जोगवनी–किमाथांका सडकको ट्रयाक निर्माण पुनः सुरु
ठुला चट्टान र भीर रहेको उक्त खण्डमा नेपाली सेनाले गत शुक्रवारबाट ट्रयाक खोल्न थालेको हो। उक्त खण्डमा ट्रयाक खोल्न गत शुक्रवार ब्लास्ट गरिएको नेपाली सेनाका एक अधिकारीले बताएका छन्।
यसअघि उक्त खण्डमा ठुला भीर र चट्टान रहेकाले ब्लास्ट नगरी ट्रयाक खोल्न सकिएको थिएन। उक्त खण्डमा ट्रयाक खोल्न ब्लास्ट गर्नुपर्ने देखिएपछि सरकारले नेपाली सेनालाई त्यसको जिम्मा दिएको थियो।
२०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले जोगवनी–किमाथांका सडकखण्डको भीर फुटाउने जिम्मा नेपाली सेनालाई दिएको थियो।
उक्त क्षेत्रमा ट्रयाक खोल्न ब्लास्ट गर्नुपर्ने भएकाले लामो समय तयारी गर्नुपरेको सेनाका ती अधिकारीले बताए। ‘अत्यन्त ठुला चट्टान फोर्नुपर्ने भएकाले तयारीमा समय लागेको हो,’ ती अधिकारीले भने, ‘अब तीव्र गतिमा काम हुनेछ।’ ती अधिकारीले ट्रयाक निर्माण तीन वर्षमा सकिने बताए।
नेपाली सेनाका ती अधिकारीले ट्रयाक खोल्नका लागि गत माघ २४ गते सेनाको टोली निर्माण स्थल पुगेको जानकारी दिए।
खाँदबारी–किमाथांकाको दुवैतर्फ ट्रयाक निर्माण धमाधम
उक्त सडकको खाँदबारी–किमाथांका (१६२ किमी) खण्डको दुवै तर्फबाट ट्रयाक निर्माण भइरहेको छ। किमाथांकाबाट १४ किलोमिटर ट्रयाक खोलिइसकेको छ। ट्रयाक खुलेका ठाउँमा गाडी चल्न थालेको छ।
हाल किमाथांकादेखि भोटखोला गाउँपालिकाको गोलासम्म सानो जिप चल्न थालेको र च्याम्ताङसम्म ट्याक्टरले सामान ओसार्न थालेको गाउँपालिका अध्यक्ष तेम्बा भोटे बताउँछन्। गाडी चल्न थालेपछि स्थानीयलाई सहज भएको उनको भनाइ छ।
उक्त खण्डको ट्रयाक निर्माण गर्ने जिम्मेवारी उत्तर–दक्षिण (कोसी) सडक आयोजनाले पाएको छ। चीन र भारत जोड्ने ६ वटा नाकामध्ये किमाथांका छोटो नाका हो।
खाँदबारी–किमाथांकामा ६५ प्रतिशत काम
खाँदबारी–किमाथांका सडकखण्डमा ६५ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख गौतमकुमार श्रेष्ठ बताउँछन्। उक्त सडकखण्डमा ट्रयाक खोल्ने, स्तरोन्नति गर्नेसँगै सब–वे तथा पुल निर्माण धमाधम भइरहेको उनले बताए।
उनका अनुसार उक्त खण्डमा ९ वटा पुल निर्माण भइरहेको छन्। तीमध्ये मकालु–वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ६ वटा पुल निर्माण रोकिएको छ।
मकालु–वरुण राष्ट्रिय निकुञ्जसँग समन्वय नहुँदा निर्माण सुरु गरिएको पुलको काम रोकिएको र तीन वटा पुलको शिलान्यास नभएको आयोजना प्रमुख श्रेष्ठले बताए।
ती पुलको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) नगरी ठेक्का लगाएकाले समस्या देखिएको हो। पुल निर्माणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको आयोजनाले जनाएको छ।
फागुन २०, २०७७ बिहीबार ०७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।