बेलहिया नाका अवरोध : नेपाल भारतको असमझदारी हटाउने सहमति
भारतीय बजार सुनौली तर्फ जाँदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले नेपाली महिलामाथि कपडा च्यातिदिएर अभद्र व्यवहार गरेका प्रत्यक्षदर्शी बताउँछन्।
चेक जाँचका नाममा ती महिलाको कपडा च्यातिदिएपछि सिमानाका बेलहियामा झन्डै तीन घण्टा अवरोध भएको थियो। बेलहिया नाकामा पटक पटक भारतीय सुरक्षाकर्मीको ज्यादतीविरुद्ध भन्दै नाकामा अवरोध हुने गरेको स्थानीय बताउँछन्।
भारतीय सुरक्षाकर्मीको ज्यादतीको विरोधमा नाका घेराउ गरेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा भारत महाराजगन्जका सुरक्षा प्रमुख डी.एम र एस.पीले छलफल गरेका थिए।
महिलामाथि भएको अभद्र व्यवहारका विषयमा आवश्यक अनुसन्धान गर्ने छलफलमा सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिए। ‘सीमा क्षेत्रमा देखिएको सामान्य घटनालाई सामान्य ढङ्गले नै समाधान गर्ने गरी समझदारी भएपछि नाकाको अवरोध हटेको छ’ घिमिरेले भने।
उनले इलाका प्रहरी कार्यालय बेलहियामा दुई देशका सुरक्षा प्रमुखको छलफलमा दुई पक्षले आआफ्ना देशमा देखिएका असमझदारी हटाउने सहमति गरिएको बताए।
फागुन २०, २०७७ बिहीबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।