सत्ता सहकार्य गर्न नेकपाको कानुनी विभाजन कुर्दै काँग्रेस

सत्ता सहकार्य गर्न नेकपाको कानुनी विभाजन कुर्दै काँग्रेस

काठमाडौं : सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गर्ने फैसला गरेसँगै राजनीतिक कोर्स एकाएक बदलिन पुगेको छ। प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको नेपाली काँग्रेस निर्णयको केन्द्रमा देखिएको छ। फुटको अवस्थामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा विभाजन भइसकेको छैन। जुटिहाल्छ भन्ने सम्भावना पनि देखिँदैन।

औपचारिक फुट भई नसके पनि प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र दाहाल–नेपाल पक्षले काँग्रेससँग सत्ता साझेदारीको प्रस्ताव राखिसकेका छन्। पछिल्लो समय चीन, भारत लगायत देशका राजदूतको समेत दौडधुप काँग्रेस केन्द्रित बन्न पुगेको छ।

संसद् अधिवेशनको सुरुवातसँगै प्रधानमन्त्रीले विश्वासको मत लिएमा, अविश्वासको प्रस्ताव आएको अवस्था र नयाँ सरकार बन्ने अवस्थामा काँग्रेसको भूमिका निर्णायक देखिन्छ। 

पहिलो पटक यसै विषयमा केन्द्रित रहेर काँग्रेसको पदाधिकारी बैठक बस्यो। बैठकले परिस्थिति अझै पाको भई नसकेको निष्कर्ष निकाल्न पुग्यो र सरकारमा आफ्नो सहभागिताबारे कुनै निर्णय लिएको छैन। 

सरकारमा सहभागिताबारे पनि काँग्रेसमा दुई धार देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्ष नेतृत्व आफूले गर्ने अवस्था आएमा सरकारमा जानुपर्ने पक्षमा देखिन्छ। देउवा बाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला पक्षका नेताहरू चुनावअघि सरकारमा जान नहुने पक्षमा देखिन्छन्।  

तर, औपचारिक फुटको पर्खाइमा रहेको नेकपा कसरी संसद्मा प्रस्तुत हुन्छ र फुटले औपचारिकता पाउँछ कि पाउँदैन भन्ने काँग्रेसको पर्खिरहेको छ। यो अवस्थामा काँग्रेसको भूमिकाले पनि नेकपाको क्रियाकलापलाई निर्धारण गर्ने देखिन्छ। 

तर, काँग्रेसले नेकपाको भूमिकालाई लिएर अहिले नै निर्णय गर्न हतारो हुने निष्कर्ष निकालेको छ। यसबारेको धारणा बनाउन बिहीबार बसेको पदाधिकारी बैठकले परिस्थिति परिपक्व भई नसकेको भन्दै ‘पर्ख र हेर’ को रणनीति लिएको छ।

मौका गुमाउन चाहँदैन देउवा पक्ष 

सत्ताबाट लामो समयसम्म टाढा बनेको  काँग्रेसलाई यो अवसर पनि बनेर आएको छ। सभापति देउवा समूह भने चार वर्ष पछि आएको सरकारको नेतृत्व गर्ने अवसरलाई गुमाउन चाहने पक्षमा देखिँदैन। यो पक्ष सरकारका नेतृत्व गर्ने अवस्था रहेमा अवसरबाट पछाडि हट्न नहुने पक्षमा देखिँदै आएको छ। देउवा निकट मानिने सह–महामन्त्री डा.प्रकाशशरण महत संसद् सुरु भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अवस्था हेरेर सरकारमा जानेबारे निर्णय लिने बताउँछन्। उनी काँग्रेसले पाउने भूमिका हेरेर पनि यसबारे टुङ्गो लाग्ने बताउँछन्।

‘उहाँहरू टुट्नुहुन्छ, फुट्नुहुन्छ त्यसको टुङ्गो छैन, अहिले नै यो गर्छौ  त्यो गर्छौ भन्ने अवस्था छैन,’उनी भन्छन्, ‘त्यो परिस्थिति हाम्रो आवश्यकता पर्छ पर्दैन, त्यसमा नेपाली काँग्रेसको भूमिका हुन्छ हुँदैन त्यो बेला नै हेरेर भन्न सकिन्छ।’

निर्वाचन आयोगले हालसम्म नेकपाका दुवै पक्षलाई पार्टीको नाम र चुनाव चिन्ह दिइसकेको छैन। दुवै पक्ष नाम र चुनाव चिन्हको दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन्। काँग्रेस नेकपा विभाजनको टुङ्गो नलागेसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निष्कर्षमा पुगेको हो।

५ वर्ष प्रतिपक्षमै बस्ने म्यान्डेटको पक्षमा 

वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरू चुनावअघि सरकारमा जानेबारे सोच्नै नहुने पक्षमा छन्। उनीहरू चुनावबाट जनताले दिएको म्यान्डेट अनुसार काँग्रेस अर्को चुनावसम्म प्रतिपक्षमा नै रहनुपर्ने प्रस्ट अडानमा छन्। 

युवा नेता प्रदीप पौडेल नेपाली काँग्रेसका लागि सरकारमा जाने प्राथमिकताको विषय नभएको बताउँछन्। अर्को चुनावसम्म काँग्रेस विपक्षमा नै बस्ने र निर्वाचनबाट बलियो जनमत सहित सरकारमा जानुपर्ने उनी बताउँछन्। 

महाअधिवेशनको सँघारमा रहेको पार्टीले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने र सरकार बाहिर नै बसेर निर्वाचनको तयारी गर्नु नै अहिलेको प्राथमिकता भएको उनको भनाई छ। ‘नेपाली काँग्रेसका लागि सरकारमा जाने प्राथमिकताको विषय होइन, अहिलेको हाम्रो प्रमुख दायित्व महाअधिवेशन गर्ने पनि हो,’ उनी भन्छन्, ‘महाअधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने र निर्वाचनको तयारी गरेर बाहिरै बस्ने, बलियो जनमत सहित सरकारमा जानुपर्छ भन्ने हो।’

नेपाली काँग्रेसले सरकारमा जाने नजाने, कुन पक्षलाई समर्थन गर्ने भन्ने निर्णय नेकपाको अवस्था हेरेर निर्धारण हुने पौडेलको भनाई छ। ‘हामीले निर्णय त गरिसकेको छैनौँ, नेकपा बारेको संवैधानिक कानुनी पक्षबाट धेरै कुरा टुङ्गिन बाँकी छ, अहिले नै ठोस निष्कर्षमा पुग्ने गरी टुंगिसकेको स्थिति छैन’ पौडेल भन्छन्,‘नेकपा फुटिसकेको छैन तर, नेकपाभित्रका नेताहरू चाहिँ फुटेका छन्, नेकपाका सांसद अहिले व्यक्तिगत सांसद भएका छन्।’

संसद् पुनर्स्थापना पछिको अवस्थामा भने सांसद निजी भइरहन नमिल्ने र वैधानिक प्रक्रियामा उनीहरूले निभाउने भूमिकाका आधारमा काँग्रेसको भूमिका निर्धारण हुने पौडेल बताउँछन्। 

फागुन १५, २०७७ शनिबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।