राजनीति : पुरुषले, पुरुषका लागि मात्र बनाएको क्षेत्र हो त ?
काठमाडौँ : रञ्जु दर्शना त्यो बेला कक्षा पाँचमा पढ्थिन्। बशुन्धारामा एक महिलाको हत्या गरेर पानी ट्याङ्कीमा झुन्ड्याइएको थियो। उनी त्यहाँ पुगिन्। उनी मारिनुको कारण खुल्यो घरेलु हिंसा।
यो दृश्य र कारणले उनको बाल मस्तिष्कका तन्तुहरूमा प्रश्नै प्रश्न जन्मायो।
‘हाम्रो समाजमा महिला घरेलु हिंसाले किन मारिन्छन्? मान्छेले, मान्छेलाई किन विभेद गर्छ ? अनि यस्ता विभेद कसरी हट्ला?'
उमेर अनुसारको सोच थिएन उनको, उत्तर कसरी आउनु। उनले आफ्नै उमेर समूहकाहरुसँग जिज्ञासा राख्थिन्। तर उनीहरूबाट पनि कसरी उत्तर आओस्।
‘वशुन्धाराको घटना देखेपछि मेरो मनमा अनौको प्रश्नहरू आए। सोध्ने, छलफल गर्ने आफ्नै उमेरका साथीहरू मात्र थिए,’ रञ्जु भन्छिन्‘साथीहरूलाई भन्थेँ। उनीहरू यस्तो नभइदिए हुन्थ्यो मात्र भन्थे। मलाई चित्तै बुझ्दैनथ्यो।’
अहिले उनको उमेर प्रश्नसँगै उत्तर पहिल्याउने भइसक्यो। समस्याको समाधान समेत खेल्छ अहिले उनको मस्तिष्कमा। तै पनि उनले किशोर उमेरमा देखेको दृश्य समाजबाट हराइसकेको छैन। त्यो कहिले भागरथीको हत्याको रूपमा उनी सामु आउँछन् त कहिले निर्मला पन्तको बलात्कारपछिको हत्याको दृश्य घुम्छन्।
उनी आफैँसँग प्रश्न गर्छिन्‘किन यस्तो भइरहन्छ हाम्रो समाजमा?’
०००
महाराजगन्जको बाटो बन्दा रञ्जु ११ वर्षकी थिइन्। त्यति बेला उनलाई लाग्यो, बाटो कसरी बन्छ? पैसा कसरी आउँछ? लामो समयसम्म किन बाटो नबनेको होला?
त्यो बेला पनि उनको प्रश्नको चित्तबुझ्दो उत्तर दिने कोही थिएनन्। त्यो बेला स्थानीय तह थिएन। निर्वाचनै हुन सकेको थिएन। नागरिक अगुवा र स्थानीय टाठा बाठा जोडिएका हुन्थे विकास निर्माणमा।
टोलमा हुने छलफलमा यसो चियाउँथिन् उनी। पुरुषै पुरुषका टाउका देख्थिन्। महिला अति थोरै।
‘टोलमा हुने छलफलमा थोरै हुन्थे महिला। म धेरै बुझ्दिनथे। तर भेला देख्यो कि कुरा सुन्न गइहाल्थे,’ उनले भनिन्‘ भेलाका कुरा सुन्दा मनमा प्रश्नहरू आइरहन्थे किन पुरुष जस्तै टन्न महिला छैनन् यो भेलामा? उनीहरू किन आफ्ना सुझाव दिँदैनन् ?’
उनको सानै देखिको बानी थियो पत्रिका पढ्ने। समाचारमा पढ्दा धेरै यो भएन, त्यो भएन भन्ने समाचारै हुन्थे। उनलाई मनमनै लाग्ने रहेछ‘म काम गर्ने ठाउँमा पुगे भने यो भयो, त्यो भयो भन्ने मात्र समाचार आउने बनाउँथे।’
मनै हो। लाग्यो।
०००
रञ्जु आमाको अभिभावकत्वमा हुर्किइन्। मावली थिए साथमा। घरको आर्थिक अवस्था कमजोर थियो। विद्यालयको शुल्क तिर्न आमालाई धौ धौ परेको दृश्य धेरै पटक देखिन् उनले। किशोर उमेर भइसक्दा समेत उनले आफ्नो बाबुको अनुहार देख्न पाएकी थिइनन्।
उमेर बढ्दै गयो। रञ्जु १७ वर्षकी भइन्। उनी किशोर उमेर पार गर्ने चरणमा नजिक पुग्दा २०६३ को प्रजातन्त्रको नाम बदलिएर लोकतन्त्र भइसकेको थियो।
लोकतन्त्रसँगै नागरिकता सम्बन्धी व्यवस्था बदलियो। नेपालको अन्तरिम संविधानले महिला र पुरुषबिचको विभेदको ठुलो खाडलमध्ये सानो खाडल पुर्ने प्रयास गर्दै आमाको नामबाट पनि नागरिकता पाउन सक्ने व्यवस्था राखिदियो।
उनी आमासँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँ आइन्। प्रमुख जिल्ला अधिकारीले अन्तरिम संविधानलाई टेरेनन्। उनले नागरिकता पाउन जन्माउने, हुर्काउने, बढाउने, पढाउने आमाको नागरिकता भएर पुगेन।
‘बा को नागरिकता ल्याऊँ अनि नागरिकता दिउँला’ भनेर फर्काइदिए।
‘म पेटमा छँदा नै बुबा र ममीको सम्बन्ध तोडिइसकेको थियो। मैले बुबालाई कहिल्यै देखिन। मलाई हुर्काउनुमा उनको कुनै योगदान थिएन। तर राज्यले म म हुँनुमा उसैको अस्तित्व खोज्यो,’ अलि गम्भीर देखिइन् उनी‘ मलाई नागरिकता चाहिएको थियो। तर मेरो आमा नेपाली नागरिक हुनुको अस्तित्व स्वीकार भएन। बाध्य भएर १७ वर्षको उमेरमा बाबुसँग यो देशको नागरिक बन्न याचना गर्नुपर्यो।’
१७ वर्षको उमेरमा उनी बाबु खोज्दै विराटनगर पुगिन्। भोलिपल्ट बुबाको साथ लागेर जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन्। कुनै प्रश्नैविना उनको नागरिकता बन्यो। तर आमाको नाम लेखिएको ठाउँमा रातो मसीको धर्को लगाइयो।
उनको हातमा नागरिकता सँगै फेरि प्रश्नै प्रश्न आयो।
बाबुको नागरिकता जस्तो हो मेरो आमाको पनि उस्तै त हो। तर किन त्यसलाई स्वीकार गरिएन? मलाई हुर्काउने आमालाई मेरो अभिभावक किन स्वीकार गरेन कानुनले? काठमाडौँका सिडिओले बाबुको नाम र नागरिकता खै भने जस्तै मोरङको प्रमुख जिल्ला अधिकारीले आमाको नाम र नागरिकता खै किन भनेन?
‘मैले आमाको नाम लेखिएको ठाउँमा नाम लेखिदिन अनुरोध गरे तर मान्दै मानेनन्। मनै अमिलो भयो,’ उनले भनिन्‘ अनि मलाई लाग्यो संविधानमा लेखेर मात्रै परिवर्तन हुँदो रहेनछ। परिवर्तन गर्न त समाजको संस्कार पनि बद्लिनु पर्ने रहेछ। एक हिसाबले समाजले मलाई विद्रोही बनाउँदै लगेको थियो। म मेरा प्रश्नहरूको समाधान चाहन्थे।’
०००
लोकतन्त्र दलहरूको माग थियो। पुरा भयो। सडकमा लाग्ने नारा कार्यान्वयन भइरहेको देखेकी उनलाई मनमनै परिवर्तन गर्ने हो भने त राजनीति जान्नुपर्ने रहेछ भन्ने लाग्यो। राजनीति गर्नुपर्छ भन्ने मनमा लागेपनि राजनीति गर्न के गर्नुपर्छ उनलाई भेउ नै थिएन।
‘काँग्रेस–एमाले माओवादी हेर्यो वैचारिक रूपमा फरक भन्थे तर भ्रष्टाचारको मामिलामा उस्तै लाग्थ्यो मलाई,’रञ्जुले भनिन् ‘यी पार्टीको विकल्प के हुन्छ भन्ने त लाग्थ्यो तर मलाई के थाहा? घरमा सोध्यो कसैले जवाफ दिँदैनथेँ ।’
बाटोमा हिँड्दा एक दिन उनको नजर स्माइली चिन्हमा पर्यो। अलि अनौठो लाग्यो रे उनलाई त्यो स्माइली। के होला है यो भन्ने प्रश्न मनमा उठ्यो र मनमै बस्यो।
दि हिमालयन टाइम्सकी नियमित पाठक उनले २०७० तिर त्यही विवेकशीलबारे पढ्न पाइन्। स्माइली चिन्हबारे मनमा लागेको प्रश्नको उत्तर भेटिन उनले।
‘साँच्चै भन्ने हो भने त्यो समाचारले मेरो जिज्ञासा मेट्यो,’ उनले भनिन्‘ अन्य दलको बारे पढ्दा गुनासाहरू हुन्थे, त्यसमा सम्भावनाहरू थिए।’
र, उनको राजनीतिक यात्रा त्यही स्माइलीबाट सुरु भयो।
०००
कहाँ होला यो दलको कार्यालय भनेर खोज्दै जाँदा चप्पल कारखाना धुम्बाराहीमा फेला पारिन्। उनी बन्द विरुद्ध सुरु भएको ‘नेपाल खुलै छ’ आन्दोलनमा सहभागी भइन्। उनी सहभागी पहिलो आन्दोलन थियो यो। रमाइलो लाग्यो रे उनलाई।
२०७० सालको चुनावमा विवेकशीलका अध्यक्ष उज्ज्वल थापा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार भए। उनी थापाको पक्षमा मज्जाले खटिन्। विवेकशील भनेको के होला भन्दै खोज्दै हिँड्ने रञ्जु क्षेत्र नम्बर पाँचका मतदाताको ढोकामा उभिएर विवेकशील भनेको यो हो भनेर भन्न अभ्यस्त भएन।
आशाको कुरा गर्दा मतदाताको अनुहार उज्यालो हुन्थ्यो। यसले उनलाई निकै सन्तुष्टि दिन थाल्यो। ‘म मात्रै हैन परिवर्तन अरूलाई नि चाहिएको रहेछ’ भन्ने आभास हुन थाल्यो उनलाई।
सायद उनको परिवारका सदस्यमध्ये कोही पुराना पार्टीका सदस्य भएको भए उनको राजनीतिक यात्रा पनि त्यसैबाट सुरु हुन सक्थ्यो। उनी उही पुरानै शैलीमा जिन्दाबाद र मुर्दावाद भन्दै हिँडिरहेकी हुन्थिन्। सडक अवरुद्ध पार्ने, ढुङ्गा हान्ने संस्कार सिक्थिन् कि।
नयाँ दल भए पनि उनले जुन संस्कार सिकिन्, जुन जिम्मेवारी पाइन् अनि भूकम्प आउँदाको खटाई अनि स्वास्थ्य क्षेत्रका माफिया विरुद्धको आन्दोलनबाट पाएको सन्तुष्टि पुराना दलबाट पाउँथिन् होला ? उनले विवेकशीलमा जुन जिम्मेवारी पाइन्? आफ्नो क्षमताको जसरी परीक्षण गर्ने अवसर पाइन् त्यो पाउँथिन् होला र ? अह, सम्भवै थिएन।
‘मेरो घरका सबै मतदाता मात्रै। राजनीतिमा उत्ति चाख थिएन कसैमा। अनि म जुन दलमा लागे त्यहाँ पनि राजनीतिक पृष्ठभुमीकाहरु थिएनन्। त्यहाँ लागेको भन्न र चाहेको जिम्मेवारी लिन पनि सजिलो थियो।’
०००
२०७४ को स्थानीय चुनावमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनिन् उनी। पार्टीभित्रको छलफलमा उनको चयन भयो।
काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार चानचुने अवसर थिएन उनको लागि। २००७ सालदेखि नेपालको राजनीतिमा पकड जमाएका दलका नेताहरूसँग सिधै टक्कर थियो।
रहरले मेयरमा उम्मेदवार बनेकाहरू नहुने हैनन्। तर उनको उम्मेदवारी रहर थिएन। आफ्नै प्रश्नको उत्तरको खोजी थियो। आफ्नै क्षमताको परीक्षणको अवसर थियो। अनि काठमाडौंवासीको मनमा गुम्सिएको परिवर्तनको चाहनाको पनि परीक्षा।
नेपाली काँग्रेसबाट राजुराज जोशी, एमालेबाट विद्यासुन्दर शाक्य अनि विवेकशील जस्तै नयाँ शैली र संस्कारसहितको राजनीतिको नाराका साथ स्थापना भएको साझा पार्टीबाट खारिएका उम्मेदवार किशोर थापा।
उनको उम्मेदवारीलाई धेरैले अटेन्सनका लागि मात्रै हो भनेर पनि टिप्पणी गरे। कतिले नौटङ्की भने। कतिले साहस।
उमेर काँचो भए पनि उनका अजेण्डाहरु पाका थिए। ‘मेरो उम्मेदवारी किन’ भन्दै उनी मिडियाहरूमा आउँदा धेरैले उनमा सम्भावना देखे। पाका उम्मेदवारहरूसँग जमेर बहस गर्न थालिन्। अनुभव बढ्दै थियो। आत्मविश्वास पनि बढ्दै थियो।
अँ आँटिली हुन् तर के मत आउँला र भन्नेहरूलाई २३ हजार मतको मिठो उपहार दिइन् उनले। मेयर हुन त सकिनन्। विद्यासुन्दर मेयर बने। तर काठमाडौंवासीको २३ हजार मत उनका लागि विजयी माला भन्दा कम सर्प्राइज थिएन।
काठमाडौँका काँग्रेसी उनीसँग रिसाए। उनकै कारण काँग्रेस उम्मेदवार हारेको भन्दै उनी विरुद्ध तिखा आलोचनाहरू भए। उनले भनिदिइन्‘तपाइहरूले गर्दा मैले हारेको हो नि। तपाइहरूको मत मैले पाएको भए जित्ने रहेछु।’
०००
सिकेर राजनीतिमा नआए पनि उनले राजनीतिमा आएपछि धेरै सिकिन्। नयाँ दल भए पनि एकता र विभाजनको चरण भोगिन्। विभाजनपछिको एकताको अनुभव पनि भयो उनलाई।
विवेकशीलबाट साझा विवेकशिलहुँदै पुन विवेकशील नेपाली दलकी नेतृको भूमिकामा फर्किएकी उनी अहिले पुन विवेकशील र साझा एक भएपछि बनेको विवेकशील साझा पार्टीकी सचिवालय सदस्यको जिम्मेवारीमा छिन्।
०००
न राजनीतिक पृष्ठभूमि। न राजनीतिमा अगाडि बढ्न सघाउने माहौल। न प्रशिक्षित नै थिइन् उनी। जे सिकायो प्रश्नहरूले त सिकाए उनलाई। त्यही प्रश्नले डोर्याउँदै राजनीतिमा आएकी उनी अहिले २५ वर्ष पुगिन्।
२५ वर्षको यात्रामा उनले जुन छवि बनाउन सकेकी छिन् त्यो कम आँक्नु भुल मात्र हो। पुरानो दलमा भएको भए उनले बढीमा विद्यार्थी सङ्गठनसम्म मौका पाउँथिन् होला। उनको उत्तरको खोजाई अनि नयाँ शैलीको राजनीतिक संस्कारको अभ्यासले राष्ट्रिय छवि बनेको छ उनको। आफ्नै पहलमा। आफ्नै प्रयासमा।
सक्रिय राजनीतिमा जति भिज्दै गइन् उनले महिला र पुरुषबिचको खाडल कति गहिरो छ पनि बुझ्दै गइन्। उम्मेदवार भएकै बेलामा ‘तँ बिहे गरेर बस, बच्चा पा’ जस्ता प्रतिक्रियाले उनलाई अहिले पनि घोचिरहन्छ। उनलाई लाग्छ ‘यो घोचाई मलाई हैन म जस्तै आफ्नो पहिचान आफै बनाउन सक्रिय सबै महिलालाई हो।’
‘मलाई मात्रै हैन राजनीति गर्ने हरेक पार्टीको महिलालाई यस्तै भनिन्छ,’रञ्जु आक्रोशित हुँदै भन्छिन् ‘कहिले बच्चा पाउने, कहिले बिहे गर्ने भनेर उनीहरूले सिकाउनु पर्छ ? महिलालाई कम आँक्ने?’
उनको निष्कर्ष छ‘नेपाली समाजमा कम्पन दिन ढिला भइसक्यो। विचार आ–आफ्नो होला। तर समस्या सबको साझा हो। चरित्रमा औँला उठाउने, व्यक्तिगत कुरामा लगेर जोडिदिने, राजनीतिमा टिक्नै सक्दैनन् भनेर कम आक्नेहरु विरुद्ध सबैको स्वर एक हुन ढिला भइसक्यो।’
०००
समाजको विभेद हटाउने उद्देश्य बोकेका नेपालका कम्युनिष्ट पार्टी रञ्जुको परिभाषामा ‘नेपाल कम्युनिस्ट पुरुष पार्टी’ हुन्।
नेकपाको केन्द्रीय सचिवालयमा एक जना पनि महिला छैनन् स्थायी कमिटीमा जम्मा दुई जना महिला छन्। ६ वटा प्रदेशमा मुख्यमन्त्री बनाउँदा एक जना महिला पनि अटाएनन्।
‘त्यसकारण मैले त्यो पार्टीलाई नेपाल कम्युनिस्ट पुरुष पार्टी भन्ने गरेको छु।’
पदाधिकारीमा महिलालाई नराखिनु, निर्णायक समितिमा महिलाको सहभागिता शून्य प्राय हुनु ठुला पार्टीका नेतृत्वमा महिलालाई राजनीतिमा आउन निरुत्साहित गर्ने रणनीति रहेको उनको ठम्याई छ।
‘राजनीति पुरुषले पुरुषका लागि मात्र बनाएको क्षेत्र हो त ?’ उनले प्रश्नसँगै उत्तर पनि दिइन्‘ हैन।’
तर यो सोच बदल्न भने कठिन छ। यसका लागि कम्पन दिन भने ढिलाइ भएको उनले पुन दोहोर्याइन। जबसम्म महिलाले राजनीतिक दलमा आफ्नो उपस्थिति दह्रो बनाउन सक्दैनन् तबसम्म निगाहमै भर पर्नुपर्ने अवस्थाको अन्त्य नहुने निष्कर्ष सुनाउँदै उनले भनिन्‘परिवर्तन मुखले भनेर मात्रै सम्भव छैन। हरेक राजनीतिक परिवर्तन कम्पनको परिणाम हुन्। अब राजनीतिमा महिलाको उपस्थितिलाई बलियो बनाउने हो भने त्यहाँ पनि कम्पन ल्याउन जरुरी छ।’
०००
दक्षिण एसियाको राजनीतिक पृष्ठभूमि हेर्ने हो भने पारिवारिक पृष्ठभूमिबिना नेतृत्वको अवसर विरलै छ। भारतको इन्दिरा गान्धी भनौँ या पाकिस्तानको बेनजिर भुट्टो।
नेपालमै पनि राष्ट्रपति विद्यादेवी भण्डारीको पृष्ठभूमि यदि मदन भण्डारीसँग नजोडिएको भए अहिलेको सफलता सम्भव थियो र?
उपप्रधानमन्त्री बनेकी काँग्रेस नेतृ शैलजा आचार्य पूर्व प्रधानमन्त्री बिपी कोइरालाकी भान्जी हुन्। उपप्रधानमन्त्री बनेकी सुजता कोइराला पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी।
‘दक्षिण एसियाको राजनीतिलाई पारिवारबादले गाँजेको छ। पारिवारिक पृष्ठभूमि छैन भने क्षमता सुहाउँदो जिम्मेवारी पाउन गाह्रो छ,’ उनले भनिन्‘ महिलाको आर्थिक पहुँच पनि कमजोर छ। पारिवारिक पृष्ठभूमि नभई राजनीतिमा अगाडि बढ्न कठिन छ नेपालमा।’
उनको बुझाइमा कठिनाइ चिर्ने बाटो बाध्यकारी कानुनी प्रावधान र कानुनी प्रावधानको कडा अनुगमन मात्रै हो। ३३ प्रतिशत महिला अनिवार्य भन्ने कानुन भए पनि दलले विभिन्न बहानामा त्यसलाई छल्छ। अनि अनुगमन गर्ने निर्वाचन आयोग पनि मौन बसिदिन्छ।
कसैले कमेन्ट गरे‘महिला ट्वाउँ ट्याउँ गर्छन्’ भन्यो पुग्यो। न त्यही दलका महिला नेतृले प्रतिवाद गर्ने आँट गर्छन् न समाजले नै त्यसलाई आफ्नो अस्तित्वसँग जोडेर हेर्ने दृष्टिकोणको विकास भएको छ। जसलाई पर्यो उसैको मात्र समस्या हो भन्ने साँघुरो सोचले समेत कानुनले अवसरको निर्माण गरे पनि उपयोग हुन सकेको छैन।
‘कानुनले बाध्य नगरेसम्म क्षमतै नभएका महिलाले ‘आफ्नो भाग’ खान आए भन्ने पुरुषवादी चिन्तन पराजित गर्न सकिँदैन,’ उनले भनिन्।
उनले तेहराइन‘अब परिवर्तन गर्ने हो भने कम्पन जरुरी छ।’
फागुन २४, २०७७ सोमबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।