दुई सय कलाकारलाई फाइट सिकाएकी महिला द्वन्द्व निर्देशक 

दुई सय कलाकारलाई फाइट सिकाएकी महिला द्वन्द्व निर्देशक 

काठमाडौं : नेपाली चलचित्रकी महिला द्वन्द्व निर्देशक हुन् किरण दाहाल। 

‘लुट’, ‘पद्मिनी’, ‘छड्के’, 'द मोस्ट वान्टेडमा', ‘पुण्टे परेड’ चलचित्रमा सहायक निर्देशक भएर काम गरिसकेकी छन् उनले। किरण आफैले द्धन्द निर्देशन गरेको चलचित्र भने साराङ, कुइनेटो, तरङ्ग लगायत आठ वटा भन्दा बढी रहेका छन् ।

त्यसयता उनले थुप्रै नेपाली सेलिब्रेटीलाई फाइट सिकाएकी छन्। उनले निशा अधिकारी, नवल खड्का, सौगात मल्ल, आकाश श्रेष्ठ, यसराज गहतराज, दिक्पाल कार्की लगायतलाई फाइट सिकाइसकेकी छन्। 

उनले झण्डै दुई सय कलाकारहरूलाई फाइट सिकाएको बताउँछिन्। 

अहिले भने उनी दुईजना कलाकारहरूलाई फाइट सिकाइरहेकी छन्। यससँगै तीनवटा चलचित्रमा कामको लागि प्रस्ताव आएको उनी बताउँछिन्। 

सानैदेखि कराँतेमा रुचि 

हकी र निडर स्वभावकी किरणलाई बाल्यकालदेखि नै कराँतेमा रुचि थियो। 

त्यति बेला गाउँमा केटाहरू कराँते सिक्थे। पछि उनी त्यही समूहसँग कराँते सिक्न थालिन्। कराँते सिक्न स्कुलको कक्षासमेत छाड्थिन् उनी। 

कराँते सिक्न थालेपछि उनलाई कराँतेको प्रशिक्षक हुने सोच पलायो। 

आफ्नो त्यही इच्छा पूरा गर्न उनी २० वर्षअघि काठमाडौं छिरिन्। त्यति बेला कक्षा ८ पढ्दै थिइन् उनी। 

घरबाट आफन्तकहाँ बस्छु भनेर आएकी उनी अलग्गै बस्न थालिन्। पछि उनी दशरथ रंगशालामा भर्ना भइन्। र, कराँते सिक्न थालिन्। 

रजतपटको यात्रा

उनी रंगशालामा कराँते सिक्दै थिइन्। त्यही क्रममा उनको चलचित्रका द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठसँग भेट भयो। 

त्यति बेला उनी ‘केकोसिङ’ सिकिरहेकी थिइन्। त्यसपछि उनी ‘बोधेसिङ’ सिक्न थालिन्। र, ‘बोधेसिङ’बाट ब्ल्याक बेल्ट पाएको उनी सुनाउँछिन्। 

त्यसपछि उनले श्रेष्ठसँग फाइट सिक्न थालिन्। र, केही चलचित्रमा उनीसँगै सहायक द्वन्द्व निर्देशक भएर काम पनि गरिन्। त्यसयता उनले सहायक द्वन्द्व निर्देशकका रूपमा थुप्रै चलचित्रमा काम गरिसकेकी छन्। 

उनले चलचित्रको फाइट सिकाउने गुरु श्रेष्ठलाई नै मान्ने गरेकी छन्। 

उनले पहिलो पटक ‘शारांक’ चलचित्रमा रोशन श्रेष्ठको सहायक द्वन्द्व निर्देशक भएर काम गरिन्। उक्त चलचित्र वीरेन्द्र हमालले निर्देशन गरेका हुन्। 

‘महिलालाई अवसर दिँदैनन्’ 

चलचित्रमा महिला द्वन्द्व निर्देशकले अवसर नपाएको उनको गुनासो छ। ‘राम्रो काम गर्छु भन्दा पनि कसैले पत्याउँदैनन्,’ उनी गुनासो गर्छिन्। 

नेपाली चलचित्र क्षेत्रमा महिलालाई द्वन्द्व निर्देशन गर्न दिन नहुने मानसिकता रहेको उनी बताउँछिन्। ‘कतिपय नाम चलेकै निर्देशकले पनि मैले काम गर्न सक्दैन भनेका छन्। यसले पाएको काम पनि फुत्किएको छ,’ उनले भनिन्।  

पुराना निर्देशकले महिला निर्देशकलाई लिएर हिँड्दा समाजले कुरा काट्छन् भन्दै तर्किने गरेको किरणले बताइन्। 

तैपनी उनले हार मानिनन्। बरु उनले काम गरेर देखाउने अठोट लिइन्। र, वीरेन्द्र हमालले निर्देशन गरेको चलचित्रमा काम गर्ने मौका पाइन्। 

आफूसँगै द्वन्द्व निर्देशन सिकेका पुरुषहरूले काम पाइरहेको उनी बताउँछिन्। 

लकडाउनमा तरकारी बेच्दा भाइरल 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण गरिएको लकडाउनमा उनले तरकारी बेचिन्। यही क्रममा उनी अनामनगरको भाटभटेनी अगाडि तरकारी बेच्दा भाइरल बनिन्। 

‘लकडाउनमा काम नभएपछि घरखर्च चलाउन तरकारी बेच्न थालेकी थिएँ। राप्रपाका एकजना नेताले फोटो खिचेर फेसबुकमा राखिदिनुभयो,’ उनले भाइरल हुनुको कारण खोलिन्। 

त्यसपछि उनीबारेको समाचार युट्युबमा समेत आयो।

०००

अहिले केही चलचित्रमा काम गर्न प्रस्तावसमेत आएको उनले बताइन्। उनले भनिन्, ‘अहिले तीनवटा चलचित्रमा फाइट डिरेक्सनको लागि कुरा आएको छ।’ 

यो क्षेत्रमा काम गर्दा परिवारबाट सहयोग नपाएको गुनासो गर्छिन् उनी। 
 

फागुन २४, २०७७ सोमबार २३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।