हिजोका कुरा : सानुलाई उस्तादसँग संगत गराउने संगीतको मोह
काठमाडौं :आइरनले धार निकालेको पाइन्ट अनि कोट। आधा निधार ढाकेर दाहिनेतिर ढल्काएको ढाका टोपी। छालाको जुत्तामा चिटिक्क परेर आए सानु तण्डुकार। अल्छी लागेछ कि क्या हो ! फुलेको दाह्री भने खुक्र्याएका थिएनन् उनले।
‘जंकु’ मनाइसके उनले। तर, उनले ढाट्ने हो भने उमेर ८१ हो भनेर ठ्याक्कै ठम्याउन सकिन्न। उनीसँग उकेराले हिजोको कुरा खोतल्दै थियो। उनी पनि मख्ख थिए विगतका पाना पल्टाउँदा।
उनको संगीतप्रतिको लगावलाई केन्द्रमा राखेर विगत कोट्याउँदै थिए म।
बंगलामुखी, कुम्भेश्वरवाट हरेक बिहान उसैगरी चिटिक्क परेर मर्निङ वाकमा निस्कन्छन् उनी। बिहान ५ बजेदेखि ९ बजेसम्म उनको बासै घरबाहिर। प्रायः नजिकका मठ मन्दिर, तीर्थस्थलमा पुग्छन् बिहानै।
साथीभाइ भेट्यो, चिया खाँदै भजन सुन्यो। यसरी नै कट्दै आइरहेको छ उनको बिहानी।
‘अहिले मात्रै हैन, ६ दशक भयो होला यसरी नै बिहानको समय बिताएको,’ उनले भने।
जंकु सकिसके उनले। जंकुपछिको जीवन बुढ्यौलीको हो नि। उनमा बुढ्यौलीको प्रमाण त्यही सेताम्मे कपाल र दाह्री त हो। शरीर फिट छ। मन त युवा हुने नै भयो।
०००
ललितपुरको कुम्भेश्वर परिसरमा नेवार समुदायका तण्डुकार जातिको बाहुल्य भएको ठाउँ। ९० सालको भूकम्पमा घरहरू भत्किएपछि त्यहाँका स्थानीय खेततिर सरे। कोही बागबजार पुगे, कोही पुतलीसडक, मीनभवन, गँसीगाल, नख्खु, जाउलाखेल, डिल्लीबजार, न्युरोडतिर बसाई सरे।
भुइँचालोअघि त्यहाँ जम्माजम्मी ४० धुरी थिए। प्रायः सबै तण्डुकार। त्यहाँ उनको घरसँगै जोडिएको एउटा पाटी पनि छ। सानो चिटिक्कै परेको। त्यसप्रति उनमा बढी लगाव रहेछ। कारण– त्यो उनको बज्यैले बनाएर देवता राखेको पाटी हो। पुर्खाको चिनो माया हुने नै भयो। पाटी बनाउँदाका कागजपत्र सुरक्षित छन् उनीसँग।
सानुलाई अझैं याद छ, बज्यैले ताली बजाएर भजन गाएको। उनको बज्यै टोलमा निकै सक्रिय। समाजसेवा, पूजापाठसँगै भजन गाउन उत्तिकै सक्रिय। त्यही बानी सर्यो उनमा पनि।
०००
पढ्न स्कुल थिएनन्। पाटनका जोशीहरूकोमा काठको गोल लिएर पढ्न जान्थे उनी। क, ख, ग, घ...अ, आ, इ, ई... त्यही सिके।
‘त्यो बेला अरु किताबहरू थिएन। ठूलो वर्णमाला मात्रै थियो,’ उनले भने, ‘रातभरि त्यो किताब पढ्दै अभ्यास गर्ने हो।’
त्यहाँ उनले डेढ वर्ष जति पढे। यति पढेपछि अक्षर चिन्ने भइहालियो। अनि पढेर को ठूलो भा छ र ? जसरी पनि पुर्खाको काम गर्ने त हो भनेर पढाई छाडे।
घरमै सांगीतिक माहौल
उनको घरमा सांगीतिक माहौल थियो। बज्यै सिरिमाया तण्डुकारको पालादेखि नै संगीतमा लगाव उनको परिवारको। त्यो लगाव छोरा–नातिसम्म आइपुग्यो। सानुका बुबा महावीर तण्डुकार त्यतिबेलाका कहलिएका बाँसुरीवादक।
महर्जनहरूको विवाहमा बुहारी लिन जाँदा बाँसुरी बजाएर जानैपर्ने। हरेकको बुहारी लिन जाँदा उनकै बाबु नै अगाडि सर्नुपर्थ्यो।
पाटनको ठूलो पर्व हो मत्या : जाने। गाईजात्रामा मनाइने मत्या : जाने बेला सानुको बुबालाई बोलाउन आउँथे। अनि अण्डा र रक्सी सगुन लिएर बग्गी घुमाउनु पथ्र्यो। डमखीं बजाउने बेला बाँसुरी बजाउने व्यक्ति पनि महावीरै।
त्यति बेलाको बाँसुरीवादन आजको जस्तो व्यावसायिक थिएन। संस्कृति बचाउनका लागि बज्थ्यो।
बज्यै र बुबाको संगीत कला देखेर हुर्केका सानुमा पनि संगीत मोह गढ्दै गयो। कोन्टी बंगलामुखी भजन खलःमा बुढापाका नभएर भजन समूहले निरन्तरता पाउन गाह्रो भयो।
‘जेठाबाजे भन्ने ब्यक्तिले बुबालाई यहाँ भजन गर्ने कम हुन थाले, भजन सिकाएर भजन चलाउनु पर्यो भने,’ उनले सम्झिए, ‘पछि नाति पुस्ताहरूलाई घरभित्रै राखेर भजन सिकाउन थालियो।’
त्यो बेला सानु १५ वर्षका थिए। उही उमेरका १५, १६ जना भेला भएर भजन, तबला, हार्माेनियम सिकाउन थाले जानेकाले। ममरु गल्लीका गणेशलाल श्रेष्ठले भजन गाउन सिकाएका थिए। गणेश चित्रकारले हार्माेनियम सिकाए। पछि तबलामा पनि रुचि लागेकाले कृष्णलाल नकर्मीसँग सिके उनले।
सानुलाई संगीतको धुन रमाइलो लाग्न थाल्यो। भजन–गीत गाउन, तबला, हार्माेनियम, नगडा बजाउन सिके। राति एक्लै बसेर धेरै अभ्यास गरेको अझै सम्झन्छन् उनी।
त्यो समय एउटा टोलबाट अर्काे टोलमा भजनको लागि निम्तो आउँथ्यो। भजनमा जाँदा टन्नै भोज खान पाइन्थ्यो। त्यही भोज खान पनि जानेहरू हुन्थे। अहिलेजस्तो पैसा दिने, लिने चलन थिएन।
०००
किसान परिवारमा जन्मेका सानुलाई काम गर्ने दबाब पनि थियो। घर चलाउनै पर्यो। १८ वर्षको उमेरबाट उनले काम सुरु गरे घर प्लास्टरको।
त्यति बेला डकर्मीको ज्याला १२ पैसा, ज्यामीको ८ पैसा। ४ पैसामा पेट भर्ने गरी खान पुग्थ्यो। अहिले जस्तो होटल, रेस्टुराँ कहाँ पाउनु।
ठूलो नांगलोमा मकै, भटमास, सिमी, केराउ बेच्न राखेका हुन्थे। त्यही गयो। किनेर खायो। घरमा धेरैजसो वः ल बजी अर्थात् रातो चिउरा खाइन्थ्यो।
‘टोल छिमेकीमा एक–अर्काेले सहयोग गर्ने चलन थियो। अहिलेजस्तो स्वार्थी समाज थिएन,’ उनले भने, ‘एक–अर्काेबीच सहयोगको भाव थियो। समाजमा सबै मिलेर एकअर्काको काम सघाउँथे।’
०००
दसैंको कालरात्रिमा मठमन्दिरमा भजन आयोजना भइरहन्थ्यो। कालरात्रिको समय ठूला–ठूला कलाकार विभिन्न मन्दिरमा भजन गाउन जान्थे।
वाद्यशिरोमणि उस्ताद गणेशलाल श्रेष्ठ कालरात्रिको बेला बंगलामुखी घुम्न आउँदा भजन गाएर मात्रै जान्थे।
एक पटक उनलाई साथ दिन तबलावादक कोही भएनन्। बंगलामुखी मन्दिरको देवपाल द्घारिकाले यहाँ टोलमा त तबला बजाउने कोही छैन भन्दा वाद्यशिरोमणिले ‘सानुभाइले टाकटुक बजाउँछ उसलाई बोलाउँ’ भनेछन्।
संगीतमा रुचि त थियो उनको। तर, तबला सिधा बजाउन आउने, बोलमा बजाउन नआउने। सानुलाई निकै तनाव भयो। उस्तादको अगाडि जवाफ फर्काउने चलन थिएन त्यो बेला।
उनी तबला लिएर बसे। गणेशलालले हार्माेनियममा तबलाको बोल बजाए, सानुले तबलावाट त्यही बोल मात्रै बजाएनन्, बुट्टा राखेर पनि बजाए। तबलाप्रतिको लगाव देखेर उस्तादले ‘अब मसँग आएर सिक’ भने।
तर, उनको घरमा काम गर्ने कोही थिएनन्। मन भए पनि उनले उस्तादसँग तबला सिक्न पाएनन्। त्यो बेला घरको जिम्मेवारीले तबला सिक्न नपाएकोमा अझैं पनि थकथक लाग्ने रहेछ उनलाई। उनले भने, ‘मैले पनि सिक्न पाएको भएँ कलाकार हुन्थें होला।’
कलाकार भनेर चिनिन पाएनन्। तर, राम्रो संगीत पारखीको छवि भने छ है उनको।
०००
सांगीतिक कार्यक्रमको खबर आयो कि उनी जता पनि पुगिहाल्ने। सानुलाई राम्रो संगीत सुन्न पाएन भने ज्वरै आउँथ्यो रे। मन परेका कलाकारको संगीत सुन्न पाए भोक, निद्रा त्यसै हराउने।
राम्रो संगीत सुनेर घर आउँदा सुत्दैनथे उनी। उनकाे कानमा धुन बजिरहने। सुतेपछि धुन हराइहाल्छ भनेर नसुत्ने गरेकाे उनी बताउँछन्।
उनका ४ छोरा, १ छोरी। छोराछोरीलाई संगीत सिकाउन पाए आनन्द हुन्थ्यो भनेर सबैलाई सिक्न पठाए। तर, साइलो र कान्छोमा मात्र रस बस्यो। उनका साइला छोरा मिलन तण्डुकार भ्वाइलिन र जलतरंग बजाउँछन् भने कान्छो छोरा मिलेश तण्डुकार तबलावादक हुन्।
०००
वाद्यशिरोमणि गणेशलाल श्रेष्ठको गाःबहालको घरमा भारत र पाकिस्तानबाट कलाकार आउने। पाकिस्तानबाट उस्तादहरू आएको चाल पाएपछि उनी बेलुका ९ बजेतिर पुगिहाल्थे। एक पटक पाकिस्तानबाट चार जना उस्ताद आएका रहेछन्। उनीहरूले बेलुका १० बजे गाउन थाले।
उनीहरूले पालैपालो एकै रागमा गाइरहे। बिहानको ४ बज्यो तर राग सकिएन। सुन्नेहरू पनि अझै अघाएका थिएनन् सानुझैं।
त्यसपछि गणेशलालले आफ्नो भान्जा बाबुलाई दलीनमा झुण्डाइरहेको १६ वटा तबला निकाल्न लगाए। वाद्यशिरोमणिले १६ वटै तबला बजाए। तबलाको आवाजमा लट्ठ्एिका पाकिस्तानी कलाकारहरूले ‘ओहो तिम्रो तबलाको बोल सुनेर हामी मस्त भयौं’ भनेको उनले अझै भुलेका छैनन्।
०००
शिवरात्रिमा बनारसवाट संगीतमा पास भएकालाई पशुपतिनाथमा गएर सुनाएर आउ भनेर पठाइन्थ्यो। पशुपतिनाथ भन्नासाथ नेपालमा मात्रै होइन भारतमा पनि उत्तिकै श्रद्धा छ।
पशुपतिनाथलाई सुनाउँदा नबिगारे सुरदास, उस्ताद हुन्छ भनेर पठाउने रहेछन्। सानुलाई अझैं याद छ, भारतबाट आउने कलाकारको पहिलो प्रश्न नै उस्ताद गणेशलाल यहाँ छ कि छैन भन्ने हुन्थ्यो। उहाँ हो भनेर देखाउने काम सधैं सानुकै।
भारतीय कलाकारले उनको खुट्टा ढोगेर अनुमति माग्ने। उनले हात उठाएर अनुमति दिएपछि मात्र उनीहरू गाउने–बजाउने गर्थें।
०००
संगीतमा उनको मन बसेको थियो। कलाकार हुन ठूलो रहर। तर, घरायसी बाध्यताले उनलाई कलाकार हुनबाट रोक्यो। तर, संगीत पारखी हुन रोकेन घरायसी जिम्मेवारीले पनि।
उनी उस्ताद हुन सकेनन् त के भो, संगत उस्तादै उस्तादको भयो। वाद्यसिरोमणि गणेशलाल श्रेष्ठ, उस्ताद कृष्णनारायण श्रेष्ठ, उस्ताद कुमालाल, कृष्णलाल नकर्मी, सरोदवादक प्रयागलाल श्रेष्ठ, उस्ताद पूर्णमानसँगको संगत त्यही संगीतको मोहले त गरायो।
फागुन १३, २०७७ बिहीबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।