएपछि केही समय टेलिभिजनमा आँखा डुलाउँछिन्।
बिहान सबेरै उठ्नुपर्छ उनी। त्यसैले बेलुका ओछ्यानमा पनि चाँडै नै जान्छिन्।
उनले भनिन् ‘ ग्यास्ट्रिकको बाहेक अन्य औषधी खाएको छैन । सकुन्जेल सम्म पसल चलाउँछु।’
चैत १, २०७७ आइतबार १९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।