संसद्मा एमाले र माओवादी सांसदको सिट व्यवस्थापन हुने

संसद्मा  एमाले र माओवादी  सांसदको सिट व्यवस्थापन हुने
फाइल तस्विर

काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा साबिकको एमाले र माओवादी केन्द्रका सांसदको सिट व्यवस्थापन हुने भएको छ। आज बुधबार  दिउँसो १ बजे बस्ने बैठक अगाडि नै सिट व्यवस्थापन गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ। 

सर्वोच्च अदालतले परमादेश जारी गरेपछि नेकपाको एकता औपचारिक रूपमा भङ्ग भएको छ। अब नेकपाका सांसदहरू साबिकको एमाले र माओवादी केन्द्रका रूपमा संसद्मा जानेछन्। 

निर्वाचन आयोगबाट पत्र आइसकेकाले आजको बैठक बस्नु अघि सचिवालयले नेकपा लेखिएको स्टिकर हटाउने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। ‘प्रतिपक्षी कोलमको सिट चलाउनु पर्नेछैन,’उनले भने,‘सत्ता पक्षको कोलममा सङ्ख्या हेरेर सिट व्यवस्थापन हुन्छ।’

उनले समर्थन फिर्ता नलिएकाले माओवादी केन्द्रका सांसदलाई पनि सत्ता पक्षको कोलममा सिट व्यवस्थापन हुने बताए। ‘नेकपा लेखिएको स्टिकर हटाएर एमाले र माओवादी केन्द्र राखिनेछ,’ उनले भने। 

प्रतिनिधिसभाको बैठकमा आज सरकारले ल्याएको अध्यादेश विरुद्ध दर्ता भएका विरोधको सूचना एजेन्डाको रूपमा प्रस्तुत हुने प्रवक्ता पाण्डेले जानकारी दिए। 

फागुन २३ गते विरोधकाबिच टेबल भएको संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश विरुद्ध काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालले संसद् सचिवालयमा विरोधको सूचना दर्ता गराएका छन्। अध्यादेशमा गरिएका प्रावधान संविधानसँग बाझिएकाले खारेज हुनुपर्ने माग उनीहरूको छ। 

फागुन २६, २०७७ बुधबार ०७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।