प्रजातन्त्र दिवस मनाएको अपराधीलाई आममाफीकै लागि हो ? 

प्रजातन्त्र दिवस मनाएको अपराधीलाई आममाफीकै लागि हो ? 

मेरो श्रीमान् एवं तरुण दल, चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेलको हत्याका दोषीलाई सर्वस्वसहित जन्मकैदको फैसला भएपछि न्याय पाएको महसुस भएको थियो। तर, चार वर्ष नपुग्दै आफूहरूमाथि पुनः अन्याय भयो। अदालतले न्याय दिए पनि सरकारले पुनः अन्याय गर्याे।

श्रीमानको हत्यामा दोषी ठहर भई सजाय भोगिरहेका आठ जनामध्ये तीन जनालाई चार वर्ष कैद सजाय पूरा नहुँदै सरकारले प्रजातन्त्र दिवसका अवसरमा आममाफी दियो। ती तत्कालीन नेकपा एमालेका कार्यकर्ता हुन्। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसमा कूल ५ सय ८० कैदीलाई सजाय मिनाहा गरिन्। 

मेरो श्रीमानको हत्याराले आममाफी पाएपछि मेरो मनमा केही प्रश्न उठिरहेका छन्। 

सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका हत्याका दोषीलाई आममाफी किन? 

पार्टी कार्यकर्ता भन्दैमा जघन्य अपराधका दोषीलाई आममाफी दिन मिल्छ?  

यी प्रश्नको जवाफ मैले मात्रै होइन, अरूले पनि खोजिरहेका छन् जस्तो मलाई लाग्छ। 

मेरोजस्तै पीडा उहाँ (राष्ट्रपति)लाई पनि परेको हो। तर, राष्ट्रपति भएपछि उहाँले सबै बिर्सनुभयो। 

सेतो साडी लगाएर, काँधमा सल हालेर रातो कार्पेटमा देश–विदेश घुम्नुभयो। आफू रमाउनुभयो। तर, जनतालाई पीडा दिनुभयो। 

आममाफीबारे मन्त्रिपरिषद् बैठकले निर्णय गरेको भनिए पनि यो एकल निर्णय थियो। प्रधानमन्त्रीले लिएर जाने राष्ट्रपतिले सही गर्ने। 

०००

पहिला मलाई राष्ट्रपतिलाई कसैले गाली गर्दा महिलालाई किन गाली गरेका होलान् भन्ने लाग्थ्यो। महिला भएकै कारण हेप्नु र यति विधि भन्नु हुँदैन भन्ने लाग्थ्यो। 

त्यसैले म राष्ट्रपतिको विरोध गर्नेहरूको विरोध गर्थे। राष्ट्रपति पदमा महिला भएकोमा गर्वको अनुभूति गर्थे। ‘महिला राष्ट्रपति पाउनुमा गर्व छ’ भन्दै विद्यादेवी भण्डारीको फोटोसहितको स्ट्याटस पनि फेसबुक खातामा राखेको थिएँ। 

तर, उहाँ (राष्ट्रपति) कस्तो मान्छे हुनुहुँदो रहेछ भन्ने अहिले थाहा भयो। उहाँका बारेमा जान्ने, बुझ्नेहरूले किन विरोध गरेका रहेछन् भन्ने पनि अहिले थाहा पाएँ। राष्ट्रपति विरोधकै लायक हुनुहुँदो रहेछ। 

आफूजस्तै पीडा भोगेको महिला राष्ट्रपति भएको अवस्थामा यस्तो अन्यायमा पर्ला भन्ने मलाई कहिल्यै लागेको थिएन। तर, हामी (म र देउरानी)माथि यस्तो अन्यायपूर्ण निर्णय भयो। 

मेरो देवरको हत्या पनि श्रीमानकै हत्याराले गरेका थिए। 

०००

मेरो ठाउँमा आफ्नो छोरी भए के यस्तै गर्नुहुन्थ्यो राष्ट्रपतिले? त्यो ठाउँमा बसेर हेर्नुपर्छ कि पर्दैन उहाँले? 

उहाँ एउटा ‘न्यायाधीश’ पनि त हो नि। उहाँले कानुन हेर्नुपर्दैन, व्यावहारिकता हेर्नुपर्दैन? 

०००

प्रजातन्त्र दिवसमा पहिले बिदा दिइन्थ्यो। अहिले काटिएको छ। बिदा काटेर उहाँहरूले केका लागि प्रजातन्त्र दिवस मनाउनुभयो? 

के प्रजातन्त्र दिवस कैदीलाई आममाफी दिनकै लागि मात्रै हो त? 

०००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्यो। पुष्पकमल दाहाल–माधवकुमार नेपाल एकातिर जानुभयो र  बामदेव गौतम एकातिर जानुभयो। 

पार्टी सानो भयो, कार्यकर्ता कमी भयो भनेर हत्यारालाई आममाफी दिइयो। 

ज्यानमाराहरूलाई कैद सजाय मुक्त गराएर ‘आममाफी’ रे ! आममाफी शब्द सुन्दा पनि लाजै लाग्ने। 

०००

मलाई लाग्थ्यो– राष्ट्रपति भण्डारीले आफ्नो श्रीमानको हत्यारा खोज्नुहुन्छ होला। हत्यारालाई सजाय दिलाउनुहुन्छ होला। तर, उहाँलाई त्यसबारे कुनै मतलबै छैन। ऐस आराम, सुख–सुविधा पाएर उहाँले सबै बिर्सिसक्नुभयो। 

बरु, हामीले उहाँका श्रीमान् (मदन भण्डारी)को हत्यारालाई सजाय हुनुपर्छ भन्यौँ, भनिरहेका छौँ। 

कहिलेकाहीँ लाग्छ– कस्तो मान्छेलाई राष्ट्रपति बनाइएछ? 

प्रजातन्त्र दिवसमा श्रीमान् हत्याका दोषीलाई दिएको आममाफीप्रति एकदमै दुःखी छु। यिनीहरूलाई कुनै पनि हालतमा आममाफी दिन हुँदैनथ्यो। 

(तरुण दल, चितवनका तत्कालीन अध्यक्ष शिव पौडेल हत्याका दोषीमध्ये तीन जनालाई आममाफी दिएपछि उनकी श्रीमती बिनुसँग गरिएको कुराकानीमा आधारित।) 

फागुन ११, २०७७ मंगलबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।