मोतीपुर औद्योगिक क्षेत्रका स्थानीयको गुनासो– राज्यले उठीबास लगाउन खोज्यो

मोतीपुर औद्योगिक क्षेत्रका स्थानीयको गुनासो– राज्यले उठीबास लगाउन खोज्यो

बुटवल : सरकारले रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास तयारी गरिरहँदा त्यहाँका स्थानीय भने तत्काल शिलान्यास गर्न नहुने पक्षमा थिए। 

उनीहरू चाहान्थे– सरकारले औद्योगिक क्षेत्रको शिलान्यासअघि यहाँका स्थानीयको वैकल्पिक बासस्थान र जग्गाको व्यवस्था गरोस्। तर, सरकारले उनीहरूका मागको सुनुवाइ गरेन। 

त्यसपछि स्थानीय संघर्ष समितिले गत बिहीबार पत्रकार सम्मेलन गरेर औद्योगिक क्षेत्रको शिलान्यासअघि स्थानीयको वैकल्पिक बासस्थान तथा जग्गाको व्यवस्था गर्न माग गर्याे। 

तैपनि सरकार स्थानीयको मागलाई बेवास्ता गर्दै शिलान्यासको तयारीमा लाग्यो। 

००० 

माग सम्बोधनबिनै सरकारले शुक्रबार औद्योगिक क्षेत्र शिलान्यास गर्ने तयारी थालेपछि आक्रोशित थिए स्थानीय। त्यसकारण उनीहरूले शिलान्यासमा अवरोधको प्रयास पनि गरे।

उनीहरूले औद्योगिक क्षेत्रको शिलान्यासका लागि जाँदै गरेका अर्थमन्त्री विष्णु पौडेलको गाडीलाई लक्षित गरी ढुंगा प्रहार गरे। यस्तै, स्थानीयले सरकार र अर्थमन्त्री पौडेलविरुद्ध नाराबाजी पनि गरे। 

तैपनि शिलान्यास रोकिएन। अर्थमन्त्री पौडेलले सुरक्षाकर्मीको घेराबीच औद्योगिक क्षेत्रको शिलान्यास गरे। 

शिलान्यासपछि त्यहाँ राखिएको शिलालेख स्थानीयले भत्काए। 

०००

मोतीपुर औद्योगिक क्षेत्रका स्थानीयले सरकारले आफूहरूका मागलाई बेवास्ता गर्दै औद्योगिक क्षेत्रको शिलान्यास गरेको आरोप लगाएका छन्। 

स्थानीय संघर्ष समितिका संयोजक रामप्रसाद पाण्डेले औद्योगिक क्षेत्रका स्थानीयका लागि वैकल्पिक बासस्थानको प्रबन्ध नमिलाई सस्तो लोकप्रियताका लागि सरकारले औद्योगिक क्षेत्रको शिलान्यास गरेको आरोप लगाए। 

सरकारले औद्योगिक क्षेत्रको जबरजस्ती शिलान्यास गरेर त्यस क्षेत्रमा बसोबास गर्नेहरूको उठीबास लगाउन खोजेको उनको भनाइ छ। 
‘राज्यले जनताको गास, बास र कपासको ग्यारेन्टी गर्नुपर्ने ठाउँमा उल्टै गास–बास खोस्ने षड्यन्त्र गर्याे,’ उनले दुखेसो पोखे। 

त्यसकारण औद्योगिक क्षेत्रको निर्माण गर्न नदिने उनले चेतावनी दिए। ‘हाम्रो माग पूरा हुनै पर्छ। हामी त्यसै छोड्नेवाला छैनौं,’ उनले भने। 

शुद्धोधन गाउँपालिका–३, सखुवानी, बेतही र बेतहानीको १२० बिघा जग्गा औद्योगिक क्षेत्रमा पर्छ। 

उक्त क्षेत्रमा घर र जग्गा भएकालाई वैकल्पिक व्यवस्था गरिनु पर्ने संयोजक पाण्डेको माग छ। 

‘जग्गा दलालीको वातावरण बनाउन हतारमा शिलान्यास’

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दाहाल–नेपाल पक्षका नेता तथा सांसद् घनश्याम भुसालले जग्गा दलालीको वातावरण बनाउन सरकारले हतारमा औद्योगिक क्षेत्रको शिलान्यास गरेको आरोप लगाए।

औद्योगिक क्षेत्र शिलान्यासपछि प्रेस विज्ञप्ति जारी गर्दै नेता भुसालले स्थानीयको माग पूरा नगरी उनीहरूमाथि लाठी बर्साएर औद्योगिक क्षेत्र शिलान्यास गरिनु दुःखद् भएको बताए। 

प्रतिनिधिसभाको चुनावमा अर्थमन्त्री पौडेलले स्थानीयको समस्या समाधान गरेर मात्रै औद्योगिक क्षेत्रको काम सुरु गर्ने बताए पनि अहिले त्यसलाई बेवास्ता गरेको रूपन्देही–३ का सांसद् भुसालले आरोप लगाए।

करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिएर तथा वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरेर राजनीतिक प्रचारका लागि शिलान्यास गरिएको विज्ञप्तिमा उल्लेख छ। 

‘वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीय बासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अघि बढाउने विषयमा उद्योग मन्त्री, औद्योगिक व्यवस्थापन लि।का अधिकारीहरूसँग भएको सहमतिसमेत तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरूले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नांगो नाच नाचेका छन्, त्यसको हिसाब किताब हुने नै छ,’ पूर्वमन्त्री भुसालले भनेका छन्।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दाहाल–नेपाल समूहका रूपन्देही अध्यक्ष राजु गुरुङ तथा सचिव निर्मल जिसीले पनि विज्ञप्ति निकाल्दै प्रहरी दमनका बीच औद्योगिक क्षेत्र शिलान्यास गरिएको भन्दै विरोध जनाएका छन्। 

फागुन २२, २०७७ शनिबार ०२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।