धुरन्धर विद्धानले पनि महिलाको अवस्थाबारे अध्ययन गरेको देखिएन
लम्सालसँग उनको पुस्तक, महिला अधिकार र पत्रकारिताबारे उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानी :
हजुरआमाका कथा पुस्तक निस्केको पनि एक वर्ष भएछ है ?
भदौमा एक वर्ष पूरा भएर फागुनसम्म आयो।
महिलाहरूको कुरा इतिहासमा छैन भन्दा पनि हुन्छ । पुस्तकका सामाग्रीकै लागि हजुरआमाको कथा खोज्नु भएको हो कि स्तम्भ लेख्दालेख्दै किताब पनि प्रकाशित गर्ने योजना बन्यो ?
यो कथा लेखिनुमा मेरो हजुरआमाको देन छ। उहाँले जहिले पनि हाम्रो पालामा यस्तो थियो, तिमीहरूको पालामा यस्तो भनेर तुलना गर्नुहुन्थ्यो। उहाँले आफ्नो विवाहमा जुद्ध शमशेरको हुण्डरी चलेको, ठुलो बिहे गर्न नपाइने अवस्था रहेको र ट्याम्को बाजा बजाएर खास्टोले घुमलुङ छोपेर दुलही भित्र्याएको कुरा गरिरहनुहुन्थ्यो। उहाँको कुरा सुन्दा मलाई मेरो हजुरआमाको त यति धेरै कथा छन् भने अरूको झन् कति होलान् भन्ने लाग्यो।
सुरुमा एउटा पत्रिकामा मलाई केही लेख्न सम्पादकले नै भन्नुभएको थियो। मैले भेटमा यस्तो आइडिया पनि छ भने उहाँ खुसी हुनुभयो। तर खै के कारणले हो त्यसपछि सम्पादकले कुनै रेस्पोन्स गर्नुभएन। मसँग दुई तीन जनाको कथाहरू आइसकेका थिए। त्यसपछि सेतोपाटीका प्रधान सम्पादक अमित ढकालसँग कुराकानी भयो। उहाँले आइडिया मन पराउनुभयो। त्यसपछि लगातार लेखे। पछि पुस्तकको रूपमा आयो।
पात्र छान्ने आधार केही छ कि ?
पहिलो त ८० वर्ष कट्नुभएको महिलालाई रोजेको थिएँ। अरू मापदण्ड थिएन। हामीले ८० कटेका व्यक्तिको कुरालाई रिफ्ररेन्सको आधारमा लिन्छौँ। जस्तो की सत्यमोहन जोशीलाई। अझै पनि महिलाको हकमा भने प्रमाणित गर्नुपर्छ। उदाहरणको लागि हजुरआमाको कथाका पात्रहरू खोज्दै जाँदा दरबार हाई स्कुलमा महिला पढाइन्थ्यो भन्ने सुन्न पाएँ। हो की हैन भन्ने भएपछि प्रमाणित गर्नुपर्ने भयो। मैले पत्रकार गिरीश गिरीलाई सोध्न लगाए सत्य मोहन जोशीलाई।
उहाँले हैन भन्नुभयो तर पद्य कन्यामा भेटिएको शिलालेखले भने दरबार हाई स्कुलको माथिल्लो तलामा २०/२५ जना सबै तहका महिलालाई एकै कक्षामा राखेर पढाइन्थ्यो। पछि तिनै विद्यार्थीलाई पद्य कन्यामा सारिएको भनेर लेखिएको रहेछ।
त्यस्तै दलितलाई पनि पढाइएको रहेछभर्याङमुनी राखेर । यो कुरा पनि जोशीले हैन भन्नुभएको थियो। इतिहासमा कतै पनि यो कुरा उल्लेख छैन । मुरारीराज शर्माको लेखमा भने उल्लेख छ। यसले धुरन्धर विद्धानले पनि महिलाको अवस्थाबारे अध्ययन गरेको त देखिएन। उनीहरूको कुरालाई खोतलखातल पारेको देखिएन। महिलालाई कसरी इतिहासमा मेटाइन्छ ? कसरी हराइन्छ भन्ने लागिरह्यो। त्यसका लागि उमेर आधार बनाए। लेख्दै गएपछि त पाठकहरूले नै पात्र पठाउन थाल्नुभयो।
त्यतीबेला काठमाडौँ वरपरका पात्र मात्र भए भन्ने आएको थियो हैन ?
मेरो पहुँचमा काठमाडौँका पात्रहरू हुनुहुन्थ्यो। उहाँहरूलाई नै छाने। फोटो सर्कलले ११ जिल्लाबाट १२ महिलाको फोटो स्टोरी गर्न जिल्ला नै पठाएको थियो। खर्चको अभावले हजुरआमाका कथामा यो सम्भव भएन। यसको अर्थ सबै उपत्यकामा नै बस्नु भएकाहरुको कथा मात्रै पनि हैन।
कतिपय पात्र आफ्नो नामै छैन भन्नु हुन्थ्यो। सोधेका कुराहरू श्रीमान्सँग सोध्दै भन्नेहरू पनि हुनुहुन्थ्यो। जो मान्छेलाई अस्तित्व भनेकै भात भान्सा र छोराछोरी हुर्काएर बित्यो त्यो मान्छेलाई मैले समाजका कुरा पनि सोधिन उहाँहरूले भोग्नुभएको कुरा सोधेँ। काठमाडौँ बाहिरको पात्र नभए पनि जिन्दगीको आधा समय उतै बिताउनु भएकाहरूको पनि कथा समेटेको थिए।
ती कथामध्ये नौलो लागेको पात्र ?
पुजारी भट्टले नेवार समुदायकी विवाह गर्नुभएछ नानी छोरी श्रेष्ठ। नेवार श्रीमतीले भात भान्सा नचलेपछि बाहुनपट्टी पनि विवाह गर्नुभएछ। पछि उहाँ आफै आफ्नो थर नै परिवर्तन गरेर श्रेष्ठ राख्नु भएछ। यसरी जेठी श्रीमती पट्टीका श्रेष्ठ, कान्छी पट्टीका भट्ट भए। मलाई यो नौलो लाग्यो। त्यस्तै वसन्तपुरको एक हजुरआमा हुनुहुन्छ। उहाँलाई घरमा एकदमै हेला गरेपछि माइतीले दिएको पैसाले तोरी पेल्ने मिल खोल्नुभएछ। त्यसबाट घर चलाएर छोराछोरी हुर्काउनुभयो। माइतीबाट दिएको सामान अहिलेसम्म पनि राख्नु भएको छ।
अर्काे पात्र स्याङ्जातिरको। उ बेलामा घरमा हिंसा भयो भनेर पञ्चायतमा उजुरी दिनुभएको रहेछ। अर्को रोचक चैँ राष्ट्रिय सभा सदस्य विमला राई पौडेलको आमा इन्द्रमाया पौडेल। प्राय रोचकै छन्।
पुरानो पुस्ताका ३५ जनासँग कुरा गर्नुभयो। एक पुस्ताको अनुभव त तपैसँग छ। नयाँ पुस्तासँग पनि घुलमिल हुनुहुन्छ। समाजमा लैङ्गिक अवस्था चैँ कस्तो देख्नुभयो ?
छोरीलाई घर बाहिर जान हुन्न भनेर हुर्केको मान्छे हुँ म। साढे १५ वर्षमा विवाह भयो। हिन्दु परिवारको घरमा चोलो लाएर भान्सामा जानुपर्ने, चर्को आवाज निकालेर बोल्न नहुने,भर्याङमा हिँड्दा आवाज निकाल्न नहुने। हजुरआमाको तुलनामा मैले कम भोगे हुँला। किनभने प्राइभेट भए पनि मैले पढ्न पाएँ। उहाँहरूले पाउनु भएन। तर मेरा समकालीनहरूसँग स्कुल–कलेजको राम्रो अनुभव छ। मेरो भने छैन।
ब्याचलरसम्म प्राइभेट नै पढेँ। तर मेरो बेलामा पनि तुला राणाहरूले पढ्न पाउनु भएको थियो। उहाँको बुबाले नपढ्ने हो भने छोरीले दुख पाउँछे भनेर पढाउनु भएको थियो रे।
यसले छोरीको भविष्य उसको परिवार कस्तो छ त्यसले भर परेको देखिन्छ। अहिले पनि त्यही त हो। बुबा–आमाले छोरीलाई जसरी पनि पढाउनु पर्छ भन्ने छन्। तर छोरीलाई पढाएर के हुन्छ भनेर बालविवाह गरिदिने पनि छन्। अहिले कानुन छ तर कार्यान्वयनको पाटो एकदमै फितलो छ। अहिले डिग्रीधारी त धेरै भए भर डिग्री हुँदैमा परिवर्तन कुरा आत्मसाथ गरेका हुँदो रहेनछ। औपचारिक शिक्षा र चेतना नदीको दुई किनारा हुन्। त्यसैले अहिले पुरै परिवर्तन भयो भन्ने म मान्दिन। अवस्था र पिडा उस्तै छन् अहिले पनि।
तपाइका सार्वजनिक मतमा नारीवाद हाबी देखिन्छ। नारीवादी चैँ कहिलेदेखि हुनुभयो ?
यही मिति भन्दा पनि घटनाले मलाई नारीवादी बनायो। दुई वटा घटना म कहिल्यै बिर्सन सक्दिन। एउटा मेरो साथी थिइन् राष्ट्र बैङ्कमा काम गर्दा। २०४३ सालको कुरा हो, उनका श्रीमान् राजाको एडीसीको कुरा चलेको थियो। परिवार खानदानी भए पनि महिलालाई भने मान्छे नै नदेख्ने।
‘मैले एक दुई दिन फोन गरिन भने मलाई अप्ठ्यारो परेछ भन्ने बुझ्नु, घरमा पिट्छन्’ भनेकी थिइन्। नभन्दै दुई तीन दिन पछि कार्यालय नै आइनन्। ललितपुरको डिएसपीले स्टोभ पड्केर मरेको बताए। तर घाउ हेर्दा मट्टितेल खनाएर मारिएको थियो।
अर्को कुरा २०५४ सालको। सरस्वती अधिकारीलाई बोक्सीको आरोपमा मैतीदेवीमा डामेर मारियो। मैले उनलाई घाइते अवस्थामा देखेको थिएँ। ५० साल तिरको एसिड अट्याक भएको थियो। श्रीमानले हानिदिएको उपचारको क्रममा श्रीमानले आफै पोखिएको भन भनेर मुद्दा नै भएन। समाजका यस्ता घटनाले मलाई नारीवादी बनायो।
महिला सुरक्षा दबाब समूह पनि गठन गर्नुभएको रहेछ है ?
२०४९ मा महिला सुरक्षा दबाब समूह गठन भयो। त्यतीबेला डा. शान्ता थपलिया, राधा शर्मा, कल्याणी शाह, साहना प्रधान, दुर्गा घिमिरे, सुशीला श्रेष्ठ, हिसिला यमी, शशी श्रेष्ठ, लगायत हुनुहुन्थ्यो। यो गठन हुनुमा ठमेलको बलात्कारको घटना मुख्य कारण हो। त्यतीबेला योगप्रसाद उपाध्याय गृहमन्त्री हुनुहुन्थ्यो। उहाँले बलात्कारबाट बच्न नङ पाल्ने र खुसार्नीको धुलो लिएर हिँड्नेसम्म भन्नुभयो। गृहमन्त्री त सधैँका यस्तै हुने रहेछन्। अहिलेका बादलले पनि बलात्कारको केसमा अमेरिकामा पनि हुन्छ भन्नुभयो नि। यस्तो निकृष्ट सोचाइको त के कुरा गर्नु ? त्यसपछि लुज नेटवर्क बनाएर सक्रिय भएका थियौँ।
‘समाज अध्ययन’ जर्नलमा अनुसन्धाता कैलाश राईले विशेष आन्दोलन भन्दा पनि सङ्घसंस्था मार्फत पनि महिलाको आवाज उठेको उल्लेख गर्नुभएको रहेछ । तपाईँको विचारमा के लाग्छ ?
सङ्घसंस्थाले राम्रो भूमिका खेलेकै हुन्। तर सङ्गठनमा पनि पुस्तान्तरण हुन सकेन। आइएनजीओको कार्यक्रमहरूमा पनि सेलेक्टेड पर्सनहरु हुने भए।
माओवादी आन्दोलनले कति प्रभाव पार्यो महिला मुक्ति आन्दोलनमा ?
रिपोर्टिङको क्रममा ५५ सालको वैशाख २६ मा लिवाङ र थवाङ गएका थियौँ। दोस्रो चोटि ५७ को फागुनमा रुकुम जाजरकोटसम्म पुगेका थियौँ। त्यो बेलामा महिलाले लुगीं लगाएर बन्दुक भिरेका हुन्थे। तपाईंहरुलाई कस्तो लाग्छ भनेका थियौं। उहाँहरूले आत्मविश्वास भएको छ, हामीलाई कसैले केही गर्न सक्दैन भन्ने लाग्छ भन्नुहुन्थ्यो।
द्धन्द्धकालमा दलितहरूले पनि सम्मान पाए महिला पनि काम गर्न सक्छन् समाज धान्न सक्छन् भन्ने भयो। तर यो लामो समय टिकेन। द्धन्द्धकाल सिद्धिएपछि अवस्था पुरानै रह्यो।
तपाईँहरूले पत्रकारिता गर्दाको र अहिलेको समय कस्तो लाग्छ ?
समग्रमा मैले त्यस्तो धेरै परिवर्तन देखेको छैन। सङ्ख्या बढेको छ, पिडा उही छ। शिक्षा भयो चेतना भएन। समाजको कार्यान्वयनको बाटो सशक्त भएन। वर्कसपमा गयो, पुरुषहरू आउनुहुन्छ ड्यासमा बसिन्जेल राम्रो कुरा गर्नुहुन्छ तल झरेपछि उही हो पारा।
महिला भएकै कारण भोग्नुपरेको कुनै कुरा छ की ?
मेरो छोरा १३ वर्षको थियो। म त्यतीबेला स्थापित पत्रकार अधिकारवादी थिएँ। जहाँ गएर बोल्न सक्थेँ। म आफू अभिभावक बनेर नागरिकता समेत लिइदिएको छु। एयरपोर्टमा छोराको नाता प्रमाणित गर्नु पर्यो। मेरो सबै प्रमाण दिँदा पनि मैले नाता प्रमाणित गर्न सकिन। राज्यले मलाई स्विकारेन। भोलिपल्ट बाबुको नागरिकताको फोटोकपीमा अरू नै मान्छेले साक्षी बसेपछि काम भयो। यो भन्दा ठुलो ह्युमीलेशन के हुन्छ ? सिस्टम त हुन पर्यो नि ।यस्तो कुराले मलाई साह्रै पिडा हुन्छ ।
फागुन ८, २०७७ शनिबार ०७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।