पूर्वमिस नेपाल उषा खड्गीको प्रसव पीडा र खुसी : श्रीमानसँग सम्बन्ध सुुध्रिने आशमा दोस्रो बच्चा जन्माएँ
पूर्वमिस नेपाल उषा खड्गीको सुन्दरताको परख त्यतिबेलै भएको थियो, जतिबेला उनी २० वर्षकी थिइन्। सन् २००० मा मिस नेपालको ताज पहिरिएकी उनी चढ्दो उमेरमा पनि उत्तिकै सुन्दर देखिन्छिन्।
यतिबेला भिजे, मोडलिङ र फेसन डिजाइनरका रुपमा व्यस्त रहेकी उषा केही सक्रिय मिस नेपालमध्ये पर्छिन्। विवाहपछि मात्र करिअरलाई अघि बढाएकी पूर्व सुन्दरीको वैवाहिक जीवन भने सफल हुन सकेन। दुई सन्तानकी आमा उषासँग प्रसवका तिता–मिठा धेरै अनुभव छन्। उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा उनले आफ्नो कथा यसरी व्यक्त गरिन्।
मेरो र जिपी तिमल्सिनाको विवाह सहमतिमै भएको हो। करिअरको सुरुवाती समय भएकोले हामीले विवाह गरेको दुई वर्षपछि मात्रै बच्चा पाउने योजना बनाएका थियौं। योजना अनुसार नै दुई वर्षपछि बच्चा जन्माउने निधो गर्यौं।
विवाहपछि महिलालाई आमा बन्ने अचम्मको मोह जाग्दो रहेछ। विवाहअघि मलाई खासै बच्चा मन नपर्ने। विवाहपछि भने बच्चा पाउने, हुर्काउने मोह जागेको थियो। कतिपयको बच्चा नभएर उपचार गराइरहेको सुन्दा डर पनि लाग्थ्यो, कतै मेरो पनि यस्तै समस्या हुने त होइन?
म गर्भवती भएँ। अरुलाई गर्भवती हुँदा खान नरुच्ने, बान्ता हुने जस्ता समस्या हुने सुनेको थिएँ तर मलाई त्यसको ठिक उल्टो। खाना जति पनि रुच्ने, बान्ता हुने वा वाकवाकी लाग्ने पनि कहिल्यै भएन। त्यति बेला मैले हरेक दिन भात, खसीको पक्कु, आलु साँधेको, चम्सुर–पालुंगोको साग, दिनकै १० वटासम्म लालमोहन र दुई वटा मिठा पान खान्थें। त्यो वाहेक बाहिर खाने पिज्जा, मःमः आदि त छँदै थियो।
फ्रिजभरि खानेकुरा राख्थें। फ्रिजमा खानेकुरा भएन भने टाउको तातेर आँउथ्यो। माइती, घर र साथीहरु भेट्न आउँदा हातमा खानेकुराको पोको देखिएन भने पनि रीस उठ्थ्यो। मैले खाएको देखेर सबै दंग पर्थे।
०००
मलाई माटोको गन्ध खुब मन पर्न थाल्यो। गार्डेनमा एक्लै बसेर माटोको गन्ध सुँघिरहन्थें। माटो नै खाइदिउँ जस्तो हुन्थ्यो। अहिले सम्झिँदा आफैंलाई अचम्म लाग्छ। मेरो तौल ४८ किलोबाट बढेर ७० किलोसम्म पुग्यो। तर मोटाएर केही चिन्ता भएन, खाली बच्चा कस्तो अवस्थामा होला भन्ने सोच मात्र आइरहन्थ्यो।
गर्भवती भएको ८ महिना लागेपछि भने निकै गाह्रो भयो। छिनछिनमा पिसाब लागिरहने, ढाड दुख्ने, बस्न–उठ्नै नसक्ने, कोल्टो फेर्न गाह्रो हुने, रातभरि सुत्न नै नसक्ने हुन थाल्यो। पछिल्लो डेढ महिना निकै सकसपूर्ण भयो।
मैले प्राकृतिक रुपमा बच्चा नजन्माउने, अप्रेसन गरेर निकाल्ने सोच बनाएँ। किनकी, साथीहरुको नर्मल डेलिभरीको कथा–व्यथा सुनेर म डराएको थिएँ। डेलिभरी हुँदा मलाई तलमाथि भयो भने बच्चा टुहुरो हुन्छ भन्ने नकारात्मक सोच आउँथ्यो। बच्चा जन्मने बेला जिपी मेरो कुरामा सहमत भएको थिएन। डाक्टरसँग सल्लाह गरेर बच्चा निकाल्ने दिन तोकियो तर तर जिपी मानिरहेको थिएन।
उसको तर्क थियो, नर्मल नै हुन्छ भने किन पेट चिर्ने? तर मैले मानिनँ। जिपीलाई म आफैं बच्चा निकालेर आउँछु, तिमी सँगै आउनु पर्दैन भनेपछि मात्रै राजी भयो।
०००
डा भोला रिजाल र डा सुप्राता कोइरालाले अप्रेसनपछि ‘उषा बधाइ छ, छोरी जन्मिइन्’ भन्नुभयो, तर मैले पत्याइनँ। मैले सुनेको थिएँ, बच्चा जन्मेपछि रुन्छ तर मेरो बच्चा रोएको थिएन। डाक्टरले बच्चा हातमा राखिदिएपछि म त भक्कानिएर रोएँ। त्यो मेरो जीवनकै सबैभन्दा भावुक र खुसीको क्षण थियो। बच्चाको घाँटीमा साल बेरिएको रहेछ। साल निकालेपछि मात्रै उनी रोइन्।
छोरीलाई रातभरि हातमै राखेर हेरिरहें, एकछिन सुतिनँ। भोलिपल्ट मेरो हात पूरै सुन्निएको रहेछ। छोरी जन्मँदा ४ केजीकी थिइन्।
छोरी जन्मेको दुुई वर्षसम्म मैले बाहिर केही काम गरिनँ। आमा भएपछि सबैभन्दा पहिला बच्चालाई राम्रोसँग हेरचाह गर्नुपर्छ भन्ने सिकाइ थियो। त्यही भएर काम र करिअरलाई केही समय थाती राखें। त्यो २ वर्ष एकदम रमाइलोसँग बित्यो।
छोरी सारै राम्री थिइन्, पुतली जस्तै। दिनरात उनलाई कहिले दुलही, कहिले बार्बी, कहिले पुतली जस्तै लुगा बनाएर, मेकअप गराई फोटो र भिडियो बनाइरहन्थें। मेरो फेसन डिजाइनिडप्रतिको रुचि छोरीको लागि लुगा बनाएर पूरा गर्थें। म मातृत्वको मोहमा दंग थिएँ। छोरीलाई खोप लगाउँदा हरेक पटक रुन्थें। उनलाई कति दुख्यो होला जस्तो लाग्थ्यो। आमाको मन न हो।
दुई वर्षकी भएपछि छोरीलाई डे केयरमा राखेर म काममा फर्कें। आमा भएपछि सुन्दरतामा कमी आउने, काम नपाउने शंका थियो। तर मेरो जीवनमा छोरीको आगमनले जीवन अझै सुन्दर र सहज भयो। मेरो सुन्दरता अझै निखारियो र काम पनि पहिलेको तुलनामा धेरै पाएँ।
०००
१० वर्षको फरकमा मैले छोरा पाएँ। खासै दोस्रो बच्चा पाउने सोच थिएन तर मेरो वैवाहिक जीवनमा धेरै समस्या आइरहेको थियो। अर्काे बच्चा जन्मियो भने श्रीमान–श्रीमतीको सम्बन्धमा पुनः सुमधुर हुन्छ कि भन्ने आशा थियो।
चिकित्सकले मलाई दोस्रो बच्चा पाउन नमिल्ने बताएका थिए। मेरो गर्भासयमा फाइब्रोइड* थियो। धेरै ब्लिडिड हुने, महिनौं दिन रगत बग्ने गर्दथ्यो। यस कारण बच्चा नबस्ने, खेर जाने, बच्चा भइहाले पनि अङ्गभङ्ग हुने जस्ता समस्या आउन सक्ने रहेछ। सन् २०११ देखि २०१२ सम्म मैले महिनावारी हुँदा रगत रोक्ने औषधि खाइरहेको थिएँ।
गर्भासय नै फ्याल्नु पर्छ भनिरहँदा पनि मैले बच्चा पाउने निर्णय गरें। डाक्टरहरुले गाली गर्दा पनि मैले दोस्रो बच्चाको लागि रिस्क मोलेको थिएँ।
बच्चा पाउने योजना बनाएको ६ महिनापछि गर्भवती भएँ। त्यतिबेला मैले हप्तामा २ वटा सुईं लगाउनु पथ्र्यो। औषधिहरु घरमा टन्नै हुन्थ्यो। हप्ताको २ पटक सुई लगाउन अस्पताल जान्थें। यो सुईंले ट्युमर बढ्न नदिने, बच्चा बढ्न सघाउने रहेछ। हरेक पटक सुईं लगाएर आउँदा एउटै डर हुन्थ्यो– कतै बच्चालाई केही असर गर्ने पो हो कि? बच्चाका अङ्गहरु कमजोर हुने वा केही समस्या आउने हो कि? त्यो सुईं ६ महिना लगाएँ।
गर्भवती भएको ३ महिनामा अत्यधिक ब्लिडिङ भयो। मैले त बच्चाको आश नै मारिसकेको थिएँ। धन्न डाक्टरले निकास नलीमा जम्मा भएको रगत बगेकोले खतरा नहुने बताएपछि ढुक्क भएँ।
त्यस्तै ५ महिनामा पनि बेस्सरी रगत बग्यो। त्यसबाट पनि बच्चालाई केही असर गरेन। मलाई छोरीको पालामा भन्दा ठिक उल्टो अनुभव रह्यो।
आराम मात्रै गर्नुपर्ने, खान केही नरुच्ने, माछा–मासु त पूरै ९ महिना मुखैमा हालिनँ। सधैं टाउको दुख्ने, जिउ दुख्ने र आलस्य भइरहने। ७ महिनासम्म डरैडरमा दिन काटें।
त्यो ७ महिना बच्चाको लागि धेरै केयर गर्नुपर्ने समय थियो। तर ८ महिना पूूरा हुन थालेपछि पानी बग्न थाल्यो। पानीले तन्ना पूरै भिज्यो। बिहान साढे ६ बजे अस्पताल पुगें।
त्यति बेलासम्म बच्चाले फोहोर खाएकोले तुरुन्तै अप्रेसन गरी निकाल्नुपर्ने भयो। बच्चा त निकालियो तर फोक्सोमा समस्या देखियो। बच्चालाई तुरुन्तै भेन्टिलेटरमा राखियो। मेरो भने ब्लिडिङ रोकिएको थिएन। अब त बाँच्छु जस्तो नै लाग्न छाड्यो। म भइनँ भने मेरा बच्चाहरुलाई कसले हेर्ला भन्ने चिन्ता थपियो। मैले डाक्टरलाई बिन्ती गरें– मलाई जसरी भए पनि बचाइदिनूस्।
०००
बच्चा जन्मेको १५ दिनपछि घर गयौं। त्यसपछि मात्रै बच्चाको फोटो फेसबुकमा राखें। किनकी बच्चा पाएको १५ दिनसम्म मैले खुसी हुने मौका नै पाइनँ।
सुत्केरी अवस्थामा रगत धेरै खेर गएर मेरो शरीरमा आइरन फिल गर्नुप¥यो। त्यति बेलादेखि मेरो शरीरमा हरेक वर्ष आइरन फिल गराउनुपर्छ।
बच्चा पेटमा आएदेखि नै संघर्ष नै संघर्ष। रक्तश्राव धेरै हुँदा बच्चा खेर जाने हो कि भन्ने तनाव। बच्चा कस्तो जन्मिएला भन्ने अर्काे चिन्ता। बच्चा पाइसकेपछि पनि बोल्ने हो कि होइन, हिँड्न सक्ला कि नसक्ला, आँखा देख्ला कि नदेख्ला, शरीर बलियो होला कि नहोला जस्ता तनाव भइरहन्थ्यो।
औषधि खाएर र सुईं दिएर छोरा जन्माएकोले मनमा धेरै खालको भय थियो।
छोराको बेला रोना–धोना बढी भयो। यो छोराले श्रीमान्–श्रीमतीको सम्बन्ध सुध्रिएला भन्ने आशा थियो। तर सोचे जस्तो हुन्न जीवन भनेझैं अहिले पनि हामी अलग–अलग छौं।
तर छोराछोरीलाई हाम्रो बिग्रिएको सम्बन्धको असर भने दुवैले हुन दिएका छैनौं। अहिले परिस्थिति जस्तो भए पनि छोराछोरीको अनुहार हेरेर खुसी भएकी छु।
* सच्याइएको
चैत १, २०७७ आइतबार १७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।