रुपन्देहीमा किन बढ्दै छ हत्याका घटना ?

रुपन्देहीमा किन बढ्दै छ हत्याका घटना ?

भैरहवा : २०७७ फागुन ९ मा रुपन्देहीको मायादेवी गाउँपालिका ३ मा आफ्नै आमाले एक बर्सिया छोरीको हत्या गरिन। मायादेवी ३ हरहराकी २१ वर्षीय प्रेमा यादवले प्रेमीसँगको सम्बन्ध श्रीमानले चाल पाएपछि बढेको खटपट र झगडाका कारण छोरीको हत्या गरेकी थिइन्।

छोरीको हत्यापछि उनले आत्महत्याको प्रयास गरिन् तर सफल भइनन्। आत्महत्याको प्रयास गर्दागर्दै उनको नन्दले देखेपछि उनी बाँचिन।

रुपन्देहीको मायादेवी गाउँपालिका ६ का ३४ बर्सिया राजिन्दर यादवको आफ्नो काकाले हत्या गराए। छोरा राजिन्दरलाई सम्पत्ति दिनु पर्ने भएपछि आफ्नै काका रामवेलास यादवले २०७७ माघ ६ मा उनको हत्या गराएका थिए।

रुपन्देहीमा एक वर्षको अबधिमा १९ वटा हत्याका घटना भए जसमा २५ जनाको ज्यान गयो। यी घटनाको कारण देखियो,  सम्पत्ति विवाद, अबैध प्रेम सम्बन्ध, यौन विचलन र व्यक्तिगत रिसिईवि।

रुपन्देहीमा भएका हत्याका घटनामा जिल्लाको दक्षिणी र पश्चिमी भेगमा बढी घटना घटेको रुपन्देही प्रहरीको तथ्याङमा देखिन्छ।

२०७७ सालको फागुन १३ गते सम्ममा ७ वटा हत्या भएका थिए। जिल्लामा चार महिनाको अवधिमा ७ वटा हत्याका घटना भए। 

आर्थिक बर्ष २०७६ को साउनदेखि ०७७ असार अन्तिमसम्ममा जिल्लामा १३ वटा हत्या भए।

२०७७ मा जिल्लाको मायादेवी, सियारी गाउँपालिकामा एक–एक वटा तथा गैडहवा गाउँपालिकामा दुई वटा तथा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा एक–एक हत्या भएका थिए।

यी मध्ये केही घटना सम्पत्तिको लोभमा, केही मादक पदार्थ पिएर, केही अवैध सम्बन्धका कारण त केही रिसिइबिका कारण घटेका प्रहरीले लिएको बयानले देखाउँछ।

आर्थिक वर्ष २०७६ सालमा घटेका १३ वटा हत्याका घटना मध्ये जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, कोटहीमाई, कञ्चन, गैडहवा, सियारी र ओमसतियाका हुन्।

२०७६ असोज १७ मा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा टिकमाया गुरुङको गर्दनमा हसियाले हानी हत्या गरिएको थियो। हेटौडा घर भई बुटवलमा बस्दै आएका ४२ वर्षीय राम लामाले उनले लगाएको एक तोलाको सुनको रिङ लिन उनको हत्या गरेको अनुसन्धानमा खुल्यो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवा स्थित एक भैँसी तथा गाई फार्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या भयो। फार्ममै काम गर्ने ३१ वर्षीय झर्सेन्द्र बहादुर सिंजालीले मदिरा सेवन गरी कोदालोले हानेर उनीहरूको हत्या गरेका थिए। उनले फार्ममा काम गर्ने रुपन्देहीको सैनामैना मुर्रियाका माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष थारुको हत्या गरेका थिए। 

आर्थिक वर्ष २०७६ मा बुटवल उपमहानगरपालिकामा एक वटा, तिलोत्तमा नगरपालिकामा दुई वटा, कोटहीमाईमा दुई वटा, कञ्चनमा दुई वटा, गैडहवामा एक, सियारीमा दुई र ओमसतियामा  तीन हत्या भए।

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलका अनुसार पछिल्लो समय सम्पत्तिको लोभ र यौन विचलनका कारण धेरै हत्याका घटना हुने गरेका छन्। 

उनका अनुसार घटनापछि प्रहरीले गरेको अनुसन्धानमा छोटो समयमा सम्पत्ति हात पार्ने दाउ,तथा यौन प्रस्ताव स्वीकार नहुँदा समेत हत्या हुने गरेको देखिन्छ।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार पछिल्लो समय कम उमेरमै बालबालिका यौनजन्य गतिविधिमा लाग्ने र कुरा नमिलेपछि आपराधिक घटना हुने गरेको देखिएको छ।

प्रहरीमा आएका घटना अनुसार रुपन्देहीका दक्षिण, पश्चिममा बढी मात्रामा घटना घटेका छन्, यसको अर्को कारण खुला सिमाना समेत हो। खुला सिमाका कारण अपराध लगत्तै सजिलै भारत जान सकिने, कानुनी दायरामा आउनबाट जोगिन सकिन्छ भन्ने लागेर आपराधिक घटना हुने गरेको प्रहरीको आङ्कलन छ।

फागुन १६, २०७७ आइतबार १४:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।