‘अभद्र व्यवहार’ प्रहरीको दुख दिने हतियार
काठमाडौँ : बालाजु क्षेत्रमा भइरहेको सडक विस्तारको विरोध गर्दा अभद्र व्यवहारमा पक्राउ परेका आठ जना अभियन्ता सात दिन प्रहरी हिरासतमा बसेपछि रिहा भए। उनीहरू प्रहरी अनुसन्धान सकिएर अदालतबाट रिहा भएका हैनन्। बन्दी प्रत्यक्षीकरणको रिटका आधारमा सर्वोच्चले विना सर्त रिहा गर्न आदेश दिएपछि प्रहरी रिहा गर्न बाध्य भयो।
फागुन १२ गते बालाजु बाइपासमा सूचना केन्द्र बनाउन जस्ताले बारेर काम सुरु भएपछि विरोधको क्रममा महेश्वर श्रेष्ठ, मिन शाही, रुहित श्रेष्ठ, भिमदेव श्रेष्ठ, सञ्जय तामाङ, दिपेन श्रेष्ठ पक्राउ परेका थिए। उनीहरूलाई भेट्न जाँदा सुमन सामयी र विरोचन श्रेष्ठ पक्राउ परेका थिए।
यी आठै जनामाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोप लगायो र अदालतबाट म्याद लिएर हिरासतमा राखिराख्यो। प्रहरीले अनुसन्धान सकाएर प्रस्तावित राय नपठाएकाले मङ्गलवार सर्वोच्चको आदेश नआएको भए उनीहरूको हिरासत यात्रा थप हुने निश्चित थियो।
महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकी‘उनीहरू विरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड, प्रहरीमाथि अभद्र व्यवहारको मुद्दा लगाइएको बताए।
‘उनीहरूले सार्वजनिक सम्पत्ति तोडफोड गरे, प्रहरीलाई चौकी भित्रै आई अभद्र व्यवहार गरे। ’ डिएसपी बुढाथोकीले उकेरासँग भने।
अभद्र व्यवहार जटिल प्रकारको अनुसन्धान गर्नुपर्ने कसुर हैन। तर २५ दिन अनुसन्धानका लागि हिरासतमा राख्न पाउने कानुनी सुविधाको दुरुपयोग गर्दै आएको छ प्रहरीले। यसमा पनि त्यही प्रवृत्ति देखियो।
‘अभद्र’को दुरुपयोग
मुलुकी अपराध संहिताको दफा ११८ ९१० मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न नहुने उल्लेख छ।
कसैले यो बुँदा विपरीत व्यवहार गरे १ वर्षसम्म कैद, दस हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था कानुन कार्यान्वयनको जिम्मेवारी पाएको प्रहरीका लागि भने बदला लिने, शक्तिकेन्द्र रिझाउने हतियार बन्दै आएको छ।
अभद्रको मुद्दामा किन यति लामो समय थुनेको भन्ने जिज्ञासामा डिएसपी बुढाथोकीले भने ‘सामान्यतया २५ दिनसम्म अनुसन्धानको समय हुन्छ। अनुसन्धान गर्नु पर्यो नि।’
‘कस्तो अनुसन्धान रु’ उनले भने‘ मुद्दा चलेपछि प्रमाण अदालतमा पेस गर्नु पर्यो। त्यसकै अनुसन्धान ।’
सर्वोच्चले आठ जनालाई रिहाइको आदेश दिँदा गरेको व्याख्याले पनि प्रहरीले यो कानुनको दुरुपयोग कति गर्छ भन्ने देखाउँछ नै।
प्रहरीले‘भौतिक संरचना तोडफोड गरेको, काम कारबाहीमा बाधा अवरोध पूर्याएको साथै हुलहुज्ज्त गरी कर्मचारीलाई समेत अभद्र व्यवहार गरेकाले कानुन बमोजिम पक्राउ गरी मुद्दा हेर्ने निकायबाट कानुन बमोजिम म्याद लिएर हिरासतमा राखेको दाबी गरेको थियो।
तर सर्वोच्चले‘ कुनै पनि व्यक्तिलाई थुनामा राख्दा कानुनसम्मत, उचित कारणसहित, वस्तुनिष्ठ आधार उल्लेख हुनुपर्नेमा उनीहरूलाई के कस्तो आपराधिक कार्य गरेको भन्ने स्पष्टसँग खुल्न आएको नदेखिएको बतायो।
उनीहरूको पक्राउलाई सर्वोच्चले आफ्नो सम्पत्तिको रक्षार्थ विचार र अभिव्यक्ति व्यक्त गरेको कारणबाट पक्राउ गरेको प्रस्टै उल्लेख गरेको छ। उनीहरूलाई राज्य विरुद्धको के कुन कसुर गरेको भन्ने स्पष्ट नै नगरी पक्राउ पुर्जी दिइएको र म्याद थप माग गर्दा र म्याद थपको आदेश गर्दा समेत सोको स्पष्ट आधार र कारण मिसिल संलग्न कागजबाट खुल्न नसकेको भन्दै‘अनुसन्धानकोक्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो।
यो घटनाको प्रकृतिले पनि प्रहरीले कानुन कार्यान्वयनको नियत भन्दा सडक विस्तारको विपक्षमा रहेकाहरूको मनोबल गिराउन अभद्र व्यवहारको कानुनी प्रावधानको दुरुपयोग गरेको देखिन्छ।
अभद्र व्यवहारको अनुसन्धान आफैँमा त्यत्ति जटिल अपराध हैन। यस्तो आरोपका पीडित र प्रत्यक्षदर्शी समेत हुन्छन् नै। त्यसैले कानुनले परिभाषा गरे अनुसारको कसैले व्यवहार गरे कानुनी प्रक्रिया पुरा गर्न लामो समय लाग्दैन। तर प्रहरी यस्तो आरोपमा पक्राउ परेकाहरूलाई पनि गम्भीर अपराधका पक्राउ परेकाहरूको अनुसन्धानको अवधि सरह सकेसम्म २५ दिनै प्रहरी हिरासतमा राख्ने प्रपञ्च रच्ने गरेको देखिन्छ।
निरन्तर शृङ्खला
सडक विस्तारको विरोध गर्दा प्रहरी हिरासतमा सात दिन बिताएका आठ जना मात्रै हैन यस अगाडि पनि प्रहरीले यो कानुनको पटक–पटक दुरुपयोग गरेको छ।
प्रहरीलाई मन नपर्ने शब्द भएको गीत गाएको आरोपमा र्यापर समीर घिसिङ९ भिटेन०लाई पक्राउ गर्दा यही कानुनी आधार टेकिएको थियो। विमानस्थलमा प्रहरीसँग विवाद हुँदा गायिका आस्था राउतले माफी माग्न प्रहरी कार्यालयलयमै जानुपर्यो।
दुख दिने नियतले मात्र हैन, आफूलाई सहज बनाउन कसैलाई गम्भीर अपराधमा हिरासतमा राख्नुपर्ने अवस्था आए प्रहरीले यसको उपयोग गर्ने गरेको छ। नेपालमा बसेर सूचना प्रविधिको प्रयोगमार्फत गम्भीर प्रकारको आर्थिक अपराध गरेको आरोपमा एकै पटक काठमाडौँको विभिन्न स्थानमा छापा मारेर पक्राउ गरिएका चिनिया नागरिकलाई हिरासतमा राख्न प्रहरीले यही दफाको उपयोग गरेको थियो।
प्रहरीले छापा मार्दा सङ्कलन गरेको प्रमाणले उनीहरूमाथि नेपालमै सूचना प्रविधिको दुरुपयोग गरेर अपराध गरेको आरोपमा अनुसन्धान गर्न सकिन्थ्यो। तर चिनिया पक्षको दबाबमा उनीहरूलाई चीन डिर्पोट गर्न बाध्य भएपछि प्रहरीले अभद्र व्यवहारको सहारा लिएको थियो।
किशोरी निर्मलता पन्तको बलात्कार र हत्यामा संलग्न रहेको आशङ्कामा पक्राउ परेका दुई युवालाई हिरासतमा राख्न पनि यसैलाई हतियार बनाइएको थियो। दुई साता उनीहरू हिरासतमा बसेपछि प्रहरीले जुन उद्देश्यका लागि पक्राउ गरेको थियो त्यसको प्रमाण पुगेन र रिहा भए।
‘अभद्र व्यवहार’ प्रहरीको हतियार
अभद्र व्यवहारको मुद्दा पछिल्लो समय प्रहरीको हतियार भएको अधिवक्ता मिना गिरी बताउँछिन्। ‘प्रहरीको औजार भएको छ अभद्र व्यवहारको मुद्दा। उनीहरूलाई चित्त बुझेन भने हतियारको रूपमा प्रयोग गरिहाल्छन्’ उनले भनिन्।
‘बालाजु सडक विस्तारको केसमा त्यस्तो अनुसन्धान नै गर्नुपर्ने कुरा केही देखिँदैन,’ उनी भन्छिन्‘२४ घण्टा भन्दा बढी अदालतको आदेशविना कसैलाई थुन्न पाइँदैन।’
फागुन १८, २०७७ मंगलबार १८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।