मिडियाकर्मीलाई गायिका इन्दिराको प्रश्न : मेरो गायकीभन्दा रिङ महत्त्वपूर्ण हो र ?

मिडियाकर्मीलाई गायिका इन्दिराको प्रश्न : मेरो गायकीभन्दा रिङ महत्त्वपूर्ण हो र ?

काठमाडौँ : गायकी र सुन्दरता दुवैले साथ दिएको छ इन्दिरा जोशीलाई। चुलबुले स्टेज क्विनको रूपमा उनी दर्शकमाझ परिचित छिन् उनी। डान्सिगं नम्बरबाट परिचय बनाएकी उनी स्टेजमा उत्तिकै जम्छिन्। गायन सम्बन्धी रियालिटी शोको निर्णायकको भूमिकाले उनको परिचयलाई थप उकालो लगायो। अहिले भने उनी आफ्नो विगतको मूल्याङ्कनमा व्यस्त छिन्। के मेरो परिचय डान्सिगं नम्बर मात्र हो त? आत्म मूल्याङ्कनमा व्यस्त रहेकी उनीसँग उकेराकर्मी सिर्जना दुवाल श्रेष्ठले गरेको संवाद :

दिन कसरी बित्दै छ ?

लामो समय बेफुर्सदिलो भयो जीवन। मेशिन जस्तै भयो दैनिकी। म मात्रै होइन हामी जो कोही पनि दगुरी रह्यौ। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउन भएसँगै आफूले आफैँलाई चिन्ने अवसर दियो। आफ्नो यात्रा फर्केर हेर्ने समय भयो। मैले पनि सङ्गीतमा कस्तो रुचि हो, के कुराले आत्मसन्तुष्टि मिल्छ थाहै पाएको थिइन। म के मा सन्तुष्ट हुन्छ पहिल्याए त्यो बेला। अहिले त्यसैलाई सङ्गीतमा ढाल्ने कोसिस गरिरहेको छु। हेरौँ के नतिजा आउँछ।

आत्म शन्तुष्टीको पाटो के पहिल्याउनु भयो त ?

म क्रियटीभ रुचाउने व्यक्ति हुँ। तर त्यतातिर ध्यानै जान सकेन। आफ्नो करिअरमा रचनात्मकता अपनाउनै सकिन। मन परे पनि नपरे पनि अफर आएका गीत गाइरहे। बजारले जे खोज्यो त्यतैतिर बहकिएछु म। तर मेरो रुचि त मेलोडी गीत रहेछ। मेरो मनलाई मेलोडी सङ्गीतले छुने रहेछ। लकडाउनमा यो बोध भयो।

बेग हानी बोलको गीत त्यही आत्म बोधको अभ्यासको उपज हो ?

हो । मलाई श्रीकृष्ण बम मल्लसँग काम गर्ने रहर थियो । उहाँ पुरै लोक भाकामा गीत लेख्ने, कम्पोज गर्ने। म चाहिँ पप गाउने । हामी दुई जना मिलेर दुवैको शैली मिलाएर गीत बनायौ भने मेलोडी पनि रहन्छ अनि फ्युजन पनि हुन्छ भन्ने लाग्थ्यो। त्यस्तै भयो। गीत धेरैले रुचाए। भनेपछि त मेरो स्कोप डान्सिगंमा मात्रै हैन, मेलोडीमा पनि रहेछ नि त। म भने डान्सिगंमै अलमलिइरहेको रहेछु।

अब डान्सिगं छाडेर मेलोडी मात्र गाउने त ?

मलाई फास्ट नम्बरको गीत गाउन धेरै अफर आउँछ । अहिलेसम्म पनि नाच्ने गीतहरूकै अफर आइरहेको छ। तर म डान्सिङ्गवाट मेलोडीतिर जान खोज्दै छु । म आफ्नै प्रोडक्सनवाट मेलोडी गीतहरू गाउँदै छु। तर यसो भन्दैमा अब मेलोडी नै मेलोडी मात्र गाउने पनि हैन। डान्सिगं पनि गाउँछु। तर अ छनौटमा भने ध्यान दिन्छु। अफर आयो गाइहालौँ न भनेर गाउँदिन। 

भर्खरै हो 'म सा ले' र 'राजमती'लाई म्यासप गरेर गाउनु भएको छ। पुराना गीत गाउनुको कारण चैँ ?

हामीले हाम्रो पुर्खालाई सम्झेनौँ भने कसले सम्झने ? मलाई यो कुराले सधैँ घच्घच्याइरहन्थ्यो । सङ्गीतका इतिहासलाई खोतल्नु पर्छ र सबै माझ पुर्याउनु पर्छ भन्ने सोच थियो। उहाँहरूको इतिहासलाई सम्झाउने भनेको उहाँहरूको गीतलाई स्रोतमाझ पूर्याउने नै हो मैले। मैले गर्न सक्ने यही त हो।

मैले पहिलो गायक सेतुरामको बारेमा सुनेको थिए। मास्टर मित्रसेनको बारेमा सुनेको थिए। ओहो उहाँहरूको गीत सुन्न र गाउन पाए भन्ने लाग्थ्यो।  अहिले त धेरैलाई उहाँहरूको नाम पनि थाहा छैन। मैले मास्टर मित्रसेनको गीत 'हो म सा ले' एक जना पत्रकार मार्फतै पाएको थिएँ। सारै मिठो गीत। तर त्यो गीत कहिले , कहाँ रेकर्ड भएको केही रेकर्ड रहेनछ। त्यसमा मित्रसेनलाई प्रभाकुमारीले गायनमा साथ दिनुभएको रहेछ । शायद अलइन्डिया रेडियोमा लाइभ रेकर्ड भएको होला।

त्यस्तै नेवारी भाषाको पुरानो गीत 'राजमती' १ सय १२ वर्ष पहिले सेतुरामले गाउनु भएको रहेछ। त्यो गीत अहिले सुनिएको राजमती भन्दा धेरै फरक छ । शब्द, लयमा पनि धेरै भिन्नता पाएँ । त्यही भएर यी दुई गीतलाई म्यासप गरेर गाए। 

प्रतिक्रिया कस्तो आयो ?

सबैलाई सबै खाले गीत, सङ्गीत मन पर्दैन। यो सङ्गीतमा मात्रै होइन हरेक कुरामा लागु हुन्छ। कसैले धेरै राम्रो गर्नुभयो भनेका छन्। कसैले के पुराना गीत गाएको होला पनि भनेको सुने। 

किन पुराना गीत गाएको? भनिदिनुस् न त।

पुराना स्रष्टा र पुराना गीत अहिलेको पुस्तामाझ पनि चिनिनुपर्छ भन्ने मात्रै हो मेरो सोच। मेरो लक्ष्य अर्कै भएको भए त यही प्रडक्सनले, यती नै पैसा खर्च गरेर म आफ्नै गीत पनि निकाल्न सक्थे नि। पुराना स्रष्टा नहराउन् भनेरै हो गाएको।

अहिलेको मिडियाको ट्रेन्डलाई कसरी हेरिरहनु भएको छ?

मिडिया भाइरलकै पछाडि दौडिरहेको छ। मिडिया गुणस्तरीय भन्दा पाठक र दर्शक जेले सहजै तानिन्छन् त्यतैतिर कुदेको देख्छु। मेरै उदाहरण हेरे नि भयो नि। भर्खरै मैले केही गीतहरू निकाले धेरैले चासै दिएनन्। तर जब मैले रिङको फोटो सार्वजनिक गरे सबैको त्यसैमा चासो। फोन उठाउन र जवाफ दिन पनि नभ्याउने भएँ। मेरो गायकीभन्दा रिङको महत्त्व त्यत्ति धेरै हो र? छक्क परे म।

सङ्गीत क्षेत्र चाहिँ कतातिर जाँदै छ त ?

अहिले एकदमै अचम्मको समय छ। भाइरल र दर्शकको आधारमा गीत राम्रो, नराम्रो भनिने समय आयो। अब राम्रो भन्ने कि नराम्रो ? युट्युबमा बुस्ट गराइगराई गीत चलेको आधारमा नै को हिट, को फ्लप भन्न थालियो। समय अनुसार चल्नु पनि पर्यो। अब एकोहोरो बजारले खोजेजस्तै सङ्गीतको मात्र पछि भने लाग्दिन। पुराना अनि मेलोडी दुवै गीत गाइरहन्छु।

 

फागुन १५, २०७७ शनिबार १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।