एनआइसी एसियाको खातामा खाग बेचेको ४१ लाख
काठमाडौँ : कोरोना महामारीसँगै देशभर लकडाउन लागेको बेलामा भदौ १६ मा चितवन राष्ट्रिय निकुञ्जको आइल्याण्ड क्षेत्रमा दिउँसो र भदौ १८ गते साँझ ५ बजे निकुञ्जमा फायरीङ भएको आवाज आयो ।
उक्त क्षेत्रमा रहेको पोस्टबाट पनि गोली चलेको आवाज आएको थियो । निकुञ्जको सुरक्षामा खटिएका चितवन राष्ट्रिय निकुञ्ज र बटुक दल गणको संयुक्त गस्ती टोलीलाई चोरी सिकारी समूहले गोली चलाएको हुन सक्ने सूचना प्राप्त भएको थियो ।
तत्काल परिचालित अनुसन्धान टोलीले शङ्कास्पद क्षेत्रमा स्विप अपरेसन चलायो। टोलीले निकुञ्जको आइल्याण्ड क्षेत्रको रातोघोल इलाकामा बिहान ११ बजे नारायणी निको किनारामा एक वयस्क भाले गैँडा मृत अवस्थामा फेला पर्यो। गैँडा गोली या धारिलो हतियारले मारिएको देखियो।
कात्तिक १९ गते निकुञ्जको कोर क्षेत्र आइल्याण्ड टापुको मर्दी घोल इलाकामा अन्दाजी २२ वर्षको वयस्क पोथी र ३ वर्षको बच्चो गैँडा मृत अवस्थामा फेला पर्यो। उनीहरूको खाग काटेर लगिएको थियो।
२१ कात्तिकमा निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाटमा गैँडाको कङ्काल भेटियो । खाग थिएन।
०००
नेपालले २०७३ यता लगातार गैँडा संरक्षणमा ‘जिरो पोचिङ’ वर्ष मनाउँदै आएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र बन विभागको सहकार्यमा चोरी सिकारीविरुद्ध चलाएको अप्रेसनमा धेरै गैँडा सिकारी फन्दामा परे। गैँडा संरक्षणमा नेपालले खेलेको प्रभावकारी भूमिकाका कारण गैँडा चोरी सिकारीमा सक्रिय अधिकृतहरू अन्तर्राष्ट्रिय मञ्चहरूमा पुरस्कृत समेत भए।
तर अवस्था उस्तै रहेछ गैँडा संरक्षणमा यो वर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जमा ४ वटा गैँडा मारिएका छन्। जबकि सरकारी तथ्याङ्क अनुसार २०७३ चैत २५ यता गैँडा सिकार शून्य थियो।
०००
भटाभट मारिएका गैँडा फेला पर्न तालेपछि चितवन राष्ट्रिय निकुञ्ज, नेपाल प्रहरी, प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाली सेना तथा वन्यजन्तु अपराध नियन्त्रण ब्युरोको संयुक्त टोली अनुसन्धानमा खटियो ।
यो बिचमा संयुक्त टोलीले गैँडा सिकारमा संलग्न १४ जनालाई पक्राउ गरिसकेको छ। अन्य शंकास्पदबारे सूचना पाएको टोली उनीहरूको खोजीमा खटिएको छ।
निकुञ्जका प्रमुख अणनाथ बराल गैँडा मार्ने देखि बेचबिखन गर्ने सम्मको अर्को टोलीलाई खोजी भइरहेको बताए । ‘गैँडा मार्ने देखि बेच्नेसम्मको एउटा समूहलाई संयुक्त टोलीले पक्राउ गरिसकेको छ,’ बरालले भने ‘अर्को समूहको खोजी भइरहेको छ।
तस्करीमा चार समूह
अनुसन्धानमा संलग्नका अनुसार गैँडा सिकारदेखिदेखि बेच्नेसम्म चार लेयरमा समूह परिचालित हुने गरेको छ। खागको आदेश दिने, योजना बनाउने, सिकार गर्ने र खाग तस्करीमा अलग अलग समूह परिचालित हुने गरेका छन्।
योजना निर्माण र सिकारमा अधिकांश नेपाली नागरिक संलग्न हुने गरेको देखिन्छ भने खागको आदेश दिने तस्करी गरी विदेश पूर्याउन अधिकांश केसमा विदेशी नागरिक संलग्न हुने गरेका छन्।
गैँडा मार्न स्थानीयको प्रयोग
संयुक्त अनुसन्धान टोलीले अनुसन्धानको प्रारम्भ कल लोकेसनका आधारमा गरेको थियो। सो क्षेत्रमा लोकेट भएको नम्बर र सबैभन्दा धेरै पटक डायल भएका नम्बरहरू सङ्कलन गर्ने र सोको सम्बन्ध खोज्दै जाँदा टोली गैँडा सिकारको समूहसम्म पुगेको थियो।
अनुसन्धानकोक्रममा गैँडा मार्न स्थानीयको प्रयोग भएको र खाग तिब्बत पूर्याउन अर्को समूह सक्रिय रहेको देखियो। गैँडा सिकारीमा संलग्न जो जो देखिए उनीहरू यस अगाडि नै गैँडा सिकारमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरू नै देखिए।
पुस १३ गते नवलपुर जिल्ला कावासेती नगरपालिका वडा नम्बर ७ का ४८ वर्षे शिव नारायण महतो घरबाटै पक्राउ परे। सिआइबीका अनुसार उनी पक्राउ परेपछि को–को घटनामा संलग्न थिए भन्ने कुरा खुल्दै गयो ।
रण बहादुर भनिने जित बहादुर कुमाल, उनकी पत्नी इन्द्रा कुमाल, हरि प्रसाद थारु, उनकी पत्नी विष्णु मायालु पक्राउ परे।
हरि मगर, बिरमानसिंह प्रजा, अशोक काले भनिने शुकबहादुर गुरुङ माघ ३ गते पक्राउ परे। प्रहरीका अनुसार उनीहरूले बयानमा गैँडा मारेको स्वीकारेका छन्। चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई २०७७ माघ २८ गते जिल्ला अदालत नवलपुरमा पेस गरेर अनुसन्धान गरिरहेको छ।
पटक–पटक गैँडा सिकार
ब्युरोको अनुसन्धानमा पक्राउ परेकामध्ये तीन जना पटक पटक गैँडा सिकारमा संलग्न रहेको खुलेको छ। हिरासतमा रहेका जीतबहादुर कुमाल पाँच पटक, शुकबहादुर गुरुङ २ पटक, बिरमानसिंह पूजा ३ पटक गैँडाको सिकारमा संलग्न रहेको अनुसन्धानमा खुलेको छ।
अनि खुल्यो गिरोह
गैँडा मार्न स्थानीयलाई प्रयोग गर्ने गर्नु नौलो थिएन यो अपराधमा। यसमा संलग्न को–को भन्ने अनुसन्धान गर्दै जाँदा यस भन्दा अघि पनि चोरी सिकारी र तस्करीमा संलग्न भएकाहरूले नै संलग्न रहेको देखियो।
गैँडा मार्ने समूह खाग बेच्न ठिक परेर बस्यो । यता मेख बहादुर नेपालीको समूहबाट कैलाश आले, राजेन्द्र क्षेत्री, दुर्गा भुजेल र सोम बहादुर गुरुङ खाग लिन पुगे ।
उनीहरू खाग लिन त पुगे तर अर्को समूहले पैसा दिएन हतकडी देखाए ‘हामी प्रहरी हौँ’ भनेर ढाँटे । त्यसपछि सिकारी समूह खाग छाडेर भाग्यो। नेपालीको समूह खाग लिएर हिँड्यो ।
उनीहरूले काठमाडौँमा रहेका मुगुका तीन व्यापारी मार्फत गैँडाको खाग तिब्बत पुर्याउन सक्रिय अर्को समूहलाई भेट्यो । उनीहरूले योङ्दन तामाङको समूहलाई खाग बेचे।
मुगु समूहका राजेन्द्र क्षेत्री र आइत तामाङ फागुन १३ मा पक्राउ परे। यसै समूहका नाङ्छे तामाङ पक्राउ परिसकेका छन् भने अर्का एक जना फरार छन् ।
मुगुका योङ्दन र नाङ्छले नेपालबाट खाग तिब्बत तस्करीमा सक्रिय रहेको सीआईबीको वन्यजन्तु सम्बन्धी अपराध हेर्ने पिल्लर ४ का प्रमुख, डिएसपी राजकुमार राईले बताए।
‘लकडाउनमा गैँडा मार्ने देखि बेचबिखन गर्नेसम्ममा संलग्न भएका दुई समूह मध्ये मुगुको समूहलाई पक्राउ ग¥यौँ,’ राईले भने ‘अर्को हुम्लाको समूह पक्राउ गर्न बाँकी छ।’
मुगुका मुख्य व्यापारी भनिएका योङ्दन तामाङ ८३ किलो रक्त चन्दनसहित पक्राउ परिसकेका व्यक्ति हुन्। उनी कारागारबाट छुटेपछि वन्यजन्तुसम्बन्धी अपराधमा सक्रिय भएका थिए।
जेलमै बन्यो योजना
गैँडा मार्ने कार्यमा संलग्न रहेका मेख बहादुर नेपाली र चीनबाट गैर कानुनी रूपमा सुन लिएर आउँदै गर्दा पक्राउ परेका कैलाश आलेको पोखरामा रहेको जेलमा भेट भएको थियो।
सिआइबीका डिएसपी राईका अनुसार उनीहरू जेलमा रहेकै अवस्थामा गैँडा मार्ने योजना बनेको थियो। उनीहरू जेलमुक्त भए लगत्तै गैँडा सिकारमा सक्रिय भए।
‘संयोगले उनीहरू एउटै जेलमा परेछन्,’राईले भने ‘त्यतिबेला नै गैँडा मार्ने योजना बनेको रहेछ ।’
डिएसपी राईका अनुसार, हुम्लाका व्यक्ति मार्फत खाग तिब्बत पुर्याउने कार्यमा संलग्न र सिकारीका सहयोगीसहित यो समूहका थप सात जना पक्राउ पर्न बाँकी छ । उनीहरूको खोजी कार्य भइरहेको छ।
एनआइसीको खातामा खाग बेचेको पैसा
केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोका अनुसार पक्राउ परेको मुगु समूहले एउटा खाग विक्री गरेको खुलिसकेको छ। प्रहरी अनुसन्धानमा मुगु समूहका मेख बहादुर नेपालीको नाउँमा ४१ लाखको बैङ्क भौचर भेटिएको छ।
विभिन्न मितिमा उनको एनआइसी एसिया बैङ्कमा जम्मा भएको सो रकम खाग बिक्री गरे बापत आएको रकम भएको प्रहरीको निष्कर्ष छ। प्रहरीले ६ वटा बैङ्क भौचर फेला पारेको छ।
प्रहरीले त्यसलाई समेत प्रमाणको रूपमा लिएको छ। रकमको थप स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। बैङ्कमा रकम जम्मा गर्दा रकमको स्रोत खुलाउनु पर्ने प्रावधान छ।
सो रकम कुन प्रयोजन खुलाएर जम्मा भएको हो र रकम कसले जम्मा गरेको हो भन्ने पाटोबारे अनुसन्धान भइरहेको ब्युरोका एक अधिकारीले जानकारी गराए। प्रहरीले भौचरसँगै गैँडा मार्न प्रयोग भएको भरुवा बन्दुक दुई वटा, गैँडाको खाग चोरी सिकार र व्यापारमा प्रयोग भएको गाडी, मोटरसाइकल समेत बरामद गरेको छ।
फागुन १४, २०७७ शुक्रबार १९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।