१४ वर्षीय जानकीको प्रश्न : स्कुल गए पेट कसले भरिदिन्छ  ?

१४ वर्षीय जानकीको प्रश्न : स्कुल गए पेट कसले भरिदिन्छ  ?

भैरहवा : नवलपरासीको पश्चिम सरावलकी जानकी राजभर १४ वर्षकी भइन। तर उनले अहिलेसम्म विद्यालयको मुहार देख्न पाएकी छैनन्। उनलाई स्कुल जान मन नभएको हैन। तर आर्थिक स्रोतको अभावमा उनी दिनभर पेट भर्ने जोहोमै खटिन्छिन्।  कसरी जानु स्कुल ?

उनी ४ दिदीबहिनी र एक भाइमध्येकी माइली छोरी हुन्। स्कुल जाने उमेर भए पनि घरको खर्च जुटाउन उनी कलिलै उमेरमा आमासँगै श्रममा खटिएकी छिन्। 

उनको परिवारकारसँग सम्पत्तिको नाममा सरावल गाउँपालिकाले निर्माण गरिदिएको २ धुर जग्गामा निर्मित २ कोठे भवन मात्र हो। यो २ कोठे भवन नै उनीहरू ७ जनाको परिवारको आश्रय स्थल पनि हो। 

उनकै उमेरकाहरु लस्कर लागेर विद्यालय गएको देख्दा उनका पाइला पनि त्यतैतिर नलम्कने हैन। तर विद्यालय गए भरे के खाने भन्ने समस्या छ। उनी त भोकै हुन्छिन् नै उनको भाइ बहिनी पनि भोकै हुन्छन्।

उनको बाबु रक्सिको लतमा फसेका छन्। रक्सी खाएर घर आउने र आमालाई पिट्ने उनको दैनिकी थियो। 

‘बाबुले हेरचाह नगरेपछि हामी नै कमाउन तिर लाग्यौ। गाउँपालिकाले दिएको २ धुर जग्गा पनि धितोमा छ,’ उनले भनिन्‘ बाबुले दिदीको बिहे गर्न धितो राखेका थिए। कसले निकालिदिने धितोबाट अब ?’

अहिले उनका बाबु विदेश गएका थिए। विदेशमा उनी के गर्दै छन्? अत्तोपत्तो भने छैन। न बाबुको कुनै खबर आएको छ न त भरथेग गर्न पैसा।

उनको आमा दिनभर अर्काको घरको जुठो भाँडा माझेर केही पैसा जम्मा गर्छिन्। उनी पनि आमासँगै जान्छिन्।

कोरोना सङ्क्रमणमा लकडाउन हुँदा उनीहरूले धेरै दुख पाए। लकडाउन भएको बेला कति रात पानी मात्र खाएर बसेको उनको आमाले उकेरासँग बताइन्।

‘सुरुमा त कति रात पानी मात्र खाएर सुत्यौ। कलिला छोराछोरीहरू खान नपाएर मर्छन् कि भन्ने चिन्ताले निदाउनै सकिन,’ उनले भनिन्।

उनीहरूलाई घुमेकी र केही गैर सरकारी संस्थाले सघाउँदा भोकले ज्यान गुमाउनु परेन।

आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस। उनी श्रममै छिन् आज पनि छोरीसँगै। सरकारले बालिका शिक्षाको अभियान पनि चलाउँछ बेलाबखत। तर उनले आफ्ना सन्तानलाई विद्यालयसम्म पठाउन सकेकी छैनन्।

‘पढाउने रहर कसलाई हुँदैन र। तर रहर मात्रले के हुन्छ र?’ उनले भनिन्‘पढुन्, मैले जस्तो दुख नपाउनु भन्ने त लाग्छ नि तर भोक भन्दा ठुलो पढाई हैन।’

फागुन २४, २०७७ सोमबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।