फिल्मको सिक्वेल बनाउने होड
काठमाडौं : चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले हिट चलचित्र ‘आँधी तुफान’ निर्माण गरेको १६ वर्षपछि अघिल्लो साता त्यसको सिक्वेल बनाउने घोषणा गरे।
आगामी चैत १० गतेदेखि चलचित्रको छायांकन सुरु गर्ने उनले बताएका छन्। चलचित्र निर्माण गरेको १६ वर्षपछि उनी किन सिक्वेल बनाइरहेका छन् त ?
उनको दाबी छ– ‘चलचित्रको कथाले सिक्वेल खोज्यो।’
चलचित्र निर्माता सुवास गिरीले पनि ‘नोभेम्बर रेन’को सिक्वेल बनाउने घोषणा गरेका छन्। यस्तै, निर्माता सुवास थापा पनि ‘प्रसाद’को सिक्वेल निर्माणको तयारीमा जुटेका छन्।
यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, कलिउडमा सिक्वेल बनाउने क्रम बढेको छ। ‘लुट’, ‘दर्पणछाया’, ‘जादुगर’, ‘खलनायक’ ‘परदेशी’लगायत चलचित्रको सिक्वेल बनेका छन्।
चलचित्र हिट भएपछि त्यसको सिक्वेल बनाउने गरिएको चलचित्र समीक्षक बताउँछन्।
चलचित्र समीक्षक नवीन सुब्वाका अनुसार चलचित्रकर्मीले सिक्वेलमा फोकस गरेका छन्। उनको भनाइमा चलचित्रकर्मी सिक्वेलमा आकर्षित हुनुका विभिन्न कारण छन्।
पहिलो– चलचित्रको नाम दर्शकले सुनिसकेकाले प्रचारप्रसारमा कमै खर्च गरे पुग्ने। दोस्रो– हिट भएको चलचित्रको सिक्वेलमा सहजै लगानी उठाउन सकिने मान्यता।
तर, चलचित्र निर्माता भने यो कुरा मान्न तयार देखिँदैनन्।
‘प्रसाद’का निर्माता थापा भने चलचित्रको कथावस्तु दर्शकले मनपराएकाले सिक्वेल बनाउने तयारी गरेको बताउँछन्। ‘चलचित्र ‘प्रसाद’को कथा दर्शकले मन नपराएको भए सिक्वेल बनाउने थिइनँ,’ उनले भने।
निर्देशक दिनेश राउत चलचित्रको सिक्वेल बनाउँदा सिर्जनासमेत मर्न सक्ने दाबी गर्छन्। ‘त्यसकारण सिक्वेल बनाउनुभन्दा नयाँ चलचित्र बनाउनु राम्रो हुन्छ,’ उनको सुझाव छ।
फ्लप चलचित्रको पनि सिक्वेल
कलिउडमा हिट चलचित्रको मात्र होइन, फ्लप चलचित्रको पनि सिक्वेल बनाइएको छ। यसको उदाहरण हो– चलचित्र ‘लप्पन छप्पन’।
हालै गरिएको ‘लप्पन छप्पन २’ को ट्रेलर रिलिज कार्यक्रममा चलचित्र निर्देशक मुकुन्द भट्टले ‘लप्पन छप्पन’ फ्लप भएको स्वीकारेका थिए।
‘चलचित्र ‘लप्पन छप्पन’मा कमीकमजोरी धेरै भएका थिए। तर, यसको सिक्वेलमा कमीकमजोरी छैन,’ उनको दाबी छ।
पहिलो चलचित्रको कथाले माग गरेकाले सिक्वेल बनाएको उनको भनाइ छ। साथै उनले ‘लप्पन छप्पन २’का पनि सिक्वेल आउन सक्ने संकेत गरे।
सिक्वेलमाथि सिक्वेल
चलचित्रले राम्रो व्यापार गरेपछि सिक्वेलमाथि सिक्वेल बनाउने क्रम बढेको छ।
कलिउडमा सबैभन्दा बढी सिक्वेल बनेको चलचित्र हो– ‘नाइ नभन्नु ल’। यसका पाँचवटा पार्ट निर्माण भइसकेका छन्। छैटौं पार्ट निर्माणको तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।
सिक्वेलमाथि सिक्वेल बनाउने अर्काे चलचित्र ‘छक्का पञ्जा’ हो। यसको तीनवटा पार्ट निर्माण भइसकेको छ। चौथो पार्ट बनाउने तयारीमा लागेको निर्माण पक्षले जनाएको छ।
यस्तै, ‘ए मेरो हजुर’ ‘चपली हाइट’, ‘कबड्डी’, ‘प्रेमगीत’लगायतले सिक्वलेमाथि सिक्वेल बनाएका छन्।
०००
सिक्वेल बनाउनु चलचित्र क्षेत्रका लागि राम्रो नभएको चलचित्र समीक्षक सुब्बा बताउँछन्। ‘सिक्वेल भनेको पुरानै चलचित्रको नाम भजाएर खानुजस्तै हो।’
निर्देशक राउत पहिलो चलचित्र निर्माणपछि सिक्वेलको आवश्यकता नरहेको बताउँछन्। ‘त्यसकारण आफूले चलचित्र ‘प्रसाद र नोभेम्बर रेन’को सिक्वेल छोडेको हो,’ दिनेशले भने।
फागुन २७, २०७७ बिहीबार १८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।