रेसमको मुद्दा माग बन्दा लक्ष्मण थारु अलपत्र !
काठमाडौँ : सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा बहुमत पूर्याउने कसरतमा अहिले जनता समाजवादी पार्टीसँगको वार्तालाई तीव्र बनाइरहेका छन्।
प्रारम्भमा अनौपचारिक संवाद अगाडि बढाइरहेका उनले बिहीबार भने जसपाका शीर्ष नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर औपचारिक रूपमै वार्ता अगाडि बढाए।
जसपाले संविधान संशोधन, मधेस र थरुहट आन्दोलनको माग सम्बोधन र जन्मकैद सजाय पाएर कारागारमा रहेका आफ्ना सांसद रेसम चौधरीको मुद्दा फिर्ताको माग अगाडि सारेको छ।
वार्तामा सहभागी जसपाका नेता लक्ष्मणलाल कर्णले उकेरालाई दिएको जानकारी अनुसार प्रधानमन्त्री जसपाको माग पुरा गर्न सकारात्मक देखिएका छन्।
एमाले र जसपा मात्र सकारात्मक भएकै आधारमा संविधान संशोधन सम्भव छैन। मधेस र थरुहट आन्दोलनको माग पुरा हुनुपर्ने जसपाको राजनीतिक मुद्दा मात्र हो।
तीन माग अगाडि सारिए पनि जसपाले मुख्य मागको रूपमा थारुको मुद्दा फिर्तालाई नै प्रमुख माग बनाएको प्रस्टै देखिन्छ। अहिले चौधरीलाई भएको जन्मकैदको सजायको फैसला उच्च अदालतबाट समेत सदर भएर सर्वोच्चमा विचाराधीन छ।
यदि एमाले र जसपाविच सत्ता साझेदारी भएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपतिले चौधरीको बाँकी सजाय मिनाहा गराएर जेलमुक्त गर्न सक्ने कानुनी आधार पनि छन्।
थारुलाई जन्मकैद भएको टिकापुरको घटनामा जन्मकैद पाउने उनी एक्ला हैनन्। उनीसँगै अर्का थरुहट नेता लक्ष्मण थारुको कैद सजाय उल्टिएर जन्मकैद बनिसकेको छ।
थारुलाई जिल्ला अदालतले तीन वर्षको कैद सजाय सुनाएको थियो। उनले सो कैद भुक्तान गरेर मुक्त भइसकेको अवस्थामा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई पनि जन्मकैद सुनाएको थियो।
थरुहट आन्दोलनको क्रममा टिकापुरमा नेपाल प्रहरीका तत्कालीन एसपी लक्ष्मण न्यौपाने सहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए। उनीहरूको हत्या आरोपमा जेलमा रहेकामध्ये जसपाले आफ्नो सांसद चौधरीको मुद्दा फिर्ताको लबिङलाई जोड दिइरहेको छ। उसले अहिलेसम्म लक्ष्मण थारुको मुद्दा फिर्ताबारे केही बोलेको छैन।
अस्थिर थारु
माओवादी विद्रोहमा सहभागी भएर भूमिगत भएका उनी माओवादी शान्तिपूर्ण आन्दोलनमा आएसँगै स्वायत्त थारुवान् आन्दोलनलाई अगाडि बढाएर चर्चामा आएका थिए। थरुहट क्षेत्रमा उनी लोकप्रिय नेताका रूपमा अगाडि बढे पनि राजनीतिक यात्रामा उनी एकै ठाउँमा अडिन सकेनन्।
कहिले उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य बन्न पुगे, कहिले थारुवान् राष्ट्रिय मोर्चा गठन गरे। उनी थरुहट–थारुवान् राष्ट्रिय मोर्चाका संयोजक बने।
उनी मधेसी जनअधिकार फोरममा समेत सहभागी भएका थिए। टिकापुर घटनामा पक्राउ परेपछि उनी २०७४ को संसदीय निर्वाचनमा कारागारभित्रबाट कैलाली पाँचबाट तत्कालीन राष्ट्रिय जनता पार्टीको नाममा उम्मेदवार बने र, पराजित भए।
रेसमको रिहाइ माग्दै अमरण अनशन
तीन वर्ष कैद भुक्तान गरेर उनी रिहा भएपछि कारागारमा रहेका रेसम चौधरीको रिहाइको माग गर्दै उनी अनशनमा बसेका थिए। त्यो बेला चौधरी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थिए। २०७४ को निर्वाचनपछि एमाले र माओवादी केन्द्रको सरकार बनेपछि तत्कालीन राष्ट्रिय जनता पार्टीले ओली सरकारलाई समर्थन गरेको थियो। समर्थनको मुद्रामा चौधरीको रिहाइलगायतका माग थिए। राजपाको दबाबले हिरासतमै रहे पनि चौधरी सिंहदरबार गएर सांसदको शपथ लिन सफल भएका थिए।
मुद्दाको फैसला आउँदा जन्मकैद भयो। उच्च अदालतमा पुनरावेदन जाँदा जन्मकैद सदर भएपछि तत्कालीन राजपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
फागुन २७, २०७७ बिहीबार २२:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।