आत्मविश्वासी 'भाइरल दिदी'

आत्मविश्वासी 'भाइरल दिदी'

काठमाडौं : करिब एक फुटकी छन् गीता भुसाल। उनीसँग खुट्टा जस्तो देखिने खुट्टा त छ। तर, कम्मरको सहारामा लत्रिँदै हिँड्नुपर्ने बाध्यता। उनीसँग हातजस्तो देखिने हात पनि छ। तर, धेरै काम दिँदैन हातले।  

काठमाडौँ, शेषमतिस्थित अपाङ्ग सेवा केन्द्रमा रहेकी स्याङ्जा पीडिखोला की २७ वर्षीया गीताको त्यही हात पनि दुई पटक भाँचिसक्यो।  जति दुख पाए पनि उनले हस्तकलाका सामग्री बनाउन छाडेकी छैनन्। 

उनी बिहान ९ बजे अपांग सेवा केन्द्रबाट निस्कन्छिन्। साँझ ६ बजेतिर फर्कन्छिन्। दिनभरि स्वयम्भूनाथ स्तुपा आसपास हस्तकलाका सामग्री बेच्छिन्। 

ग्राहक कुर्दाकुर्दै दिक्क लागे युट्युब खोल्छिन्। हस्तकलाका सामग्री बनाउन सिकाउने भिडियो हेर्छिन्। भोक लागे आफैले झोलामा बोकेर ल्याएको रारा चाउचाउ खान्छिन्। 

दुई वर्षदेखि यसरी नै चलिरहेको छ गीताको दिनचर्या।  

०००

स्वयम्भु स्तुपामा उनीजस्तै व्यापार गर्नेहरू अरु पनि छन्। तर, उनी अरुभन्दा फरक छिन् शारीरिकरूपमा। त्यही कारण उनी टिकटकमा पनि भाइरल छिन्। स्वयम्भु दर्शनार्थीहरूले उनलाई ‘भाइरल दिदी’ भनेर सम्बोधन गर्छन्। 

उनीसँग फोटो खिच्न, टिकटकमा भिडियो बनाउनेको संख्या बाक्लो छ। फोटो खिच्न आउनेहरूले ‘कति राम्री हो नि वरै’ भन्दा गीता फुरुंग हुन्छिन्। 

‘मान्छेहरू आउँछन्, तारिफ गर्छन्। हामीले गर्न नसक्ने सीप रहेछ भन्छन्। फोटो खिचाउँछन्। भिडियो बनाउँछन्। सामान किन्छन्,’ गीता भन्छिन्, ‘यस्तै गरी दिन बित्छ। साँझ कोठा फर्केपछि फेरि एक्लै...।’

०००

१५ वर्षको हुँदा गाउँको प्रेम भुसाल दाइले तिलगंगाको एउटा सेवा केन्द्रमा ल्याएर राखेका रहेछन् उनलाई। 

‘गाउँमा हुँदा जीवन मरेसरहै थियो। गाउँले र घरकै मानिसबाट तिरस्कृत थिएँ। घरकाले पनि ‘चाँडै मरे हुन्थ्यो’ भन्थे। त्यसपछि गाउँको एकजना दाइले तिलगंगाको सेवा केन्द्रमा राखिदिनुभयो,’ उनले काठमाडौं आउनुको कथा सुनाइन्। 

त्यतिबेला मलाई राम्रो होला भनेर आमाले काठमाडौं पठाउन सहमति जनाएको उनी बताउँछिन्। 

यति भनिरहँदा उनका आँखा रसाए। अनुहार भिज्यो। भिजेको अनुहार छुँदै गीताले भनिन्, ‘त्यसपछि जीवन कता–कता मोडियो।

काठमाडौं आएँ। तिलगंगाको संस्थामा ६ महिना बसेँ। त्यसपछि संस्थाको हाकिमका मान्छे यहाँ बस्न आए। र, मलाई हाकिमले निकालिदिए,’ उनले सुनाइन्। 

उनी त्यो संस्थाको नाम खोल्न चाहिँनन्। ‘संस्थाले मलाई निकाले पनि म त्यसको बदनाम गर्न चाहँदिनँ। आ–आफ्नो भागभोग हो,’ उनले भनिन्। 

त्यसपछि उनी तिलगंगाको सडकमा भौतारिइन्। त्यतिबेला सडकमा एक हप्ता बिताउनुपरेको उनी सुनाउँछिन्। 

‘कतै जाउँ भने कसैलाई चिनेको थिएन। खानेकुरा किनेर खानलाई पनि पैसा थिएन। खल्तीमा जम्मा १५ रूपैयाँ मात्रै थियो,’ उनले सुनाइन्, ‘त्यसपछि बटुवाले दिएको खानेकुरा खाएर बसें।’ 

त्यो बेला ‘अब बाँचेर काम छैन’ भन्ने मनमा लाग्यो। 

‘बाटोमा बस्दाबस्दा गाडीमुनि पसौंजस्तो लाग्थ्यो। तर, गाडीमुनि पस्दा मरिएन र झन् अपांग भइयो भने के गर्नु भन्ने ठानेर मर्ने आँट पनि गरिनँ,’ उनले भनिन्। 

त्यसपछि उनले विष सेवन गर्ने योजना बनाइन्। र, बाटोमा हिँडिरहेकी ८ वर्षीया बालिकालाई बोलाएर विष किन्न पठाइन्। ‘त्यति बेला खल्तीमा १५ रूपैयाँ थियो। त्यही दिएर बालिकालाई पठाएँ,’ उनले सम्झिइन्। तर, पसलेले दिएनछन्। 

त्यो घटना सम्झिएर उनलाई अहिले पनि हासो उठ्छ। ‘अहिले पो थाहा भयो त। साना बच्चालाई विष दिँदैनन् भन्ने,’ उनले भनिन्। 
विष खान खोजेको थाहा पाएपछि एक महिलाले उनलाई जोरपाटी अपांग पुनःस्थापना केन्द्रमा राखिदिइन्। 

०००

सडकमा बेवारिसे भएर बस्दा पनि उनलाई गाउँ जान मन लागेन। कारण– गाउँमा हेपिएकी थिइन् उनी। 

आमालाई भने सम्झिरहन्थिन् उनी। तीन भाइ र एक बहिनीको अनुहार याद गर्न चाहन्न थिइन् उनी। ‘गाउँमा छँदा भाइले पनि हेला गर्थे। बाले पनि आमालाई यस्ता सन्तानलाई के पाल्छेस् भन्नुहुन्थ्यो,’ उनले सम्झिइन्।

परिवारबाटै हेपिएपछि उनमा आत्मनिर्भर हुने अठोट पलायो। तर, कसरी आत्मनिर्भर हुने ? यसबारे उनले भेउ पाउन सकेकी थिइनन्। 

०००

गाउँमा छँदा उनलाई पढ्ने रहर लागेको थियो। तर, अवसर पाइनन् उनले। ‘पुनःस्थापना केन्द्रमा पुगेपछि पढ्ने मौका मिल्यो,’ उनले भनिन्। 

पढ्ने मौका त मिल्यो। तर, पुनःस्थापना केन्द्रमा पनि गाउँको जस्तै व्यवहार भोगे। 

‘पुनःस्थापना केन्द्रमा त झन् अपमानित महसुस गरें,’ गीता भन्छिन्, ‘अन्य अपांग साथीहरूबाटै मैले अपमानित महसुस गरें। उनीहरूले मलाई बोकेर ट्वाइलेट लैजानु पर्ने भएकाले पुनःस्थापना केन्द्रमा राख्न नहुने भन्दै विरोध गरे।’

त्यही बेलै उनको जीवनमा ‘ज्योति’ बनेर आइन् ज्योति मगर। ज्योतिकै सहारामा गीताले पढ्न पाइन्। ‘कक्षा ४ देखि १० सम्म ज्योति दिदीले सहारा दिइन्,’ उनले भनिन्। 

पुनःस्थापना केन्द्रमा आएपछि नै पढाइ थालेकी हुन् उनले। ‘पुनःस्थापना केन्द्रमा आएपछि केही समय सरसँग कोठामा पढें। त्यसपछि सिधै कक्षा ४ मा भर्ना भएँ,’ उनले भनिन्। 

त्यसकारण ज्योतिलाई कहिल्यै भुल्न नसक्ने उनी बताउँछिन्। ज्योतिले गीताले गर्न नसक्ने सबै काम गरिदिन्थिन्। गीताको प्रिय साथी बनिन् ज्योति।

‘ज्योति दिदीले त्यो बेला साथ नदिएको भए मेरो ज्यानै तल–माथि हुन सक्थ्यो,’ उनले भनिन्। 

गीताले २०७४ सालमा एसइईमा ‘सी प्लस’ ल्याइन्। ‘त्यसपछि मेरो जीवन परिर्वतन भयो,’ उनले भनिन्।

०००

पुनःस्थापना केन्द्रमा उनी कक्षा १० उत्तीर्ण नहुँदासम्म बस्न पाउने सर्त थियो। यो सर्त हरेक विद्यार्थीमा लागू हुन्थ्यो, भयो। गीताले बसिरहेको ठाउँ छाड्नु पर्ने भयो।

त्यसपछि उनी साथीको डेरामा बस्न थालिन्। तर, उनीसँग सधैं कोठाभाडा तिर्नका लागि पैसा थिएन। 

‘स्कुलमा नाचेर, गीत गाएर केही पैसा जम्मा गरेको थिएँ,’ उनले सुनाइन्, ‘त्यही पैसाले एक महिनाको भाडा तिरें।’ 

त्यसपछि गीतालाई पैसाको समस्या पर्याे। उनले चिनेजानेकालाई काम खोजिदिन अनुरोध गरिन्। र, फ्याक्ट्रीमा माला सिलाउने मेसिन चलाउने काम पाइन्। तर, हातले साथ दिएन। काम गर्ने क्रममा फेरि हात भाँचियो। 

त्यसपछि काम गरेको दुई दिनमै फ्याक्ट्रीबाट निकालिइन् उनी। ‘त्यसपछि काठमाडौं सधैंको लागि छोड्ने निर्णय गरें,’ उनले भनिन्।

०००

र, उनी गाउँ फर्किइन्। गाउँमा बस्न थालेपछि उनी सबैको वाहवाही पाउन थालिन्। कारण–एसइई।

‘अपांग भएर पनि पढ्न सकेको भन्दै गाउँलेहरू प्रशंसा गर्थे,’ उनले सुनाइन्, ‘अपांग भएकालाई हेप्न हुँदैन भन्ने गाउँलेमा चेत पलाएको थियो।’ 

गाउँलेमा चेत पलाएको देखेर गीता खुसी थिइन्। 

उनकी आमाले पनि अब उनलाई गाउँमै बस्न कर गरिन्। तर, उनी मानिनन्। र, भनिन्, ‘ऊ बेला मार्दिनु भएन। अब आफ्नै तरिकाले बाँच्न दिनुस्।’ 

गीताको कुराले उनकी आमा रोइन। त्यसपछि गीताले आमालाई सम्झाइन्। ‘म बाँच्न सक्छु आफ्नै पौरखले,’ उनले भनिन्। 

तर, त्यतिन्जेलसम्म गीताले कुनै सीप सिकेकी थिइनन्। उनीसँग केवल आँट थियो। 

साथीहरूले एक संस्थामा जागिर मिलाइदिएपछि उनी एक्लै काठमाडौं फर्किइन्। 

‘मैले केही साथीहरूलाई राम्रो संस्थामा काम खाेजिदिन आग्रह गरेकी थिएँ। उनीहरूले एक संस्थामा काम खाेजिदिए,’ उनले भनिन्, ‘गाउँ बसेको चार महिनामा अपांग सेवा केन्द्रबाट फोन आयो।’ 

०००

उनी काठमाडौं फर्केको पनि तीन वर्ष भयो। अहिले उनी हस्तकलाका सामान बनाउन सक्ने भएकी छन्। ‘अहिले हातमा सिप छ। कसैसँग माग्नु पर्दैन,’ उनले खुसी प्रकट गरिन्। 

त्यति मात्रै होइन, उनीसँग आत्मनिर्भर हुन सक्ने आँट पनि छ। ‘गर्नु परे नाङ्लोमा सामान बेचेर जीवन निर्वाह गर्न पनि सक्छु,’ उनी भन्छिन्। 

०००

उनी काममा सपांगभन्दा कम छैनन्। ‘सपांगहरू काम गर्दा हात–आँखा दुख्यो भन्छन्। तर, मलाई त्यस्तो छैन,’ उनी भन्छिन्। 

अब गीतालाई जीवन एक्लै बिताउनु पर्ने हो कि भन्ने चिन्ता छ। ‘जीवन कटाउन एउटा साथी नि चाहिने हो हुन त। तर, बिहे गर्ने कल्ले ?’ उनले भनिन्। 

* जन्मस्थान, पारिवारिक सदस्य लगायतका केही विवरण पात्रले भने अनुसार नभएको पुष्टि भएपछि ती प्रसङ्ग सच्याइएको छ।

फागुन २४, २०७७ सोमबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।