एघार महिनामा एउटा चलचित्र, त्यो पनि सुपर फ्लप
काठमाडौँ: कोरोना महामारीका कारण बन्द भएको हल अन्य मनोरञ्जनका क्षेत्र चलायमान हुन थालेसँगै पुस १० बाट सञ्चालनमा आयो। हल सञ्चालनमा आएसँगै दर्शकको भिडभाड आस गरेका निर्माता, वितरकको अनुहारमा खुसी भने फर्किन सकेन।
लामो समय घरभित्र बसेका दर्शकको दिक्दारी मेटाउन शिव श्रेष्ठ निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ नयाँ चलचित्रका रूपमा प्रदर्शन भयो। तर, कोरोनाका कारण शून्य भएको हलको माहौल फेर्न चलचित्र सफल भएन।
‘एउटा यस्तो प्रेम कहानी’का वितरक गोपाल कायस्थ भन्छन्‘नयाँ फिल्मले दर्शक तान्ला भन्ने ठानेका थियौँ।तर, त्यसो हुन सकेन।’
कायस्थका अनुसार ‘एउटा यस्तो प्रेम कहानी’ले लगानिको एक अंश पनि उठाउन सकेन। काम नसकी प्रदर्शनको लागि हतारिनु ‘एउटा यस्तो प्रेम कहानी’को लागि भारी पर्न गएको कायस्थको बुझाई छ।
‘हलमा दर्शकको उपस्थिती हेरेर नयाँ चलचित्र प्रदर्शनमा ल्याउने सोचाइमा धेरै निर्माता थिए। तर, हलमा कोरोनाको डरले दर्शक आएनन्। दर्शक नआएपछि नयाँ चलचित्र प्रदर्शन गरेर अर्थ भएन।’ कायस्थले भने।
नयाँ चलचित्र प्रदर्शनमा बढी जोखिम रहेको भन्दै प्रदर्शनमा आइसकेका ‘आमा’, ‘सेन्टी भाइरस’ लगायतका कोरोनाले हल बन्द हुनु अघि हलमा प्रदर्शन भइरहेका चलचित्रले दर्शकलाई तान्न नखोजेका भने होइनन्।
‘स्वास्थ्य जोखिमको कारण दर्शक हलमा आउन सकेनन्। पुराना चलचित्र प्रदर्शनले पनि प्रभाव उत्पन्न गर्न सकेन,’ नेपाल चलचित्र सङ्घका अध्यक्ष मधुसूदन प्रधान भन्छन् ‘नयाँ चलचित्र कसैले प्रदर्शन गर्ने आँट गरेनन्। गर भन्न नि सक्ने अवस्था छैन। अब, धेरै सामान्य भइसकेको छ। चैतबाट भने नयाँ चलचित्र हलमा लगाउन छलफल गरिरहेका छौँ।’
कोरोना पछि ‘एउटा यस्तो प्रेम कहानी’ हलमा प्रदर्शन भए पश्चात् कुनै पनि नयाँ नेपाली चलचित्र हलमा प्रदर्शनमा आएको छैन।
कोरोनाको जोखिम मोलेर हलमा चलचित्र लगाएका अभिनेता शिव श्रेष्ठले लगानी उठाउन सकेनन्। उनको चलचित्र सुपर फ्लप भयो। यस चलचित्रका वितरक गोपाल कायस्थ चलचित्रले ‘एउटा यस्तो प्रेम कहानी’ले अति नै कमजोर व्यापार गरेको स्विकार्छ।
‘चलचित्रको छायाङ्कन नै पुरा भएको थिएन। सरकारले पनि हलमा आधा मात्रै दर्शक राख्ने अनुमति दियो। ’ कायस्थ चलचित्र नचल्नुको कारण बताउँछन्।
‘दर्शकलाई जोखिम मोल भन्न नि सकिँदैन। महलो नै त्यस्तै छ,’ कायस्थले भने ‘पुराना चलचित्र चलाएर चलायमान बनाउन खोजिरहेका छौ। दर्शक न आएपछि नयाँ चलचित्र प्रदर्शनमा ल्याएर काम भएन। व्यापार हुँदैन। अब चैतबाट चाही केही होला की भन्ने आसमा छौँ।’
नाम चलेका कालाकारको बाक्लो उपस्थिति रहेका ‘एउटा यस्तो प्रेम कहानी’ शिव श्रेष्ठ, प्रियङ्का कार्की, आयुष्मान् देशराज जोशी, वर्षा राउत, सन्जोग कोइराला, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतको अभिनयको प्रभाव दर्शकमा शून्य झैँ देखियो।
स्टार भनिएका कलाकारहरूलाई नै दर्शकले नपत्याए पछि कसको के लाग्छ? विकल्प फिल्म सुपर फ्लप हुनु नै त हो।
अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत अभिनयमा डेब्यू गरेका थिए। सायद, उनीहरूलाई यस चलचित्रले फाइदा भन्दा घाटा बढी हुन पुग्यो।
झन्डै एक वर्ष पछि फागुन २१ मा कोरोना पछि हलमा लाग्ने दोस्रो चलचित्र बन्ने दौडमा ‘गोर्खे’ नामक चलचित्र तयारी गर्दै छ। यस चलचित्रलाई चलचित्रका प्राविधिकहरूले मिलेर निर्माण गरेका छन्।
आस गरौँ ‘एउटा यस्तो प्रेम कहानी’ को नियति ‘गोर्खे’ले नभोग्नु नपारोस्।
फागुन १५, २०७७ शनिबार १२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।