सरकारको सीमा नाका खोल्ने निर्णय : प्रावधान कडाइ गरिँदा आएनन् पर्यटक
मन्त्रिपरिषद् बैठकको उक्त निर्णयलगत्तै गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई नाका खुलाउन पत्रसमेत पठायो।
तर, उक्त निर्णयको २० दिन बित्दा पनि रूपन्देहीको सीमा नाकाबाट सहज तरिकाले आवतजावत हुन सकेको छैन।
कारण हो– भारतीय पक्षले भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकलाई सवारी साधनसहित नेपाल प्रवेशमा रोक लगाउनु।
पर्यटक आउन नपाएपछि रूपन्देहीको पर्यटन क्षेत्र ठप्पजस्तै बनेको व्यावसायीको दुखेसो छ।
भारत हुँदै आउने पर्यटक नआउँदा यहाँका साना होटलदेखि तारे होटलसम्म पूर्णरूपमा खुल्न सकेका छैनन्। अन्य पर्यटकीय गतिविधि पनि ठप्पजस्तै छ।
नेपाल भित्रिन कडाइ
सरकारले सीमा नाका खुलाए पनि नेपाल भित्रिन कडाइ गरेकाे छ। नेपाल भित्रिने पर्यटकले ७२ घण्टाअघिसम्मको कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट पेस गर्नुपर्नेछ भने १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाइएको छ।
यही प्रावधानका कारण नेपाल आउन खोज्ने पर्यटक पनि भित्रिन सकेका छैनन्।
तर, सीमा नाका बेलहिया हुँदै दिनहुँ औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतका विभिन्न स्थानबाट दैनिक सयौं मालवाहक भारतीय गाडी, गाडीका कामदार र सर्वसाधारण भने पिसिआर परीक्षणबिनै ओहोरदोहोर गरिरहेका छन्।
व्यावसायी आन्दोलित
सीमा नाका नखुल्दा पर्यटन व्यवसाय ठप्प रहेको भन्दै यहाँका पर्यटन व्यावसायी आन्दोलितसमेत भएका छन्।
नाका खोल्न पटक–पटक माग गर्दासमेत सरकारले नसुनेझैं गरेपछि सीमा नाकामै आएर धर्ना, जुलुसलगायत गर्न बाध्य हुनुपरेको सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स, लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले बताए।
यसअघि बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरू लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, चितवन, कास्कीको पोखरा, मुस्ताङको मुक्तिनाथ लगायतका पर्यटकीय क्षेत्रमा जाने गर्थे।
पर्यटक नआउँदा यी क्षेत्रका पर्यटन गतिविधि ठप्प रहेको उनको भनाइ छ। ‘सरकारले पर्यटन व्यावसाय संचालन गर्ने अनुमति त दियो। तर, विदेशी पर्यटक आउने वातावरण बनाएन,’ उनले भने, ‘आन्तरिक पर्यटकले हाम्रो अर्थतन्त्र धानिँदैन, विदेशी पर्यटक आउन सकेका छैनन्।’
‘पर्यटन व्यवसाय धरासायी बन्यो’
सिद्धार्थ होटल एसोसिएसन नेपाल, (सान)का अध्यक्ष सिपी श्रेष्ठले पर्यटन क्षेत्रमा परेको समस्या तथा लामो समयदेखि बन्द अबस्थामा रहेको नेपाल–भारत सीमा नाका बेलहियाका बिषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समस्याबारे ज्ञापन पत्र बुझाए पनि अहिलेसम्म कुनै सुनुवाइ हुन नसकेको बताए।
‘कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बन्द भएको नाका अहिलेसम्म खुल्न सकेको छैन। यसले गर्दा पर्यटन व्यवसाय धरासायी हुने अवस्थामा पुगेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘व्यावसायी मात्रै होइन, सरकारको लाखौं राजस्व पनि गुमेको छ।’
होटल तथा पर्यटकीय क्षेत्र सञ्चालनमा आउन नसक्दा बैंकको ब्याज तथा बिजुली– पानीको बिलसमेत तिर्न नसकिएको उनको गुनासो छ।
सरकारले अब पनि सीमा नाका पूर्णरूपमा नखोले सम्पूर्णरूपमा व्यवसाय बन्द गरेर बस्ने श्रेष्ठले चेतावनी दिए।
‘दैनिक ४० लाख रूपैयाँसम्म आम्दानी गर्ने व्यावसाय धरासायी बन्दासमेत सरकारले ध्यान पुर्याएको छैन,’ उनले भने, ‘सरकारले अब पनि सुनुवाई नगरे हामी सीमा नाकामा दिनभर धर्ना बस्न बाध्य हुनेछौं।’
रूपन्देहीको पर्यटन क्षेत्र भारतीय पर्यटकमा निर्भर छ। यहाँका तारे होटलदेखि क्यासिनोसम्म भारतीय पर्यटकमा निर्भर छन्।
तर, पर्यटक आउन नपाउँदा तारे होटल तथा क्यासिनो अहिलेसम्म बन्द अवस्थामा छन्।
स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आउने नाकाको रूपमा परिचित बेलहिया नाका अहिले पर्यटक आउन नसक्दा खल्लोजस्तै देखिएको छ।
पर्यटक नआएपछि बुद्ध जन्मस्थल लुम्बिनी पनि सुनसान छ। ‘लुम्बिनी वरिपरिका होटल ठप्प छन्,’ होटल व्यावसायी गोविन्द ज्ञवालीले भने, ‘लुम्बिनीका व्यावसायीले मासिक ४ देखि ५ करोड रूपैयाँसम्म नोक्सानी बेहारिरहेका छन्।’
फागुन ६, २०७७ बिहीबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।