चलचित्रमा १२ वर्षपछि स्क्रिन सेयर गर्दै विनय र नम्रता
काठमाडौं : अभिनेता विनय श्रेष्ठ र अभिनेत्री नम्रता श्रेष्ठ चलचित्रमा १२ वर्षपछि एकसाथ देखिने भएका छन्।
१२ वर्षअघि चलचित्र ‘सानो संसार’मा एकसाथ देखिएका उनीहरू राजीव गुरुङको निर्देशन तथा निर्माण गर्न लागेको चलचित्रमा फेरि स्क्रिन सेयर गर्न लागेका हु्न्।
चलचित्रको नाम भने राखिएको छैन। चलचित्रमा विनय र नम्रताका अलवा सरु ताम्राकारको मुख्य भूमिका रहने छ। चलचित्रको कथा राजीवले लेखेका छन्।
चलचित्रलाई नेपाल र सिक्किमका विभिन्न स्थानमा छायांकन गरिने अभिनेता विनयले बताए। ‘चलचित्रको कथा अनुसार नेपाल र सिक्किममा चलचित्रको छायांकन गर्नुपर्ने छ। त्यसैको लागि लोकेसन छान्न सिक्किम पुगेर फर्किएका छौं,’ उनले भने।
सिक्किममा अधिकांशले नेपाली चलचित्र मन पराउने भएका कारण त्यहाँको लोकेसन छानेको विनयले बताए।
‘दुवैतर्फको कथालाई चलचित्रको पर्दामा उतार्दा सिक्किम र नेपालको सामीप्यता अझ बढ्ने विश्वास लिएका छौं। यसले दुवै देशलाई पर्यटनमा सहयोग पुग्ने अपेक्षा छ,’ विनयले भने।
चलचित्रको छायांकन टुंगो केही दिनमा लाग्ने बताए।
उक्त चलचित्र दुवै देशमा एकसाथ प्रदर्शन गरिने बताइएको छ।
फागुन २६, २०७७ बुधबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।