सडक विस्तारको विरोध गर्नेलाई राज्यमन्त्रीको धम्की, राज्यमन्त्री भन्छन् ‘धम्क्याएको याद भएन’
काठमाडौँ : सर्वोच्च अदालतले रोक्न आदेश दिँदादिँदै जर्वजस्ती बालाजुमा भइरहेको सडक विस्तारको विरोध गर्नेलाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले धम्क्याएको अभियन्ताले दाबी गरेका छन्।
सडक विस्तार पीडितका पक्षमा बोलिरहेका अभियन्ता रवीन्द्र कुमार श्रेष्ठले राज्यमन्त्रीसँगै उनका पिए जयप्रकाश श्रेष्ठ र मानन्धरका दाइ त्रिरत्न मानन्धरले धम्क्याएको दाबी गरे।
उनीहरूले पटक–पटक फोन गरेर सडक विस्तारको विपक्षमा गए ज्यान मार्ने धम्की दिएको श्रेष्ठको दाबी छ।
घरको ल्याण्डलाइनमा फोन गरेर मानन्धर, उनको दाइँसँगै उनको बहिनीले समेत धम्की दिएको उनको दाबी छ। आफूमाथि पटक पटक आक्रमणको प्रयास भएको समेत उनले उकेरासँग दाबी गरे।
‘मन्त्रीज्यूको दाइ त्रिरत्न मानन्धरले त समूहमै मलाई ज्यान मार्ने धम्की दिनुभयो। हामीले कसैको केही बिगार गरेको छौ र? घर बास उठाएर मान्छेलाई मर्नु न बाच्नु बनाए पछि हामीले त्यसको विरोध गरेका त हौँ,’ उनले भने ।
मन्त्रीको प्रभावका कारण प्रहरीले समेत अनावश्यक रूपमा दुख दिएको उनको आरोप छ। फागुन १२ गते काठमाडौँ वडा १६ ले बाइपासमा सूचना केन्द्रको भवन बनाउन जस्ताले घेरा हालेकोमा विरोध गर्दा प्रहरीले ६ जनालाई पक्राउ गरेर लगेको र ४ जना भेट्न जाँदा सुमन सायमी विरोचन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको बताए।
‘प्रहरी आफैले मलाई सुरक्षाको थ्रेट छ, भन्छ। सुरक्षा दिन्छु तपाइलाई भन्छ। त्यै प्रहरी म जस्तै अभियन्ता साथीलाई दुर्व्यवहार गर्छ। पक्राउ गर्छ। अब के भन्ने ?’ उनले भने।
टोलवासीसँग मन्त्रीको पुरानो 'दुस्मनी'
बालाजु क्षेत्रमा जर्वजस्ती सडक विस्तार गर्दा ३९ घर परिवार प्रभावित भएपछि स्थानीय विरोधमा उत्रिएका थिए। सर्वोच्च अदालतमा परेको रिटमा तत्काल काम अगाडि नबढाउनु भने पनि जर्वजस्ती घर भत्काउने क्रम रोकिएको छैन।
जर्वजस्ती भत्काउन थालेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन्। उनीहरूलाई बृहत् नागरिक आन्दोलनले समेत साथ दिएको छ। रवीन्द्र जर्वजस्ती सडक विस्तार गर्ने प्रयास गरेपछि स्थानीयले राज्यमन्त्री मानन्धरलाई कालो मोसो दल्ने प्रयास गरेका थिए। अहिले उनले त्यसैको बदला लिइरहेको उनको दाबी छ।
स्थानीयवासीको दाबी अनुसार मन्त्री मानन्धरको प्रभावमा सडकको बिचबाट नापेर दायाँ बायाँको संरचना हटाउनुको साटो एकतर्फी मात्र सडक नापेर संरचना हटाएकाले विरोध भएको हो।
निर्माण सम्बन्धी मापदण्ड २०६४ मा शाखा सडकको १४ मिटरमा निजी संरचना निर्माण गर्न नपाइने कानुन अन्तर्गत काम नगरी एकतर्फ मात्र पेलेर सडक विस्तार गराएको श्रेष्ठको दाबी छ।
सडकको केन्द्रबाट ७–७ मिटर दायाँबायाँ ननापी मन्त्रीको प्रभावमा एकातर्फ मात्र पेलेको विरोधमा उत्रिएकाहरूको दाबी छ।
मन्त्री मानन्धर ती व्यक्ति हुन् जसले वडा अध्यक्षको हैसियतमा मालपोत कार्यालयलाई घरजग्गा दर्ता र नापी गर्न सिफारिस गरेका थिए।
२०५९ मा सरजमिन मुचुल्कासहित घरजग्गा दर्ता गर्न नापी गोश्वारालाई पत्र लेख्ने उनी नै हुन्।
मानन्धर तत्कालीन एमालेबाट सांसद निर्वाचित भए। २०७३ चैत १३ मा सर्वोच्च अदालतले ‘छलफलबाट टुङ्गो नलागेसम्म निवेदकहरूको घर आँगनमा प्रवेश गर्ने, अनधिकृत रूपमा कब्जा गर्ने, भत्काउने जस्ता कुनै कार्य नगर्नू नगराउनू’ भनी आदेश दियो। तर अदालतको आदेशको पालना भएन।
‘मलाई मन्त्रीज्यूले फोन गरेर थर्काउनु भयो। सडकको मुद्दामा नलग भन्नुभयो। उहाँको बहिनीले पुलिसकै अगाडी लाठी लिएर कुट्न आउनुभयो। उहाँको पिए गुन्डा बोकेर ढुकेर बसिराख्छ’ रवीन्द्रले दाबी गरे।
एकातर्फ मात्र नापेर सडक विस्तार गर्नुको उद्देश्य राज्यमन्त्री मानन्धरको बालाजुमा रहेको अष्टनारायण हल जोगाउने दुष्प्रयास रहेको स्थानीको आरोप छ।
मुआब्जामा 'घोटाला'
२०७० मा २० घर, ०७२ मा १७ घर र ०७७ मा २ घर गरी बालाजु सडक विस्तारको क्रममा स्थानीयवासीको ३९ घर भत्किसकेको छ। त्यस मध्य २२ घरधुरीले मुआब्जा लिएका छन्।
बाँकीको बिचल्ली भएको पीडित श्याम कृष्ण मानन्धर बताउँछन्। उनी भन्छन्‘ १,२ फिट मात्र भत्काउनु पर्नेहरूले मुआब्जा लिए। घर नै गुमाउनेले राज्यबाट पिडा मात्र पाए।’
उनले मानन्धर निकट भएकाहरूले मुआब्जा बढी पाएको तर अन्यले नपाएको दाबी समेत गरे।
‘मन्त्रीज्यूको साथी राजेन्द्र शाहीको आमा नानी हिरा शाहीले २० लाख लिए। उतिकै भत्किएको भीमदेव श्रेष्ठले तीन लाख मात्र पाए। यो घोटाला नभए के हो त ?’ उनको प्रश्न छ।
मन्त्रीको दाबी : हल जोगाउने कुरा हैन
राज्यमन्त्री मानन्धरले आफ्नो हल जोगाउन एकातर्फ मात्र नापेर भत्काएको दाबी झुटो भएको दाबी गरे। उकेरासँगकुरा गर्दै उनले भने‘ फिल्डमा गएर हेरौँ सबै प्रस्टै हुन्छ।’
उनले २७ वर्ष पुरानो कुरालाई लिएर अहिले विरोध भइरहेको दाबी गर्दै‘लालपुर्जा भएको कसैको नभत्किएको दाबी गरे। सार्वजनिक जग्गामा बनेका घर भत्किएको उनको दाबी छ।
‘लालपुर्जा भएको कसैको घर भत्किएको भए म बनाइदिन्छु। सार्वजनिक सम्पत्तिमा रजाइँ गर्न मिल्दैन,’ उनले भने‘ म एक व्यक्तिले गरेर हुँदैन। राज्यको कुरा हो।’
उनले आफूले कसैलाई धम्की नदिएको समेत दाबी गरे। उनले भने‘ मैले धम्की दिए भन्ने कुरा आयो, त्यो मलाई याद छैन। गाईजात्रामा धम्की दिएको भए घोडे जात्रा आउन लाग्दा किन मुख खुल्यो? त्यति बेला किन मुख खुलेन? म निकट कसैले त्यस्तो धम्की दिएको मलाई जानकारी छैन।’
फागुन १६, २०७७ आइतबार २२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।