चलचित्र ‘आँधी तुफान २’को निर्माण घोषणा
काठमाडौं : चलचित्र ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ।
राजधानीकाे काठमाडौं मलस्थित डाड्युपन्यु रेस्टुरेन्ट आयोजित एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गरिएको हो।
१६ वर्षअघि निर्माण भएको चलचित्र ‘आधी तुफान’को सिक्वेलको रूपमा चलचित्र निर्माण हुन लागेको हो।
मदन घिमिरेको निर्देशन रहने उक्त चलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला लगायतले अभिनय गर्ने छन्।
कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणा, वितरक निर्माता गोपाल कायस्थ, निर्माता तथा चलचित्र वितरक सुशील पोखरेल लगायतले चलचित्रको सफलताका लागि शुभकामना दिए।
चलचित्रमा नारी एक्सनसँगै थ्रिलर र सस्पेन्स रहने निर्देशक मदन घिमिरेले बताए।
चलचित्रकाे छायांकन आगामी चैतको पहिलो साताबाट सुरु हुनेछ। उक्त चलचित्रलाई रामशरण उप्रेतीले खिच्दै छन्।
चलचित्र ‘आँधी तुफान’का कलाकार तथा निर्देशक दोस्रो चलचित्रमा छैनन्। ‘आँधी तुफानको निर्देशन महेन्द्र बुढाथोकीले गरेका थिए। उक्त चलचित्रमा पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने लगायत कलाकारको मुख्य भूमिका थियो।
फागुन २०, २०७७ बिहीबार २३:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।