बिमा रकमको लोभमा भाइसँग मिलेर श्रीमतीको हत्या 

बिमा रकमको लोभमा भाइसँग मिलेर श्रीमतीको हत्या 

भैरहवा : रुपन्देहीमा भएका पछिल्ला हत्या सम्बन्धी घटनाको प्रमुख कारण सम्पत्तिको विवाद खुलिरहेको बेला जिल्लाका दुई स्थानमा सम्पत्तिको लोभमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ।

एक हत्याको कारण बिमाको रकम पाउने लोभ देखियो भने अर्काले दाइजो कमी ल्याएको भन्दै हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ। 

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाकी कुसुम लोधलाई उनकै श्रीमान् र देवर मिलेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।

बिमाको रकम कुम्ल्याउने लोभमा लोधका पति शैलेस कुमार लोध र देवर राजेश कुमार लोध मिलेर हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। हत्याको आंशकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो।

घरायसी भईm–झगडा र श्रीमतीको बिमा सम्बन्धी विषयका कारण कुसुमको हत्या उनकै पति शैलैस र देवर राजेशले हत्या गरेको खुलेको हो।

कुसुमको दुई ठाउँमा बिमा गरिएको र श्रीमतीको मृत्यु भएको अवस्थामा बैङ्कमा रहेको ऋण पनि छुट हुन्छ भन्ने अभिप्रायले हत्या गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरीले जनाएको छ।

हत्याको घटनामा पक्राउ परेका दुवै जनाले घटना स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। शैले र उनका भाइ राजेश अहिले इप्रका लुम्बिनीको हिरासतमा छन्।

गत फागुन १५ गते इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको गस्ती टोलीले कोटहीमाई गाउँपालिका–१ पतिजिया सिपवास्थित झुलनापुरदेखि मर्चावर जाने कच्ची सडक खण्डमा महिलालाई शक्त घाइते र बोल्न नसक्ने अवस्था फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलका अनुसार सोही स्थानमै कुसुमको पति शैलेश, उनको मोटरसाइकल र २ वर्षीय छोरासँगै रहेका थिए। लु २ च १५१७ नम्बरको पीकअप गाडीमा ४ जना सवार रहेको र गाडीले पटक पटक ब्याक समेत गरी ठक्कर दिएर मङ्गलसूत्र खोसेर लगेको र उनलाई पेस्तोल ताकेको कुरा शैलेसले प्रहरीलाई बयानमा बताएको उनले बताए।   

शैलेसका अनुसार लु ७० प ५५९० नम्बरको मोटरसाइकलमा २ जना व्यक्ति रहेका थिए। हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका शैलेशले फागुन १६ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा जाहेरी दरखास्त दिएको र उक्त जोहरीमा हतियार देखाइ लुटपाट गरी हत्या गरेको ब्यहोरा उल्लेख गरेको एसपी पोखरेलले बताए।

‘अनुसन्धानको प्रारम्भिक चरणमा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको थियौँ, चालकसँग सोधपुछ तथा सवारीसाधनको परीक्षण समेत गरिएको थियो, तर सवारीसाधन र चालक उल्लेखित घटनास्थलमा पुगेको पुस्ट्याइँ भएन,’ प्रहरी उपरीक्षक पोखरेलले भने।

अनुसन्धानको दोस्रो चरण अन्तर्गत शैलेष र उनको घरपरिवारप्रति नियमित निगरानी, शैलेषको शङ्कास्पद व्यवहार, प्राविधिक विश्लेषण र जैविक परीक्षण गरिएको प्रहरीले जनाएको छ। 

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकामा आफ्नै श्रीमानले विवाहमा दाइजो कमी ल्याएको भन्दै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहकी २१ वर्षीय सम्झना चाईको आगो लगाइ हत्या गर्ने मुकेश चाईलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको बयानमा चाईले दाइजो कमी ल्याएका कारण आफूहरूले हता गरेको बताएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) पोखरेलका अनुसार गत पुस १ गते कालिदहस्थित आफ्नै घरको कोठामा सम्झना चाईले आगो लगाएर जलेको अवस्थामा मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरीको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। 

घटनापश्चात् मृतक सम्झना चाईका पति मुकेशका साइला काका शलिन्दरले जोहरी दरखास्त दिएका थिए। प्रहरीका अनुसार शलिन्दर दिएको जाहेरीमा सम्झनाले कोठाको गजबार (आग्लो) लगाएर कोठा बन्द गरी आगो लगाइ मृत्यु भएको हो र कसैले मारेको वा मार्न लगाएकोप्रति शङ्का छैन भन्ने ब्यहोरा उल्लेख थियो।

त्यस्तै मृतक सम्झनाको दाइ रामप्रसादले दोस्रो जाहेरी दरखास्त दिएका थिए। उक्त दरखास्तमा सम्झनालाई दाइजो कम ल्याएको भनी बेलाबेलामा यातना दिनुका साथै मार्छु समेत भनेका छन् भन्दै फोनमा सम्झनाको बहिनीले उनको आमालाई भनेको हुँदा बहिनीलाई हत्या गरेपछि प्रमाण नष्ट गर्न आगो लगाएको ब्यहोरा जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ।

पुस २ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृतक सम्झनाको शव परीक्षण भएको प्रहरीले जानकारी दिएको छ।

‘घटनास्थल कोठाभित्र आगोले जलेर धुंवा हुनुका साथै आगो निभाउन पानी खन्याएकोले पुरै कोठा पानीले भिजेको थियो, एसपी पोखरेलले भने कोठाभित्र रहेको पलङमा मृतक सम्झनाको शरीरभरी जलेर सिरानीतर्फ खुट्टा र गोड्यातर्फ टाउको रही उत्तानो अवस्थामा रहेको थियो, जसले गर्दा अनुसन्धानमा समेत समस्या परेको थियो।

फागुन २४, २०७७ सोमबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।