एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रमुख निर्वाचन आयुक्तले दिए तीन विकल्प 

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रमुख निर्वाचन आयुक्तले दिए तीन विकल्प 

काठमाडौं : सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम ऋषि कट्टेललाई दिँदै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणलाई पुरानै अवस्थामा फर्काएपछि यी दलको अवस्था के हुन्छ ? निर्वाचन आयोग निर्णायक हुने भएको छ।

यसअघि नेकपाको आधिकारिक समूह को भन्ने मात्र समस्या थियो। सर्वोच्चको परमादेशपछि कानुनी जटिलताहरू बढेका छन्।

परमादेशसँगै आयोगमा एमाले र माओवादी केन्द्रको नाममा दर्ता भएका नयाँ दलको हैसियत के हुने ? नेकपाबाट राष्ट्रियसभा तथा प्रतिनिधिसभाको उपचुनावबाट जितेका जनप्रतिनिधि कुन पार्टीको मानिने लगायतका जटिलता थपिएको छ।

अब आयोगले के गर्छ ? उकेरासँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन विकल्प अघि सारे।

१. एकीकरण गर्ने 

सर्वाेच्च अदालतको परमादेशले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)लाई साबिकको अवस्थामा फर्कायो।

अब यी दुई दललाई एकीकरण गर्न फेरि बोलाउने। र, पहिलेकै अवस्थामा अभिलेखीकरण गर्ने।

२. सोही नामका दुई दलको नाम र चुनाव चिह्न बदर गर्ने

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपछि सोही नामका दुई दल (नेकपा माओवादी केन्द्र र नेकपा एमाले) दर्ता भएका छन्। अब ती दुवै दललाई अर्काे नाम प्रस्ताव गर्न दिने। र, चुनाव चिह्न पनि अर्काे दिने। 

३. दफा ९ र १० बमोजिम एकीकरणका लागि बोलाउने

सर्वाेच्चको परमादेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतिए। अब यी दुई दलले एकीकरण गर्न चाहे राजनीतिक दलसम्बन्धी ऐनको दफा ९ र १० बमोजिम फेरि एकीकरणका लागि बोलाउने। तर, नयाँ नाम लिएर। 

फागुन २३, २०७७ आइतबार २२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।