पुरुषले किन बलात्कार गर्छन् ?

पुरुषले किन बलात्कार गर्छन् ?

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ नेपालमा महिला तथा बालबालिकासम्बन्धी अपराधको ग्राफ बढ्दो छ। आर्थिक वर्ष २०७६–०७७ मा महिला तथा बालबालिकासम्बन्धी ४ हजार आपराधिक घटना प्रहरीसम्म आइपुग्यो। यसमा बलात्कार सम्बन्धी घटनाको सङ्ख्या उल्लेख्य छ। बलात्कारका घटना सार्वजनिक भएसँगै यसको कारणबारे बहस हुँदा समाजको लैङिग संरचनादेखि कडा कानुनको प्रबन्धसम्मको माग उठ्ने गरेको छ।

पितृसत्तात्मक या कमजोर कानुन मात्र कारण हो त बलात्कार बढ्नुमा ? नेपालमा अध्ययन भएको छैन। उस्तै सामाजिक संरचना भएको भारतमा भने यसबारे २ जनाले अध्ययन गरेका छन्। बिबिसी हिन्दीमा प्रकाशित सो सामाग्री नेपालको सन्दर्भमा समेत मेल खाने देखिएकाले अनुवाद गरेका छौँ हामीले।

OOO

तारा कौशलले आफ्नो अध्ययनको क्रममा कैयौँ बलात्कारीको अन्तर्वार्ता गरिन्। उनले २०१७ मा बलात्कारीको अन्तर्वार्तामा आधारित आफ्नो अध्ययनको प्रारम्भ गरेकी थिइन्। त्यसपछि उनलाई नै गम्भीर असर गर्यो।

उनको दिमागले काम गर्न बन्द गर्यो र उनी कैयौँ दिन रोएरै बसिन्। एक रात उनले नोयडामा रहेको आफ्नो फ्ल्याटको बेड रुममा आफैँलाई बन्द गरिन्। 

तारा त्यो साँझ सम्झन्छिन्‘ मेरो साथी साहिल ढोकामा उभिएका थिए। उनी बारम्बार सोधिरहेका थिए ‘ठिक त छौ नि?’ तर म लगातार भित्रभित्रै रोइरहेको थिए। त्यो बेला मलाई लाग्यो मलाई अब थेरापी चाहिन्छ।’

अध्ययन अगाडि नै ताराले यौन हिंसाको आघात झेलिसकेकी थिइन्। जब उनी १६ वर्षको थिइन् त्यो बेलादेखि उनी यस विषयमा कुरा गर्न थालेकी हुन्। उनले आफ्नो बाबुआमालाई भनिन्‘म चार वर्षको हुँदा मालीले मेरो बलात्कार गरेको थियो।’

यो सुनेर उनको आमाबुबा अवाक् भएका थिए। तर ताराका लागि यो उनी भित्र चलिरहेको तुफानलाई बाहिर निकाल्नु बराबर थियो। 

त्यसपछि उनी आफूमाथि भएको यौन हिंसाको बारेमा लगातार बोलिरहेकी छिन्। सार्वजनिक बहसमा भाग लिइरहेकी छिन्। साथीहरूसँग छलफल गरिरहेकी छिन्। अब किताब लेखिरहेकी छिन्।

ताराले भनिन्‘त्यो घटनाको केही–केही सम्झना छ। मलाई उसको नाम याद छ। उ कस्तो देखिन्थ्यो त्यो पनि याद छ। मलाई त्यसको घुम्रिएको कपाल अनि मेरो निलो ड्रेसमा रगत लागेको याद छ।’

जब उनी ठुली भइन् हरेक दिन भइरहेको यौन उत्पीडनको घटनाबारे सोच्न थालिन्। उनी जान्न चाहन्थिन् कि आखिर यस्तो किन हुन्छ ?

उनले बिबिसीलाई बत्ताइन्‘ मेरो किताब ‘पुरुषले किन बलात्कार गर्छ’ मेरो व्यक्तिगत र पेसागत यात्राको नतिजा हो। यो क्रममा मैले मानसिक आघात समेत सहनुपर्यो।’

लुकेको बलात्कारीको पहिचान

सन् २०१२ डिसेम्बरमा दिल्लीमा गुडिरहेको बसमा फिजियोथेरापीकी छात्राको बलात्कार भएको घटनापछि भारतमा बलात्कार र यौन हिंसाबारे धेरै चर्चा भयो। यो घटनाको केही दिनमा आन्तरिक चोटका कारण पीडितको मृत्यु भयो। यो घटनामा जोडिएका चार जनालाई सन् २०२० को मार्चमा फाँसी भयो। 

तर यौन अपराधमा कडाइ गर्दा पनि बलात्कारका घटना भने बढेकै छन्।

राष्ट्रिय अपराध तथ्याङ्क ब्युरोका अनुसार सन् २०१८ मा भारतमा ३३ हजार ९ सय ७७ वटा बलात्कारका घटना भए। यसको मतलब भारतमा प्रति १५ मिनेटमा एक बलात्कारको घटना हुन्छ। 

यस विषयमा काम गरिरहेका एक्टिभिष्टहरुको दाबी स्वीकार गर्ने हो भने त सार्वजनिक भएको सङ्ख्या भन्दा धेरै छ बलात्कारको घटना। किनकि धेरै घटना प्रहरीसम्म आइनै पुग्दैन।

तारा उनीहरूबारे बुझ्न चाहन्थिन् जसलाई बलात्कारको घटनामा दोषी नै बनाइएन। उनीहरूमाथि कहिल्यै बलात्कारको मुद्दा दर्ता नै भएन। 

उनले यस विषयमा देशभरमा नौ जनासँग भेट गरिन्। उनीहरूमाथि बलात्कारको आरोप लागेको थियो तर कहिल्यै आधिकारिक रूपमा सोधपुछ भएन।

ताराले आफ्नो किताबमा लेखेकी छिन्‘ मैले उनीहरूको घरको अवस्था बुझ्न समय लगाए। उनीहरूको अन्तर्वार्ता लिए। व्यक्ति, उसको परिवार अनि साथीहरूलाई बुझ्ने प्रयास गरे। म अन्डरकभर यो काम गरिरहेको थिए। यसका लागि मैले अलग नाम, इमेल, र फेसबुक आइडिको प्रयोग गरेको थिए।’

अण्डरकभर काम गर्ने बेलामा उनले आफ्नो ट्याटु लुकाइन्। उनले सबै परम्परागत कुर्ता र जिन्स नै लगाइन्। उनले आफूसँगै एक अनुवादक पनि राखेकी थिइन्। उनी अनुवादकको परिचय आफ्नो बडीगार्डको रूपमा दिन्थिन्। 

उनी आफ्नो परिचय अस्ट्रेलियामा बस्ने एक भारतीयको रूपमा दिन्थिन्। अनि एक फिल्मको रिसर्चको लागि सामान्य व्यक्तिको दैनिकीबारे बुझ्ने प्रयास गरिरहेको बताउँथिन्।

तारा कौशलले लेखेकी छिन्‘ म २ सय ५० प्रश्न सोध्थे अनि प्राय सबैमा एकै प्रकारका कुरामा बढी ध्यान दिन्थे। तर मैले उनीहरूलाई अध्ययन गरिरहेको छु भन्ने सकेसम्म लुकाउने प्रयास गरे। यस्तो अवस्थामा उनीहरू बलात्कारको रूपमा परिचित हुन सक्थे।’

सहमतिबारे सोचको अभाव

उनी अध्ययनको समयमा कुनै पनि अप्रिय अवस्थाको लागि तयार थिइन्। उनी आफ्नो पकेटमा पेपर स्प्रे राख्थिन्। त्योसँगै स्थानीय रूपमै आपत् परेको अवस्थामा सम्पर्क सञ्जाल बनाउँथिन्। ह्वाट्सऐपमा एक सहयोगी समूह पनि बनाएकी थिइन् जहाँ उनी आफ्नो लाइभ लोकेसन अपडेट गरिरहन्थिन्।

अन्तर्गत प्रश्नको उत्तर दिने बेलामा तीन व्यक्तिले अश्लील हर्कत गर्छन् भनेर चैँ उनले सोचेकी थिइनन्।

उत्तर भारतको एक व्यक्ति छतको बरन्डामा घाममा बसेर के गरेको थियो ताराले लेखेकी छिन्‘ सानो कदको उ व्यक्ति मेरो अगाडि नै बसेको थियो। मैले जति जनासँग भेटे ती मध्ये उ सबैभन्दा चलाख यौन अपराधी थियो।  उसले आफ्नो सानो गाउँको धेरै महिलालाई आफ्नो यौन उन्मादको सिकार बनाएको थियो।’

 ‘उ जेलमा हुनुपर्थ्यो। या समाजबाट निष्कासित हुनुपर्ने थियो। तर उ आफ्नो समुदायको प्रभावशाली व्यक्ति बनेर बसेको थियो। छतको बरन्डामा उ मेरो प्रश्नबाटै उत्तेजित भयो र अश्लील हर्कत गर्न थाल्यो।’

यसबाट ताराको मानसिक स्वास्थ्यमा गम्भीर असर देखिन थाल्यो। ताराले बिबिसीलाई भनिन्‘ जब मैले अन्तर्वाताहरु सक्काए यो आघातबाट मुक्त हुन मलाई मानसिक थेरापी चाहिने महसुस भयो। मैले कयौँ रात आफ्नो पार्टनरलाई निन्द्रैमा टोक्दै‘ मलाई जिस्काउन छोड’ भने।’

 अन्त्यमा ताराले निष्कर्ष निकालिन् यी पुरुषहरूलाई सहमति भनेको के हो जानकारी नै छैन। 

ताराले जब अनुसन्धान सुरु गरिन् उनले लैगिंक हिंसामा आधारित भएर सामाजिक सञ्जालमा महिलाहरूसँग कुरा गरिन्। ताराले भनिन्‘ ती महिलाहरूसँग गरेको कुराकानीबाट मलाई दुई पुरुषबारे जानकारी आयो। तर अन्य सात पुरुषको खोजी गर्न निक्कै कठिन थियो। मलाई स्थानीय प्रहरी, स्थानीय मिडिया अनि गैरसरकारी सङ्गठनसँगै जासुसी गर्ने एजेन्सीसँग पनि सम्पर्क गर्नुपर्यो।’

तारासँग कुरा गर्नेक्रममा अधिकांशले बलात्कार गरेको स्वीकार गरे। तर उनले बलात्कारको अभियोगमा जेलमा रहेकाहरूसँग भने कुरा नगर्ने पहिल्यै निर्णय गरिसकेकी थिइन्।

‘मेरो लागि जेलमा रहेकाहरूले बलात्कार गर्ने पुरुषको प्रतिनिधित्व गर्न सक्दैनथे। व्यक्तिको वरिपरिको वातावरण नबुझी उबारे पूर्ण जानकारी पाउन सम्भव हुन्न।’

तर ताराभन्दा उल्टो शैफिल्ड हालाम युनिभर्सिटीमा अपराध विज्ञानकी लेक्चरर डा मधुमिता पाण्डेयले बलात्कारमा सजाय काटिरहेकालाई आफ्नो अध्ययनको विषय बनाएकी थिइन्।

उनले सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कारको घटनापछि आफ्नो रिसर्च सुरु गरेकी थिइन्। 

उनले भनिन्‘बलात्कारीलाई सैतान भनियो र उनीहरुविरुद्ध सामूहिक आक्रोश थियो। उनीहरूको अपराधबाट हामी यति भयभीत थियौँ कि उनीहरूलाई आफूबाट अलग र आफ्नो संस्कार भन्दा अलग मान्न थाल्यौँ।’

उनले बलात्कारमा संलग्न पुरुषमा महिलाप्रति परम्परागत धारणा र दमनकारी दृष्टिकोण हुने मान्यतामाथि अध्ययन गरेकी थिइन्।

उनी जान्न चाहन्थिन्‘ के साँच्चै पुरुषहरूमा महिलाप्रति सोच अलग्गै हुन्छ जसलाई हामीले मानिरहेका छौँ।’

जो सुकै बलात्कारी हुन सक्छ

डा मधुमिताले दिल्लीको तिहाड जेलमा बन्द एक सय भन्दा धेरै बलात्कारीसँग साक्षात्कार गरिन्। उनीहरूको आ–आफ्नो कथा थियो।

सामूहिक बलात्कार गरेको सजाय काटिरहेका एक जनाले घटना लगत्तै आफू भागेको बताए। मन्दिरको एक सफाइ कर्मचारीले पाँच वर्षकी बालिकालाई बलात्कार गर्न उक्साएको बताए। एक युवाले सहमतिमा यौन सम्बन्ध राखेको तर उसको परिवारले दुबैलाई सँगै देखेपछि बलात्कारको आरोप लगाएको दाबी गरे।

डा मधुमिताले भनिन्‘ छोरीको बलात्कार भएको घटना सुनेर उसको बाबु मानसिक रूपमा विक्षिप्त भए। अनि परिवारलाई छाडेर अन्तै गए। तर आमा प्रहरीकोमा पुगिन्। न्याय पाउने आस नभए पनि उनले घटना दर्ता गराइन्।’

उनी यी पुरुषमा रहेको महिलाप्रतिको सोचबारे जानकारी लिन चाहन्थिन् जसले उनलाई उनीहरूमा रहेको यौन हिंसाको सोचाइबारे जानकारी पाउन सकियोस्।

उनले भनिन्‘अपराधको प्रकृति फरक–फरक भए पनि समाजमा पुरुषलाई जुन विशेषाधिकार छ त्यसको प्रभाव भने समान देखियो।’

उनले जो पीडित हो उसैलाई दोष दिइरहेको र उनीहरूमा सहमतिको अर्थ नै जानकारी नभएको अनुभव गरिन्। उनले पनि आफ्नो अध्ययनबाट ताराले झैँ एक विषयको भने खण्डन गरिन् कि‘ बलात्कारी सामान्य रूपमा अपरिचित हुन्छन्।’

मधुमिताले भनिन्‘ धेरैजसो व्यक्तिहरू पीडितको परिचित थिए। यसबाटै कोही कसरी बलात्कारी हुन्छ बुझ्न सकिन्छ। यी व्यक्तिहरू असाधारण व्यक्ति हुँदैनन्।’

अधिकांश बलात्कारी पीडितको परिचितै हुने तथ्य पुराना तथ्याङ्कहरूले पनि पुष्टि गर्छ नै। नेशनल क्राइम रेकर्ड ब्युरोका अनुसार सन् २०१५ मा ९५ प्रतिशत घटना परिचितबाटै बलात्कार भएको थियो। सबै बलात्कारको घटना प्रहरीमा दर्ता नहुनुको एक कारण यही परिचित हुनु पनि हो भन्ने यस विषयमा काम गरिरहेकाहरूको निष्कर्ष देखिन्छ।

सामाजिक न्यायको बारेमा काम गर्ने संस्था प्रोजेक्ट ३९ ए को निर्देशक डा अनुप सुरेन्द्रनाथले भने‘ बलात्कारका सबै घटना दर्ता हुँदैन। किनकि अधिकांश घटनामा बलात्कारी परिचित हुन्छन्। यस कारण पीडित र उनको परिवारलाई घटना दर्ता नगराउन कैयौँ प्रकारले दबाब बनाइन्छ।’

प्राय त्यस्ता घटना दर्ता हुने गरेका छन् जुन अति गम्भीर छन् या चर्चामा आएका छन्।

मृत्युदण्ड समस्याको समाधान हो ?

बलात्कारको दर उच्च भएको भारत विश्वको एक्लो देश हैन। तर पितृसत्तात्मक समाज र असमान लैगिंक अनुपातका कारण दैनिक समस्या विकराल बन्दै गइरहेको मान्यता राख्नेहरू धेरै छन्।

बिबिसीको भारतीय संवाददाता सैतिक विश्वास भन्छन्‘ शक्ति प्रदर्शनका लागि बलात्कारलाई एक हतियारको रूपमा उपयोग गर्ने चलन बढिरहेको छ। यसको माध्यमबाट समाजमा दबिएको समुदायलाई भयभीत बनाउने काम भइरहेको छ।’

‘बलात्कार घटनाबारे उजुरी दिन केही सहज भएको छ। तर भारतमा अधिकांश अपराधको न्याय व्यवस्था धेरैजसो राजनीतिक दबाबमा काम गर्छ। कैयौचोटी अभियुक्तलाई सजाय हुन सकेको छैन। यही कारणले बलात्कारको घटनामा केहीलाई मात्र सजाय हुने गरेको छ।’

सन् २०१२ मा दिल्लीमा भएको ग्याङरेपका घटनापछि कानुनलाई थप कडा बनाइएको छ। जघन्य घटनाका दोषीलाई मृत्युदण्डको व्यवस्था गरियो। तर तारा र डा मधुमिता दुबैलाई लाग्छ मृत्युदण्डको सजाय समस्याको दीर्घकालीन समाधानको उपाय हैन।

डा मधुमिता भन्छिन्‘मेरो विश्वास सुधार र पूनर्वासमा छ। हामीले समाज सुधारमा ध्यान दिन आवश्यक छ जहाँ महिला र पुरुषबिच समान स्तरको ढाँचा बनाउन सकियोस्।’

तारा यसमा सहमति जनाउँदै भन्छिन्‘ हामीलाई यस्तो अपराधमा एक्टिभ एजेन्टको रूपमा नयाँ सिराबाट ध्यान केन्द्रित गर्नुपर्छ। एक्टिभ एजेन्ट पुरुष हुन्। हामी उनीहरूलाई कसरी रोक्न सक्छौ. ? यसका लागी उनीहरूलाई बाल्यकालदेखि नै राम्रो शिक्षा दिनुपर्छ।’

ताराले जति पुरुषको अन्तर्वार्ता गरेकी छिन् उनीहरू समाजका सबै वर्गका छन्। तर उनीहरूमध्ये कसैले विद्यालयस्तरमा यौन शिक्षा पाएका थिएनन्। 

तारा भन्छिन्‘ शिक्षा त पाएनन् तर उनीहरूलाई साथीहरूसँग पोर्न फिल्म अनि यौनकर्मीबाट आधाआधी जानकारी मिल्छ।’

कैयौँले आफ्नो बाल्यकालमा यस्तो हिंसा देखेका समेत थिए। ताराले लेखेकी छिन्‘ धेरैले बाउले आमालाई पिटेको देखेका छन्। उनीहरूले बाल्यकालमा माया पाउन सकेनन्। घरको ठुला सदस्यबाट कैयौँ पटक उनीहरूले कुटाई खाएका छन्।’

उनले रिसर्चको अन्त्यमा लेखेकी छिन् कि पुरुष जन्मदेखि नै विशेषाधिकारसँगै हुर्कँदै जान्छ।

पुरुषले बलात्कार किन गर्छन् ?

डा मधुमिताले भनिन्‘ यसको एकै जवाफ छैन। किनकि बलात्कार एक जटिल अपराध हो। हरेक घटना अलग हुन्छ। कोही ग्याङ रेपमा संलग्न हुन्छन् त कोही पीडितको परिचितै हुन्छन्। कोही एकदम अपरिचित पनि हुन्छन्। बलात्कारी पनि कैयौँ प्रकारका हुन्छन्। रिसमा बलात्कार गर्ने, यातनाका साथ अरूलाई पिडा दिन बलात्कार गर्नेहरू, अनि बलात्कार गर्ने सिरियल रेपिष्ट।’

उनी श्रीमान्, सहकर्मी, नजिकको नातेदार, साथी, डेटमा भेट हुने साथी, क्लास मेट अनि प्रोफेसर जो कोही पनि बलात्कारी हुनसक्ने बताउँछिन्।

डा मधुमिता भन्छिन्‘ देशका अन्य नागरिकझैँ मलाई पनि जेलमा गएर के प्रश्न गर्ने होला भनेर सोच्थे। यो धारणा बलिउड फिल्ममा देखाइने जेलको अवस्थाको कारण थियो। मलाई लाग्थ्यो डरलाग्दा पुरुषहरू होलान्, जसको अनुहारमा काटेको दाग होला, अनि धारीदार कपडा लगाएका होलान्। उनीहरूले ममाथि दुर्व्यवहार गर्न सक्छन्। या अभद्र प्रतिक्रिया दिन सक्छन् जुन मलाई नराम्रो लाग्नेछ। यो सबै सोच्दा मलाई डर लागेको थियो।’

उनले केही समयमै चाल पाइन् कि उनीहरू यस्तो समूहका सदस्य हैनन्। उनले भनिन्‘जब म उनीहरूसँग कुरा गर्न थाले। उनीहरूको कहानी सुन्न थाले मलाई उनीहरू त्यस्तो लागेन। यो हामी सबैलाई सम्झनु आवश्यक छ।’

डा मधुमिताका अनुसार लैङीक हिंसा हटाउन हामी समाजलाई सामूहिक रूपमा आत्म अवलोकन गर्न आवश्यक छ। 

उनी भन्छिन्‘हाम्रो वरपरको पुरुष खतरनाक हुन सक्छन् भन्ने विचार डरलाग्दो हो तर नयाँ हैन। हामी एक पितृसत्तात्मक समाजमा बस्छौँ। कोही तपाइलाई बलात्कार नगर्न सक्छ तर अनेक प्रकारले आफ्नो प्रभुत्व कायम गर्न सक्छ। समाजका लागि सामान्य कुरा हो।’

दैनिक जीवनमा महिलामाथि हुने भेदभावबारे हामी कुरा गर्दैनौ। कार्यस्थल र सडकमा हुने यौन उत्पीडनलाई सङ्केत गर्दै उनी भन्छिन्‘जबसम्म अवस्था नियन्त्रणबाहिर जाँदैन तबसम्म कसैले ध्यानै दिँदैन।’

‘हामीलाई रिस उठ्छ जब बलात्कारीले महिलाको कपडाबारे टिप्पणी गरेको थियो र उसलाई बलात्कार गर्ने बहानाको रूपमा प्रयोग गरेको थियो। तर हामी यस्तो भयभीत किन उङ्छौँ ?’ उनले भनिन्‘ हामी जुन व्यवहारलाई सामान्य भनिरहेका छौँ त्यही व्यवहार किन चरम रूपमा देखिँदै आइरहेको छ ?’

उनले भनिन्‘ जब म बलात्कारीसँग कुरा गरिरहेको हुन्थे उसले प्रयोग गर्ने सामाजिक शब्दहरूबारे ध्यान दिइरहेको हुन्थे। अपराधका लागि उसले बनाएको बहाना। उसको सामाजिक मान्यतालाई कारण देखाउँछ जसमा उ हुर्कियो।’

डा मधुमिता अहिले भारतमा बलात्कारीबारे सोच बदल्ने पुर्नवास कार्यक्रमसँग जोडिएकी छिन्।

‘म भारतमा यौन अपराधीका लागि पुर्नवास प्रशिक्षण कार्यक्रम हेर्न चाहन्छु जो बलात्कासँग जोडिएका कथन, अनि महिलाप्रतिको प्रचिन दृष्टिकोणलाई परिवर्तन गर्न सामूहिक सत्र होस्,’ उनले भनिन्‘बिहान ब्युँझिएदेखि राती ननिदाएसम्म मेरो दिमागमा यही खेलिरहेको छ।’

फागुन १६, २०७७ आइतबार २०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।