जसले नर्सिङमा चार दशक बिताइन् 

जसले नर्सिङमा चार दशक बिताइन् 
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौं : अनमीको प्रवेश परीक्षा अघिसम्म पनि स्याङ्जा, कृष्णगण्डीकी तारा पोखरेललाई नर्सिङ क्षेत्रमा जमौला भन्ने लागेको थिएन। 

प्राध्यापन त झन् परको कुरा थियो उनका लागि। कारण– नर्सिङमा न उनको रुचि थियो न त उनी यसमा आफ्नो भविष्य कोर्न चाहान्थिन्।

‘साथीहरूले अनमीको प्रवेश परीक्षाको फाराम भर्न लाग्दा लहलहैमा मैले पनि भरेकी थिएँ,’ उनले सम्झिइन्, ‘परीक्षामा उत्तीर्ण पो भएँ।’

त्यसपछि भने उनमा नर्सिङप्रति मोह जाग्यो। 

तर, उनलाई चिन्ता थियो– कतै नर्स बन्ने आफ्नो सपनामा बुबाआमा तगारो त बन्दैनन्। किनकी अनमी पढ्न उनले घरदेखि टाढा नेपालगन्ज जानुपर्ने थियो। 

अनमीको प्रवेश परीक्षामा पास भएको बुबाआमालाई थाहा थिएन। उनले साहस जुटाएर भनिन्, ‘पास भएँ।’

सुरुमा उनका बुबाआमाले त्यसलाई स्वीकारेनन्। तर, उनले ढिपी छाडिनन्। अन्ततः अनमी पढ्न पठाउन बुबाआमा राजी भए। 

उनी साथीहरूसँग अनमी पढ्न हिँडिन् घरबाट। नेपालगन्जको सरकारी नर्सिङ स्कुलमा २०२७ सालतिर उनले पढाइ थालिन्। दुई वर्ष पढाइमा मेहनत गरिन्। र, त्यसको प्रतिफल पनि पाइन्। 

त्यति बेलै उनलाई अर्काे सफलता हात लाग्यो। त्यो हो– एसएलसी उत्तीर्ण हुनु। प्राइभेटबाट एसएलसी दिएकी उनी उत्तीर्ण भइन्। 

भोजपुरबाट जागिर यात्रा

अनमी उत्तीर्ण भएपछि उनले भोजपुरबाट जागिर यात्रा सुरु गरिन्। त्यहाँ करिव ९ महिना काम गरिन्। त्यसपछि उनी २०३१ सालमा वीर अस्पतालमा सरुवा भइन्। 

अनमीमा जागिर गरिरहँदा उनमा ‘नर्सिङ’ पढ्ने इच्छा जाग्यो। र, ललितपुर नर्सिङ क्याम्पसमा पिसिएल नर्सिङमा भर्ना भइन्। 

तीन वर्षमै नर्सिङ उत्तीर्ण गरिन् पनि। त्यसपछि उनी २०३४ सालतिर नेपालगन्जको सरकारी क्याम्पसमा काजमा खटिइन्। त्यहाँ झण्डै डेढ वर्ष काम गरेको उनी बताउँछिन्। 

त्यसपछि २०३६ सालमा वीरगञ्जस्थित नर्सिङ क्याम्पसमा सरुवा भइन् उनी। त्यहाँ सहायक प्रशिक्षक पदमा एक वर्ष काम गरिन्। 

वीरगन्जमा ‘नयाँ इनिङ’ 

वीरगन्ज बसाईका क्रममा उनको ‘नयाँ इनिङ’ सुरु भयो। २०३८ सालमा उनले यज्ञप्रसाद शर्मा पोखरेलसँग विवाह गरिन्।

विवाहको एक वर्षपछि पुनः नर्सिङको पढाइ थालिन् उनले। २०३९ सालमा काठमाडौंमा बिएन नर्सिङमा भर्ना भइन्। र, उत्तीर्ण पनि भइन्। 

बिएनपछि पनि उनको पढाइ रोकिएन। २०५२ सालमा महाराजगञ्जस्थित नर्सिङ क्याम्पसमा स्तानकोत्तर तहको पढाइ सुरु भयो। सोही वर्ष उनी भर्ना भइन्। र, २०५४ मा स्नातकोत्तर उत्तीर्ण गरिन्। 

स्नातकोत्तरपछि उनी पोखरा पुगिन्। र, त्यहाँ केही समय काम गरिन्। 

त्यसपछि उनी पुन काठमाडौं फर्किइन्। महाराजगञ्ज नर्सिङ क्याम्पसको प्राध्यापकका बनिन् उनी। पछि त्यहाँको क्याम्पस प्रमुखसमेत भइन् उनी। 

क्याम्पस प्रमुख हुँदा ५० प्रतिशत नर्सहरूलाई भत्ता दिने व्यवस्था मिलाएको उनी बताउँछिन्। ‘त्यसका लागि निकै संघर्ष गर्नुपर्याे,’ उनी सम्झन्छिन्। 

नर्सिङ संघको अध्यक्ष 

उनी नर्सिङ संघको अध्यक्ष पनि भइन्। आफ्नो कार्यकालमा राम्रा काम पनि गरिन् उनले। विद्यालय नर्सको व्यवस्था र नर्सिङ महाशाखालाई पुनःस्थापित हुनुको श्रेय उनलाई छ। 

तर, यसका लागि निकै मेहनत गर्नुपरेको उनले बताइन्। ‘महाशाखामा पुरुष हाकिमहरूको दबदबाका कारण नर्सिङ महाशाखा नै खारेज भयो। त्यसको पुनःस्थापनाका लागि निकै संघर्ष गर्नुपर्याे,’ उनले सुनाइन्। 

विद्यालयमा नर्सको व्यवस्था गर्न उति नै संघर्ष गर्नुपरेको थियो उनले। 

संघमा रहँदा राम्रो काम गरेको भन्दै उनले अवार्ड पनि पाइन्। उनलाई एक अन्तर्राष्ट्रिय संस्थाले ‘युएनआइएसडिआर अवार्ड’ दिएको थियो। 

नर्सिङ संघको तीन वर्ष नेतृत्व गरेपछि उनी २०६० सालमा नर्सिङ परिषद्को अध्यक्ष पनि भइन्। 

०००

२०३० सालमा नर्सिङ क्षेत्रमा जागिर थालेकी ताराले करिब ४३ वर्ष यसमै सक्रिय भइन्। २०७३ सालसम्म सरकारी जागिरेकारूपमा काम गरेकी ६६ वर्षीया तारा पछिल्लो समय भने प्राध्यापनमै सक्रिय छिन्। त्यससँगै स्वास्थ्यसम्बन्धी विभिन्न काम पनि गर्छिन् उनी। 

उनको चाहना छ– आफूले सक्ने बेलासम्म स्वास्थ्य क्षेत्रमा क्रियाशील हुने। 

फागुन २५, २०७७ मंगलबार २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।