‘गोर्खा वारियर’ नबन्दै ‘गोर्खा वारियर २’ को छायांकन तयारी
काठमाडौं : मिलन चाम्सको चलचित्र ‘गोर्खा वारियर २’ निर्माणको घोषणा गरिएको छ।
काठमाडौका र्याडिसन होटलमा आज (मंगलबार) एक भव्य कार्यक्रम आयोजना गरी चलचित्र ‘गोर्खा वारियर २’ निर्माणको घोषणा गरिएको हो।
चलचित्रको छायांकन यसै साताबाट सुरु गरिने निर्माता तथा निर्देशक चाम्सले जानकारी दिए। चलचित्रमा गोर्खालीहरूको वीरताको कथा समेटिएको निर्देशक चाम्सले बताए।
चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा सुरेश राई र पूर्ण लिम्बु सह–निर्माता हुन्।
लन्डन सिनेआई प्रोडक्शनको प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर वाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राई लगायतको मुख्य भूमिका रहने छ।
अभिनेत्री रेविका गुरुङले चलचित्रको कथावस्तु मन परेकाले अभिनय गर्न राजी भएको बताइन्।
हास्य अभिनेता बुद्धि तामाङले चलचित्रमा गरेको अभिनय दर्शकलाई देखाउन लालयित भएको बताए।
चलचित्रमा मिलन चाम्सको कथा, मिलन र गिरिराज घिमिरेको पटकथा तथा संवाद रहने निर्माण पक्षले जनाएको छ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा अर्जुन बिसीले सम्पादन गर्नेछन्। त्यस्तै, चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन रहने छ। चलचित्रको छायांकन नेपालसँगै मलेसिया र बेलायतमा गरिने निर्देशक चाम्सले जानकारी दिए।
चलचित्रमा शैलेन्द्र खनालको गीत र एलिस कार्कीको संगीत छ। चलचित्रमा राजेश पायल राईको स्वर सुन्न सकिने छ।
कार्यक्रममा निर्देशक चाम्सले यो चलचित्रको ४ वटा सिरिज निर्माण गर्ने बताए। उनले ‘गोर्खा वारियर’ निर्माण केही ढिला भएकाले यसको दोस्रो सिरिज बनाउन लागेको जानकारी दिए।
चलचित्र सन् २०२२ मा प्रदर्शन गरिने निर्देशक चाम्सले जानकारी दिए।
फागुन १८, २०७७ मंगलबार १९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।