मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न गएका अर्थमन्त्रीको गाडी लक्षित ढुङ्गा प्रहार

मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न गएका अर्थमन्त्रीको गाडी लक्षित ढुङ्गा प्रहार

बुटवल : स्थानीयवासीको विरोध र ढुङगामुढाकाबिच रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गरिएको छ। रुपन्देहीमा विभिन्न परियोजनाको शिलान्यास कार्यक्रममा सहभागी अर्थमन्त्री विष्णु पौडेलले स्थानीयको बिरोधकाबिच जवर्जस्त रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गरेका हुन्।

आफूहरूले भोग चलन गर्दै आएको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए। स्थानीयले शिलान्यास गर्न लागिएको स्थानमा पत्रकार सम्मेलन गर्दै रोक्न माग गरेका थिए। स्थानीयको आग्रहलाई बेवास्ता गर्दै आयोजनाले मञ्च बनाएपछि स्थानीयले उक्त मञ्च भतकाईदिएका थिए। 

शिलान्यास गर्न लागिएको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी मञ्च निर्माण गरिएको थियो भने कडा सुरक्षा घेराकाबिच औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ। 

शिलान्यासका लागि अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आएपछि स्थानीय प्रदर्शनकारीलाई प्रहरीले लखेटेको थियो। सो क्रममा अर्थमन्त्री पौडेलको गाडीलाई लक्षित गरी ढुङ्गा प्रहार भएको थियो।

औद्योगिक क्षेत्र पीडित स्थानीयलाई वैकल्पिक व्यवस्था नगरी औद्योगिक कोरिडोरको शिलान्यास नगर्न बारम्बार आग्रह गर्दा नमानेकोले बाध्य भएर विरोधमा उत्रिनु परेको स्थानीयले बताएका छन्। 

सङ्घर्ष समितिका संयोजक रामप्रसाद पाण्डेले राज्यले कथित सुकुम्वासीलाई जथाभाबी जग्गा बाँड्न हुने तर हामीलाई व्यवस्था गर्न किन नहुने भन्दै आफूहरूको बासको ग्यारेन्टी नहुँदा सम्म शिलान्यास नगर्न आग्रह गरिएको बताए। 

उनले भने, ‘गाँसबास कपासको ग्यारेन्टी राज्यले गर्नुपर्ने ठाउँमा झन् गाँसबासै उठाउने षडयन्त्र किन भयो, हाम्रो माग पुरा हुनै पर्छ, हामीले त्यसै छोड्नेवाला छैनौँ।’

शुद्धोदन गाउँपालिका– ३ का सखुवानी, बेतही र बेतहानीमा २ सय घर र करिब ३ सय जनाको खेत गरी १२० बिघा जग्गा औद्योगिक क्षेत्रमा पर्ने भएकाले वैकल्पिक व्यवस्था गरिनुपर्ने पाण्डेले बताए ।

यसअघि फागुन १३ गते शिलान्यास कार्यक्रम राखिएको थियो। स्थानीयको विरोधपछि अर्थमन्त्रीको समय अभावको कारण देखाउँदै कार्यक्रम २१ गतेलाई सारिएको थियो।

फागुन २१, २०७७ शुक्रबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।