लुम्बिनी प्रदेश : सत्ता समीकरणका लागि जसपा फकाउँदै एमाले 

लुम्बिनी प्रदेश : सत्ता समीकरणका लागि जसपा फकाउँदै एमाले 

बुटवल : लुम्बिनी प्रदेश सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले सत्ता समीकरणका लागि जनता समाजवादी पार्टी (जसपा)सँग छलफल थालेको छ। 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रदेशसभामा विश्वासको मत जित्न एमालेले जसपासँग छलफल थालेको हो। 

कुल ८७ सिट रहेको प्रदेशसभामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का ६१ सांसद् थिए। एमाले र माओवादी केन्द्र ब्युँतिँदा एमालेका ४१ र माओवादी केन्द्रका २० सांसद् छन्। 

यो अवस्थामा माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकारलाई बहुमत पुर्याउन थप ३ सांसद् आवश्यक पर्छ। प्रदेशसभामा बहुमतका लागि ४४ सिट चाहिन्छ। यसका लागि सरकारले नेपाली कांग्रेस वा जसपाको समर्थन लिनुपर्ने हुन्छ। 

प्रदेशसभामा कांग्रेसको १९ र जसपाको ६ सिट छ। 

एमाले नेता एवं भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरी नेपाली कांग्रेसले प्रतिपक्षमै बस्ने नीति लिएकाले जसपासँग सत्ता समीकरणका लागि छलफल भइरहेको बताउँछन्। 

मन्त्री चौधरीले प्रदेशसभामा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा सरकार टिकाउन जसपासँग विश्वासको मत लिनेबारे छलफल भइरहेको बताए। 

‘सत्ता समीकरणबारे केन्द्रमा पनि कुराकानी भइरहेको छ। प्रदेशमा पनि छलफल गरिरहेका छौं,’ उनले भने। 

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले सरकारमा जाने विषयमा छलफल भइरहेको बताए। ‘छलफल चले पनि सरकारमा जाने टुंगो लागिसकेको छैन,’ उनले भने। 

मन्त्री चौधरी पनि जसपासँग सत्ता समीकरणबारे छलफल चले नेताहरू सत्तामा जाने कि नजाने भन्नेबारे अलमलमै रहेको बताउँछन्। 

राजनीतिक विश्लेषकहरू माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा एमालेले जसपासँग सत्ता समीकरण गर्न चाहेको बताउँछन्।  

‘लुम्बिनी प्रदेशसभामा कांग्रेसभन्दा जसपाको सिट कम छ। त्यसकारण जसपालाई कांग्रेसभन्दा कम मन्त्रालय दिएर सहमति गराउन सकिने नेताहरूको बुझाइ छ,’ एक राजनीतिक विश्लेषकले भने। 

फागुन २७, २०७७ बिहीबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।