जुत्तासँगै जीवन सिउनेहरू...

जुत्तासँगै जीवन सिउनेहरू...

इटहरी : सडक धुलोको कुहिरोले ढपक्क छ। सडक ६ लेन बन्दै छ। जति पेटी खुम्चँदै छ। त्यही धुलोको कुइरीमण्डलमा आशोक हरिजनको हात थोत्रा जुत्तामा चलिरहेको छ। 

उनीसँगै बसेका सुकदेव हरिजन धुलाम्मे थिए। यी दुवैलाई धुलो आउला भन्दा पनि ग्राहक नआउलान् भन्ने पीर थियो।
१५ वर्ष भयो अशोकले सडकपेटी रुंग्न थालेको। 

हरिजन मधेसी समुदायभित्रको दलित समूह। जुत्ता सिलाउनु उनीहरूको पुर्ख्याैली पेशा।

छालाको जुत्ता लगाएका पैदल यात्रु देखे आशाको नजरले हेर्छन्। स्पोट्र्स जुत्ता लगाएका देखे नाक खुम्च्याउँछन् उनी। 

‘पहिला त एकै दिन दुई हजार रूपैयाँसम्म कमाइ हुन्थ्यो। तर, अहिले हजार रूपैयाँ पुर्याउन पनि गाह्रो छ,’ अशोकले भने, ‘स्पोट्र्स जुत्ता लगाउने बढे, हाम्रो कमाइ घट्यो।’

उनको छोरो निजी विद्यालयमा पढ्छन्। वर्षको ३० हजार रूपैयाँ जति खर्च हुन्छ रे। त्यसैले दुईवटा छोरा बुबा अशोक अझै केही वर्ष यसैगरी पेटीमा खटिने छन्। उनको योजना छोरोलाई सरकारी जागिरे बनाउने रहेछ। छोरालाई पेटीमा फर्काउन चाहँदैनन् उनी।

‘सरकारी स्कुल राम्रो हुन्न भनेर बोर्डिङ राखेको, महँगो छ पढाइ,’ उनले भने, ‘अहिले सरकारी स्कुल पनि सुध्रियो रे। अब त्यतै लैजानुपर्ला।’

सडकको आडमै कपाल सेतै फुलेका सुतरी राम (मोची) जुत्ता सिलाउन व्यस्त थिए। बोलाउँदा नि बोलेनन् उनी। ग्राहक हिँडेपछि बल्ल हाँस्दै मुन्टो उठाए। 

काम गर्दागर्दै बोल्दा ग्राहक रिसाउलान् भनेर उनी नबोलेका रहेछन्। 

२० वर्षदेखि एकै स्थानमा बसेर जुत्ता सिलाइरहेका उनी इटहरीको इतिहासको साक्षीसमेत हुन्। ‘२० वर्षपहिले यहाँ जम्मा ४ वटा घर थियो,’ उनले भने, ‘अहिले त शौचालय बनाउने जग्गा पनि छैन।’

इटहरीमा बस्ती बढ्यो। मान्छेहरू बढे। तर, उनको व्यापार भने घट्यो। अहिले जुत्ता फाट्यो भने सिलाउने खोज्दैनन्। नयाँ किन्छन्। त्यसमा पनि छालाका जुत्ता लगाउनेहरू नै काम हुँदै गएको उनले बताए।

‘पहिला मान्छे थोरै थिए। तर, काम धेरै आउँथ्यो,’ उनले सुनाए, ‘अहिले जुत्ता फाट्यो भने नयाँ किन्छन्। त्यो पनि छालाका जुत्ता लगाउनै छाडे। फाट्टफुट्ट लगाउनेले पनि नयाँ मात्र लगाउँछन्। अनि कहाँ काम आउँछ र।’

६ सन्तानका बाबु उनले छोराछोरी पढाउने, घरबार बसाइदिनेलगायत काम यही पेशाको कमाइबाट गरे। एक बिगाहा जग्गासमेत जोडे। हातमुख जोर्न सडकपेटीमै बस्नुपर्ने बाध्यता छैन रे उनीसँग।

‘घरमै बसे पनि खान पुग्छ मलाई अहिले,’ उनले भने, ‘तर, हात–गोडा चलेसम्म त्यसै बस्नुहुन्न।’

इटहरीको पूर्वलाइनमा भेटिए चैतु हरिजन अली। उनी अलि टाठा देखिए। पैसा नभएपछि १० कक्षा पढ्दापढ्दै छाडेर पेटीमा आएको बताउने उनले छोराहरूको पढाइकै लागि जुत्ता सिलाउने काम गरिरहेको बताउँछन्।

उनको एक जना छोराले ११ कक्षा पास गरिसक्यो रे। अर्को छोराले एसइई पास गरिसक्यो।

आफूले सानै उमेरमा विवाह गरेर दुःख पाएको सम्झँदै उनले भने, ‘छोराहरूले पढ्छु भनुन्जेल पढाउने हो। मैले जस्तो सडकमा अरुको जुत्ता समाएर बस्नु नपरोस्। मैले सोचेजस्तै गरे भने सरकारी नभए अरु नोकरी त गराउँछु।’

चैतुजस्तै रामचन्द्र हरिजन, राम हरिजन पनि आफ्नो सन्तानकै लागि सडकमा छन्। उनीहरूको पनि समान लक्ष्य छ– छोराछोरीलाई राम्रो स्कुलमा पढाउने। उनीहरूको समान मनोकामना छ– ‘सन्तानहरू पेटीमा जुत्ता सिलाउन बस्नु नपरोस्।’

चैत १, २०७७ आइतबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।