पढ्दै, प्राक्टिकल गर्दै
उनी अध्ययनसँगै कुखुरापालन पनि गरिरहेका छन्। आफ्नै विद्यालयका चार जना विद्यार्थीहरूसँग मिलेर उनले कुखुरापालन सुरु गरेका हुन्।
शिक्षकले पढाइसँगै कुखुरापालन गर्न बताएपछि गगनबहादुरले चार जना साथीहरूको समूह बनाएर स्थानीय जातका कुखुरापालन थालेका हुन्।
उनीहरूले विद्यालयबाट २५ हजार रूपैयाँ ऋण लिएर विद्यालयकै जग्गामा एक वर्षअघि कुखुरापालन थालेका हुन्। उनीहरूले खोरमा अहिले ४० वटा स्थानीय जातका कुखुरा छन्।
एक वर्षदेखि कुखुरापालन सुरु गरेका उनीहरूले यसबाट २७ हजार रूपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन्। त्यसमध्ये केही रकमको कुखुराका चल्ला थपेका छन् भने केही रकम विद्यालयलाई तिरेका छन्।
कुखुरापालन गरेदेखि घरबाट खर्च माग्नु नपरेको उनको भनाइ छ। कृषि जेटिए पढिरहेकाले भविष्यमा कृषि कर्म गर्ने उनको योजना छ। ‘भविष्यमा कुखुरापालन, च्याउ खेती गर्ने योजना छ,’ उनले सुनाए।
गगनबहादुरजस्तै पढाइसँगैसँगै कुखुरापालनमा लागेकी छन्, सोही विद्यालयमा १८ महिने भेटेरिनरीमा अध्ययनरत रिता आले। उनले आफ्नै विद्यालयका चार जना विद्यार्थीसँग कुखुरापालनसँगै प्याज र लसुन खेती गरिरहेकी छन्।
प्रतिव्यक्ति १० हजार रूपैयाँ संकलन र विद्यालयसँग १० हजार रूपैयाँ ऋण लिएर कुखुरापालन र कृषि सुरु गरेका उनीहरूले दुई रोपनी जग्गा भाडामा लिएका छन्।
‘शिक्षकको सल्लाह–सुझाव अनुसार जग्गा भाडामा लिएर कुखुरापालन र कृषि थालेका हौं,’ उनले भनिन्, ‘यसले हामीलाई व्यावसायिक बन्न सिकाएको छ।’
रिता भविष्यमा कृषिसँगै कुखुरापालन गर्ने योजना सुनाउँछिन्।
उनीहरूजस्तै पढाइसँगै माछापालन गर्न सक्रिय छन्, आइएस्सिएजी तेस्रो वर्षमा अध्ययनरत दैलेखका यमराज थापा। २९ जनाको समूह बनाएर सात महिनाअघि माछापालन गर्न थालेको उनले बताए।
विद्यालयबाट ६० हजार रूपैयाँ ऋण लिएर माछापालन गरेका हुन् उनीहरूले। त्यसयता उनले माछा बेचेर चार हजार रूपैयाँ आम्दानी पनि गरिसकेका छन्। सुरुमा पोखरीमा माछा थोरै राखेकाले आम्दानी कमै भएको उनको भनाइ छ।
उनले पनि भविष्यमा व्यावसायिक कृषि योजना बुनेका छन्।
तीन वर्षमा उनले सैद्धान्तिक ज्ञान मात्र होइन, व्यावहारिक ज्ञान पनि हासिल गरेका छन्।
उनीहरू मात्रै होइन, प्राविधिक शिक्षा अध्ययन गर्दै आएका विद्यार्थी व्यावहारिक (प्राक्टिकल) ज्ञान लिन समूह बनाएर कुखुरापालन, माछापालन र तरकारी खेती गर्न थालेका छन्।
यसले व्यावहारिक ज्ञान हासिलसँगै आम्दानी पनि हुने गरेको विद्यार्थीहरू बताउँछन्।
जनज्योति माविका प्राचार्य नारायण सिग्देल विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन कृषि, कुखुरापालन र माछापालन गर्न प्रेरित गर्ने र त्यसमा विद्यालयले आर्थिक सहयोग गरेको बताउँछन्। ‘हाम्रो लक्ष्य भनेको विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान दिनु हो,’ उनी भन्छन्।
विद्यार्थीको छुट्टाछुट्टै समूह बनाएर व्यवसायका लागि बिना ब्याजमा विद्यालयले ऋण दिने गरेको उनले बताए। ‘विद्यार्थीले त्यो ऋण व्यवसायबाट तिर्नुपर्छ,’ प्राचार्य सिग्देलले भने।
उनले अहिलेसम्म विद्यार्थीका लागि १५ लाख रूपैयाँ ऋण दिइसकेको बताए। विद्यार्थीले पनि व्यवसाय गरेर ऋण तिरिरहेको उनको भनाइ छ।
विद्यालयले बंगुरपालन, खरायोपालन, माछापालन, मौरीपालन, बाख्रापालन, कुखुरापालन, तरकारी खेती, इँटा उद्योग संचालन गर्दै आएको छ। त्यहाँ प्राविधिक शिक्षा अध्ययन गरिरहेकाहरूले काम गरिरहेको प्राचार्य सिग्देलले बताए।
जनज्योति माविले प्राविधिक शिक्षातर्फ १८ महिने कृषि जेटिए, १८ महिने भेटेरिनरी जेटिए, ३ वर्षे कृषि डिप्लोमा, ३ वर्षे भेटेरिनरी डिप्लोमा पठनपाठन हुने गरेको छ।
फागुन १३, २०७७ बिहीबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।