टर्की पुगेर फर्किएकी एक युवतीको त्रासद अनुभव : धेरै कमाउने लोभमा १६ हजारमा बेचिएँ 

टर्की पुगेर  फर्किएकी एक युवतीको त्रासद अनुभव :  धेरै कमाउने लोभमा  १६ हजारमा बेचिएँ 

काठमाडौँ : रोजगारीको लोभमा आमासँगै टर्की पुगेकी सीमा(नाम परिवर्तन) ले जब आफू बेचिएको चाल पाइन् त्यहाँ बस्नै सकिनन्। अनेक गरेर उनी मङ्सिर ८ मा नेपाल फर्किइन्। 

उनलाई नेपाल फर्कन काकाले सघाएका थिए। काकाले वैदेशिक रोजगार बोर्डमा उजुरी दिएपछि उनी नेपाल फर्कन पाएकी थिइन्। उनी त फर्किइन् तर आमा उतै परिन्।

अनेक गर्दा पनि फर्कन नपाउने भएपछि उनको आमाले उनलाई रोजगारको प्रलोभनमा पारेर टर्की पूर्याउनेले नेपालीलाई ‘सिलिन्डर पड्काएर मर्छु’ भनेपछि बल्ल पुस २६ मा उनी पनि नेपाल आउन पाइन्।

अहिले यी आमा–छोरी दुवै जनाले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन्। उनीहरूले उजुरीमा जीवन भट्ट, पूर्णिमा बस्नेत, स्तानाबुल बस्ने लक्की सिंह र जानुका लामा घिसिङविरुद्ध उजुरी दिए।

प्रहरीले दुई जीवन भट्ट र पूर्णिमा बस्नेतलाई पक्राउ गरिसकेको छ  ।

ब्युरोका प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार ‘ निवेदनमा उनीहरूले असोज २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्की एयरलाइन्सबाट टर्की पुर्याएर बिक्री गरेको उल्लेख गरेका छन्। उजुरीसँगै आएका प्रमाणहरू केलाउँदा उनीहरूको दाबी सत्य देखिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाउँदै दुई जनालाई पक्राउ गरेको उनले बताए।

जीवन सहज हुने आसमा टर्की पुग्दा बेचिएका आमा–छोरीमध्ये छोरीले उकेरासँग बाँडेको त्रासद अनुभव :

धेरै कमाउने लोभमा बेचिएँ 

मेरो बाबा गंगबुमा नयाँ नेपाल यातायातको काउन्टरमा अध्यक्षको रूपमा काम गर्नुहुन्थ्यो। बाबा र ममी भएर नयाँ बसपार्कभित्र गार्डेन रेस्टुरेन्ट चलाउनु भएको थियो। रेस्टुरेन्ट राम्रैसँग चलेको थियो। ४/५ वर्ष अघि बसपार्क क्षेत्रमा नगरपालिकाले घरहरू हटायो।

रेस्टुरेन्ट पनि हट्ने भयो।  त्यसपछि ममी र म मिलेर बुढानीलकण्ठमा फेन्सी पसल खोल्यौँ। बाबाले काउन्टरमै काम गर्नुभयो।

हाम्रो घरको आर्थिक अवस्था राम्रै थियो। २०७४ भदौ ११ मा अकस्मात् बुबा स्कुटर दुर्घटनामा पर्नुभयो। राती ११ बजे ममी वीर अस्पताल जानु भयो। अस्पताल पुग्दा त बाबा बोल्न नसक्ने हुनुन्थ्यो रे।

उहाँलाई ग्राण्डी पनि पुर्याउनु भएछ। त्यहाँ सिट खाली नभएपछि ट्रमा सेन्टर पुर्याइयो। तर भोलिपल्ट बाबाको निधन भयो। 

बाबाको काम र हाम्रो पसल राम्रोसँग चलिरहेको थियो। म पनि पढ्दै थिएँ। भाइ– बहिनी पढ्दै थिए। बाबाको निधनपछि हाम्रो दुखका दिन सुरु भयो। 

बाबाको निधन शङ्कास्पद लाग्यो। किनभने केही दिन अघि हाम्रा बुबालाई मार्ने धम्की आएको थियो। ममीले दरबारमार्ग प्रहरी कार्यालयमा निवेदन दर्ता गर्नु भयो। त्यसपछि फोनमा धम्की आउन थाल्यो।

०००

टर्कीबाट ग्रिस जानेक्रममा जंगलमा सुतेका नेपाली

दुई वर्ष यसै बित्यो। घरको आर्थिक अवस्था ध्वस्त भयो।

बाबा नभएपछि भाइबहिनीलाई पढाउने जिम्मेवारी मेरो भयो। अनि म कतार गएँ।

दुबईमा एक वर्ष बसेँ। यहाँ नाम चलेकै म्यानपावरबाट गएकी थिएँ। पहिलो वर्ष ठिकै थियो। दोस्रो वर्ष बस्न मन लागेन। घर आएँ। 

ममीले विदेश नै जाऊँ अब। यहाँ त न्याय पनि नपाइने भयो भन्नुभयो। आर्थिक अवस्था पनि धान्न सकिएन। बाबाको निधनपछि ममी फ्रस्टेसन हुनुहुन्थ्यो । 

जग्गा बेचेर आठ लाख बुझाइयो 

कोरोनाको लकडाउनभन्दा अघि जानुका घिसिङ दिदीले युरोपियन देश जाने भए मैले मान्छे चिनेको छु, टर्की पठाइदिन्छु भन्नुभयो। हामीले उहाँलाई पहिलेदेखि नै चिनेका थियौँ। जानुका दिदीले पूर्णिमा बस्नेतलाई भेटाइदिनुभयो। 

पूर्णिमा दिदीले मेरा श्रीमान् पनि उतै काम गर्छन्, हाम्रो म्यानपावर कम्पनी पनि उतै छ, तिमीहरूलाई केही फरक पर्दैन भन्नुभयो। दुई–तीन चरण कुरा भयो।

उहाँहरूले हामी आमा–छोरीकै तलब ८० देखि ९० हजार हुन्छ, फ्री भिसा, फ्री टिकटको व्यवस्था छ अनि कम्पनीले नै खान–बस्न दिने व्यवस्था भएको बताउनुभएको थियो।

यति सुनेपछि लाग्यो अब हाम्रो दिन फिर्नेछन् । बिचमा दुई जनाको आठ लाख रुपैंया लाग्छ भन्नुभयो पूर्णिमा दिदीले।

मलाई कता कता यो कुरामा विश्वास लागेन। शङ्का लाग्यो। पहिलो चोटि नाम चलेकै म्यानपावर कम्पनीबाट विदेश गएकी थिएँ। मैले उहाँहरूलाई म्यानपावर कम्पनी कहाँ छ भनेर सोधेँ। 

उहाँहरूले टर्कीको राजदूतावास नेपालमा नभएको हुँदा गुरुदेव मेडिकल मार्फत काम भइरहेको बताउनुभयो। गंगबुमा रहेको गुरुदेव मेडिकलमा मेडिकल टेस्ट गराइयो। 

उनीहरूले हाम्रो फोटो र आवश्यक केही कागजात लिएका थिए। भिसा आइसक्यो भनेर टर्कीको कार्ड देखाए। हामीसँग एक लाख मागेँ। कार्ड बनेपछि हामीलाई विश्वास लाग्यो। भिसा लागेकै हो भन्ने भएर पैसा बुझाइयो। 

पूर्णिमा बस्नेतले हामीलाई प्रहरी रिपोर्ट र बैङ्कमा खाता खोल्न पठाइन्। उनले भनेबमोजिम गर्दै गयौँ। पूर्णिमाले नै हामीलाई टर्कीमा रहेका लक्की सिंहसँग कुरा गराइन् । दिनहुँ जसो लक्कीसँग इमो मार्फत कुराकानी हुन थाल्यो। 

पूर्णिमाले लक्की आफ्नो बुबा भएको बताइन्। बारम्बार फोन गरेर लक्कीले ‘तपाईंहरुलाई दुख हुँदैन। बुबा गुमाउनु भएको मान्छे नेपालमा बसेर न्याय पाइँदैन । यतै आएर काम गर्नु भए हुन्छ। भिसा मैले नै लगाउन लगाएर पठाउने हो’ भने।

यति भनेपछि अलि–अलि विश्वास लाग्यो। उनीहरूले भिसा आइसक्या,सबै काम भइसक्यो भन्दै पैसा माग्न थाले।

हामीले टोखाको ४ आना जग्गा ५० लाखमा बेच्यौँ। पैसा बुझाइयो। मेरो ममीको साथीले यत्रो पैसा किन दिएको भन्नुभएको थियो । हामीले फेरी हातैमा पैसा दिएका थियौँ।

पैसा दिएपछि लामो समय फोन आएन। नेपालमा जीवन भट्टराई र पूर्णिमासँगै थिए । उनीहरू त कता बेपत्ता भए कता । गुरु मेडिकल जाँदा त्यहाँ त मेडिकल नै थिएन । 

लक्कीले भने हामीलाई फोन गरिरह्यो। उनले ‘तिमीहरू चुप लागेर बस सबै काम भइरहेको छ’ भनेर सम्झायो । दसैँअघि श्रम कार्यालय खुलेको थाहा भयो। जीवन भट्टले सबै कागजात बनाएर ल्याए । 

दोस्रो दिनमा नै हिंसामा 

सबै कागजात बनाएपछि त हामी विश्वस्त भयौँ। असोज २२ गते सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ। त्यहाँबाट टर्की एयरलाइन्सबाट सिधै टर्की पुग्यौँ।

हामीलाई लक्कीका मान्छे लिन आए। हामीलाई सिधै स्तानाबुलको लक्कीकै घरमा पुर्याइयो। त्यहाँ हामी जस्तै नेपालीहरूलाई तीन वटा कोठामा राखिएको रहेछ। 

हप्ताको १ सय लिरा खाना बापत लक्कीलाई बुझाउनु पर्थ्यो। स्तानाबुलको टाक्सीम सहरको इलाइट होटेलमा काम हुन्छ भनिएको थियो। तर टर्की पुगेको भोलिपल्ट नै त्यो होटेलमा काम गर्न ल्याइएको हैन भन्ने थाहा भयो।

मैले लक्कीलाई किन झुट बोल्नुभएको मलाई नेपाल फर्काइदिनु भने। उसले यहाँ आइसकेपछि के नेपाल फर्किन्छौँ भनेर टाक्सीमभन्दा एक घण्टा परेको होटेलमा काम लगाइदियो। 

पुग्नै १ घण्टा लाग्थ्यो । बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म काम गर्नुपर्थ्यो। काम पनि यति की खाने फुर्सद समेत हुँदैनथ्यो । त्यति धेरै काम गर्ने ठाउँ मैले आजसम्म देखेको छैन। 

दोस्रो दिन म काममा गएँ । मलाई काम सिकाउने मेरो हजुरबुबाको उमेरको मान्छे थियो। उसले त मलाई पछाडिबाट ‘ब्याड टच’ ग¥यो। वरपर कोही पनि थिएनन् । एकदमै गाह्रो भयो। 

ब्याड टच मात्रै हैन,उसले त मलाई घिसार्दै ट्वाइलेटतिर पो लग्यो। मैले सक्दो प्रतिकार गरे। त्यसपछि खै के सोचेछ उसले मलाई त्यत्तिकै छाडिदियो । 

बिहान ९ बजेतिरको समय थियो। गेस्ट कोही थिएनन्। मलाई एकदमै डर लाग्यो। 

बिहानको समयमा त्यो र म मात्रै हुन्थ्यौँ। पर–पर भएर काम गरिरहेँ। ११ बजे देखि गेस्टको चहल पहल भयो। अलि डर कम भयो तर दिउँसोभरि झस्किरहेँ। 

बेलुकी आमालाई भनेँ । केही नेपालीलाई यो घटनाबारे सुनाए। उनीहरूले त उल्टो जिस्काउने तरीकाले ‘अरू त केही गरेन नि’ भने।

मलाई काम लगाइदिने दाइँलाई म काम गर्न सक्दिन भनेँ । तर खान पर्ने अनि लक्कीलाई पनि पैसा दिनुपर्ने भएकाले काम छाड्न सकिन।

तर पछि के भयो कुन्नि त्यो बुढो मान्छे परिवर्तन भयो। मलाई त्यसपछि नराम्रो गरेन। 

२ हजार लिरामा बेचिएछु 

त्यो होटेलमा जम्मा २० दिन काम गरेँ। २० दिनपछि त्यहाँ लकडाउन भयो।सबै नेपालीलाई कामबाट निकालियो। म पनि त्यसैमा परेँ। कामबाट निकालिएपछि मलाई स्पामा काम गर्न भनेर लगियो । स्कायन्दरमा मलाई पुर्याइयो। 

प्लेनबाट लगेका थिए।स्पामामा पनि नेपाली दिदीबहिनी रहेछन्। उनीहरूले त मलाई देख्ने बितिक्कै ‘किन आएको यहाँ हामी त भोलि जान लागेको’ भने। 

त्यही स्पाबाट ५ जना जेल पनि परेका रहेछन्। म पनि भिसाको मिति सकिएर गैर कानुनी भइसकेको थिएँ  त्यो सहरमा त म जानै पाउँदैनथेँ। पछि मात्रै थाहा पाएँ मलाई त त्यहाँ २ हजार लिरा (नेपाली १६ हजार)मा पो बेचिएको रहेछ।

भोलिपल्टै मलाई काम लगाउने दाइँलाई फोन गरेर सबै कुरा भनेँ। लक्कीलाई पनि भनेँ। उसले त ‘हैन त्यही काम गर’ भनेर पो दबाब दिन थाल्यो। म फेरी स्तानबुल फर्किए। 

स्तानबुल फर्किएपछि फेरी त्यही दुख। केटाकेटी सुत्ने कोठा एकै थियो। मलाई छुट्टै कोठामा राखिदिनु भन्दा पनि मानेन। नेपाल फर्किने कुरा गरेँ। उसले घर नफर्कन दबाब दिइरह्यो । 

जेलमै सडाइदिने धम्की

यता मेरो काकाले बैदेशिक रोजगार बोर्डमा उजुरी दिनुभएछ। मैले एनआरएनएको अध्यक्षलाई पनि सम्पर्क गरेको थिएँ। उहाँलाई मैले म बेचिएको कुरा बताएकी थिएँ ।

लक्कीले हामीलाई यसरी राखेको छ भन्दा लक्कीको नाम लिनै चाहनुभएन उहाँले। उहाँले त मलाई लक्कीको नाउँ नलिऊ तिमीलाई काम लगाइदिने मान्छेको नाम पो लिउ भन्नुभयो। जब की हामीलाई बेच्ने मुख्य योजनाकार लक्की नै थियो।

एनआरएनको अध्यक्ष देखेर सक भए

सांकेतिक तस्बिर

म स्कयान्दुरमबाट फर्किएर आएपछि दुई दिन मिटिङ बस्यो। मिटिङमा एनआरएनका अध्यक्ष उज्ज्वल घिसिङ पनि हुनुहुन्थ्यो । म त उहाँलाई देखेपछि सक भएँ। मैले उहाँलाई दसैँमा लक्की सिंहको घरमा देखेको थिएँ। त्यहाँ त्यस्तो पीडित मान्छे हुँदा नि किन केही नगर्नु भएको भन्दा उजुरी आए मात्रै हामीले काम गर्ने हो। अरूको घरमा के राखेको छ खोज्दै हिँड्ने हैन भन्नुभयो । 

त्यहाँ लक्कीकै मान्छे ल्याइएको रहेछ। उहाँहरूले त मलाई यही काम राम्रो छ, किन जान्छौँ, नजाऊँ भनेर मलाई सम्झाउन पो थाले। घिसिङले पनि धेरै पैसा तिमीलाई किन चाहियो गाडी भाडा र लुगा भए पुगिहाल्छ नि भन्नुभयो।

मिटिङ सकिएपछि त एक्लै भएको बेला लक्कीले नेपाल जाने कुरा नगर जेलमै सडाइदिन्छु पो भन्न थाल्यो। यति बेलासम्म मेरो काकाले बोर्डमा उजुरी दिएकाले मलाई नेपाल फर्काउन दबाब बढेको थियो।

आखिरमा मङ्सिर ८ मा म नेपाल फर्किए।

म नेपाल फर्किए पनि आमा फर्किनु भएको थिएन। भाइ ३ वर्षको छ। उसले दिदी, ममी कहिले आउने भन्दा मेरो मन भरिन्थ्यो। ममीलाई ल्याउन बैदशीक रोजगार बोर्डदेखि अन्य निकाय धाएको धायै गरेँ। केही सिप लागेन । उता ममीले ग्रिसमा लैजाँदा पाएको दुख भन्न थाल्नुभयो। चार चोटि त प्रहरीको फन्दामा नै पर्नुभएछ। 

(उनको आमा घरमै आराम गरेर बसेकाले भेट हुन सकेन । उनीसँगै अर्का एक युवा भेटिए। उनले दुख सुनाउन थाले।)

राती जगंलमा हिँड्ने, दिउँसो जगंलमै प्लास्टिक बेह्रिएर सुत्ने

सीमाको आमा र म एक चोटिसँगै सँगै पर्याै । उनको आमा ग्रिस जान ४ पटक प्रयास गरिन्। स्तानबुलबाट ट्याक्सीमा राखेर ग्रिसको बोर्डरमा पुर्याउथे। डुगांबाट नहर तारिन्थ्यो। कति त त्यही डुब्थे। त्यो नहर पनि हाम्रो कोसी नदी भन्दा ठुलो थियो। त्यो तरेपछि हामीलाई जगंलको बाटो हिँडाइन्थ्यो। तर जगंलमा राती मात्रै हिँडाउँथ्यो । 

राती हिँडाउने अनि दिउँसो प्लास्टिक बेरेर सुताउने। प्लास्टिक बेह्रिएन भने त चिसोले उठ्नै सकिँदैनथ्यो। हात पुरै अररो हुन्थ्यो। 

५ दिन हिँडाएपछि फेरी ग्रिसको कुन ठाउँ पुगिएछ कुन्नि, हामीलाई त प्रहरीले पक्राउ गर्यो। प्रहरीको आँखा छलेर अरू नै ठाउँमा पुर्याउने भन्थे। तर म एक चोटि र उहाँको ममी ४ चोटि प्रहरीको फन्दामा पर्यायै। बाटोमा हिँड्दा शवहरू देख्थ्यौँ। 

शव देख्दा उनको ममी डराउनुहुन्थ्यो। प्रहरीले उनको ममीलाई पक्राउ गरेर पैसा नदिए जे पनि हुन्छ भनेपछि पाँच सय लिरा दिनुपरेको थियो।

बाटोमा एक नेपालीको खुट्टा काटिएर बसेका थिए। उनले ‘मलाई बचाउनुस्’ भनेर कराइरहेका थिए। त्यो देखेर विरक्त लाग्यो। तर आफैँ बाँच्ने–नबाँच्ने टुङ्गो थिएन, कसरी अरूलाई बचाउनु।

प्रहरीले पक्राउ गरेपछि जेलमा हाल्थ्यो। केटाकेटी एकै ठाउँमा राखेर नागै बनाएर शरीरको चेक गर्थ्यो। लुगा फुकाल्न ढिला गर्यो भने टाउकोमा लात्ताले हान्थ्यो। यो देखेपछि त मलाई कसरी बाच्ने होला भन्ने भयो।

परिवार सम्झिए । ११ लाख ऋण गरेर विदेश पैसा कमाउन गएको थिएँ यसरी पो फसेँ भनेर रुनु रोएँ तर हाम्रो रुवाइ सुन्ने कसले ? 

(बिचैमा उनै युवती बोलिन्)

ममी ४ चोटि ग्रिस आउजाउ गर्नुभएछ । उनीहरूले राख्दा पनि राख्दैनथेँ। लक्की सिंहलाई उहाँले सिलिन्डर पड्काएर मर्छु भनेपछि केही पैसा दिएर नेपाल पठायो।

अहिले हामीले उजुरी दिएका छौँ । केहीलाई पक्राउ गरेको छ प्रहरीले । अब कहिले न्याय पाइन्छ थाहा छैन । 

फागुन २०, २०७७ बिहीबार २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।