‘मुलुकमा एकाधिकारवाद लाद्न खोज्ने परास्त भए’

‘मुलुकमा एकाधिकारवाद लाद्न खोज्ने परास्त भए’

सर्वोच्च अदालतले आज (मंगलबार) प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको छ। सर्वाेच्चको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका र तटस्थ रहेका नेताहरूको प्रतिक्रिया कस्तो छ ? यसै विषयमा रही उकेराकर्मी उपेन्द्र खड्काले नेकपाका तीनजना नेतासँग गरेको कुराकानी।

‘यो अन्तिम अवसर हो’

हरिबोल गजुरेल, नेकपा नेता (दाहाल–नेपाल समूह)

जनताको जित भयो। संविधानको रक्षा भयो। अब राजनीतिक पार्टीहरूले आफूलाई रूपान्तरण गर्नुपर्छ। राजनीतिक पार्टीहरूलाई जनताले दिएकोे अन्तिम अवसर हो।

अब राजनीतिक पार्टीहरूलाई आफू सुध्रिँदै यो अवसर सदुपयोग गर्नुपर्छ। राजनीतिक पार्टीका नेताहरूले पद–प्रतिष्ठालाई सहायक बनाएर राष्ट्र तथा जनतालाई प्रमुख बनाउन आवश्यक छ। 

पद, प्रतिष्ठा तथा सुविधालाई मात्रै प्रमुख र  राष्ट्र तथा जनतालाई सहायक राख्ने नेताको प्रवृत्तिले यो स्थिति सिर्जना भएको हो। 

अब ओली पक्षसँग मिलेर जाने सम्भावना छैन। ओलीसँग मिलेर जानु भनेको जनमतविरुद्ध हुन्छ।

अब प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ होला, दिनै पर्ने हो। निर्वाचन आयोगले निर्णय गर्ला। 

‘पार्टी एक बनाउन पहल गर्छु’ 

लालबाबु पण्डित, नेकपा नेता (तटस्थ)

संसद् विघटन भएयता मैले संसद् पुनःस्थापना हुनुपर्छ भन्दै आएको थिएँ। यसले संविधानको रक्षा पनि हुन्छ, अवरोध भएको लोकतान्त्रिक प्रक्रिया पनि फर्कन्छ भन्ने मेरो भनाइ थियो।  

संविधानको प्रारम्भिक स्थितिमा कार्यान्वयन भइरहेकाले संविधान सुदृढ हुन्छ भन्ने मेरो भनाइ थियो। 

त्यसकारण आजको निर्णय लोकतान्त्रिकसँगै  संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा सकारात्मक निर्णय हो। यो निर्णय स्वागतयोग्य छ।

अबको मेरो मूल एजेन्डा पार्टीलाई एक बनाउने हो। असम्भव भन्ने दुनियामा केही पनि हुँदैन। हामीले नै पार्टी हुर्काएको, बढाएको हो। त्यसकारण अहिले पनि पार्टीलाई एक बनाउन सम्भव छ। 

‘प्रधानमन्त्री र मुख्यमन्त्रीले राजीनामा गर्नुपर्छ’

भीमप्रसाद आचार्य, नेकपा नेता (दाहाल–नेपाल समूह)

एउटा व्यक्तिको सनकले प्रतिनिधिसभा विघटन गर्ने गैह्रसंवैधानिक र प्रतिगामी कदमलाई असफल बनाएर सर्वोच्चले संवैधानिक काम गरेको छ। न्यायाधीशहरूलाई धन्यवाद दिन चाहन्छु।

व्यक्तिको सनकका भरमा मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र एकाधिकारवाद लाद्न खोज्ने परास्त भएको छ। 

नेकपा विभाजनको स्थितिमा भएकाले एउटै दलको सरकार यही कार्यकालमा हुने स्थिति त छैन। तर, दलहरू मिलेर सरकार बनाएर एउटा स्थिरता र संवैधानिक व्यवस्था लागू गर्नुमा कोसेढुंगा साबित हुने मलाई विश्वास छ।

प्रधानन्त्रीले एक मिनेट पनि पदमा बस्नु हुँदैन। तुरुन्तै राजीनामा दिनुपर्छ। पदमा टिकिरहनु वा टाँसिरहनु अनैतिकता हो।

प्रदेश १ मा पनि तुरुन्तै मुख्यमन्त्रीले राजीनामा गर्नुपर्छ। उहाँले संसद्को विश्वास गुमाउनुभएको छ। सत्तामै टाँसिरहनु दुनियामै नभएको घिनलाग्दो प्रवृत्ति हो। तुरुन्तै राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छ।

फागुन ११, २०७७ मंगलबार २१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।