घेराबन्दीमा परेको महसुस भएको छ : अध्यक्ष माओवादी केन्द्र
बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्राप्त उपलब्धि उल्ट्याउन ठुलो षडयन्त्र भइरहेको बताएका छन्। देशमा संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस चलिरहेको बताउँदै उनले प्राप्त उपलब्धि उल्ट्याउन षडयन्त्र भइरहेको बताएका हुन्।
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको बुटवलमा भएको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै दाहालले संविधानको हत्या गर्ने र कुल्चने काम मान्य नहुने बताए। यस्तो षडयन्त्र विरुद्ध शान्तिपूर्ण क्रान्ति गर्ने उनको भनाई छ।
अबको क्रान्ति शान्तिपूर्ण हुने भन्दै उनले हिंसामा जाने कुरा नगरेको बताए। उनले आफूलाई घेराबन्दी पारेको महसुस भइरहेको बताए। ‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न,’ उनले भने,‘गणतन्त्र र संविधान विरोधीहरूबाट म माथि घेराबन्दी भइरहेको महसुस गरिरहेको छु।’
उनले संसद् विघटनको निर्णय बदर भएपछि पनि षडयन्त्र भइरहेको बताए। नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएको तर्फ सङ्केत गर्दै उनले केही अनिष्ट हुन लागेको त होइन भनेर प्रश्न गरे। ‘अनिष्टको सङ्केत देखिएको छ,’ उनले भने,‘जन्मेको बच्चालाई फेरी भित्र लग्दिने के हो यो।?’ दाहालले आन्दोलनमा सहयोग गर्न दलित समुदायलाई अपिल पनि गरे।
फागुन २८, २०७७ शुक्रबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।