प्रतिनिधि सभा बैठकको कार्यसूची : अविश्वास प्रस्तावको सम्भावना कति?

प्रतिनिधि सभा  बैठकको कार्यसूची : अविश्वास प्रस्तावको सम्भावना कति?
फाइल तस्विर

काठमाडौँ : सङ्घीय संसद् सचिवालयले आइतबार दिउँसो ४ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ। बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।

यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको ब्यहोरा सभामुखले पढेर सुनाउने सम्भावित कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। 

तेस्रो नम्बरमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन्। नियमावलीको उपनियम १ मा सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रत्येक अधिवेशनको प्रारम्भमा बढीमा सात जना सदस्यलाई मनोनीत गर्न सक्ने व्यवस्था छ। 

सभामुखले नियमावली अनुसार सदस्यहरूको मनोनयन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको छ। 

यस्तै गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ सम्बन्धी तीन वटा अध्यादेश २०७७ पेस गर्नेछन्। सम्भावित कार्यक्रम अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी अध्यादेश २०७७ पेस गर्नेछन्। 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग अध्यादेश २०७७ पेस गर्नेछन्। 

गत असार १८ गते प्रतिनिधि सभा अधिवेशन अन्त्य भएपछि संसद्का दुई जना बहालवाला र १२ जना पूर्व सदस्यको निधन भएको छ। भोलिको बैठकको अन्तिममा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यक्रम राखिएको छ। 

भोलि अधिवेशन आव्हान भएकै दिन भएकाले अन्तिममा शोक प्रस्ताव राखिएको संसद् सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिए। ‘संसद् चलिरहेको हुन्थ्यो भने शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुन्थ्यो,’ उनले उकेरासँग भने,‘पहिलो दिनको बैठकमै अधिवेशन आव्हानको पत्र, मन्त्रिपरिषद् गठन, अध्यादेशहरू पेस गर्नु पर्ने भएकाले शोक प्रस्ताव अन्तिममा राखिएको हो।’

भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुन कोरोना खोप लगाउनु पर्ने नियम अनुसार २५५ जना सांसद र ९८४ जना सचिवालयका कर्मचारी लगायत अन्यले खोप लगाइसकेका छन्। प्रतिनिधि सभामा २७५ जना सांसद छन्। 

प्रतिनिधि सभा विघटन अघि या पछि भन्ने विवादमा रहेको पुस ५ गते संसद्मा दर्ता भएको भनिएको प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव सम्भावित कार्यसूचीमा राखिएको छैन। 

सभामुखसँग परामर्श गरेरै सम्भावित कार्यसूची बनाइएकाले भोलि नै अविश्वासको प्रस्ताव पेस हुने सम्भावना नहरेको सङ्घीय संसद् सचिवालयका सचिव गोपाल नाथ योगीले बताए। तर, सभामुखले सम्भावित कार्यसूचीमा हेरफेर गर्न भने सक्नेछन्।

फागुन २२, २०७७ शनिबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।