ब्याच नम्बर ६९: क्या विश्वास थियो प्रहरीको !

ब्याच नम्बर ६९: क्या विश्वास थियो प्रहरीको !

पञ्चायत विरुद्ध राजनीतिक गतिविधि बढ्न थाल्यो। काठमाडौँसँगै अन्त पनि आन्दोलन सुरु भए। सिराहामा पनि असर पर्न थाल्यो। पञ्चायत विरोधी गतिविधिमा लागेकाको निगरानी राख्ने जिम्मेवारी पनि प्रहरी कै टाउकोमा आयो। त्यो बेला अराष्ट्रिय तत्त्व भनिन्थ्यो बहुदलको पक्षमा लागेकालाई। अराष्ट्रिय तत्त्वहरू भनेर सूची आउँथ्यो पक्राउ गर्नुपर्ने।

कतिपय त पहिल्यै भागेर भारत पुगिसकेका थिए। जो भारत गएनन् यतै बसे उनीहरूलाई खोजी खोजी समात्नुपर्ने भयो। प्रहरी टोली लिएर घर–घर पुगेर केहीलाई समाते पनि।

तर धेरैजसो चैँ भारत पुगिसकेका थिए। उनीहरू भारत भागेको सूचना भए पनि घर चैँ जान्थ्यौँ। घरमा प्रहरी आयो खोज्न भन्ने सूचना पाएपछि उनीहरू आउँदैनन् नि त घरमा। उनीहरू यता नआएपछि खोज्दै हिँड्नु नि परेन।  त्यो बेला पक्राउ गरेको नेताहरू बहुदल आएपछि धेरै सांसद पनि भए। 

०००

सिराहामा ठुलो आन्दोलन भएको याद भएन। फाट्टफुट्ट भइरहन्थ्यो। भित्रभित्रै बहुदलको समर्थक पञ्चायतविरुद्ध सक्रिय भने थिए। यता काठमाडौँमा हुने गतिविधिको प्रभाव सिराहामा पनि पर्थ्यो नै। काठमाडौँमा के भइराखेको छ चासो राख्थे म पनि ।

२०४६ फागुन सात गतेबाट काँग्रेसले जनआन्दोलन घोषणा गर्यो। पछि बाम मोर्चा पनि मिसिए आन्दोलनमा। काठमाडौँमा जनआन्दोलन सुरु गर्ने भनेपछि जिल्लामा पनि अलि चहलपहल बढ्यो। तर धनुषातिर जस्तो हायलकायल भने बनाएनन्। 

२०४६ चैत १९ मा मन्त्रिमण्डल बदलियो। मरीचमान सिंहको ठाउँमा लोकेन्द्रबहादुर चन्द्र प्रधानमन्त्री भएपछि माहौल शान्त होला जस्तो लागेको थियो। तर भएन। 

००० 

यो सिराहाकै कुरा हो है । 

विश्वेश्वर मर्वेताको केराको खेतमा बम पड्कियो। बम पड्किएको खबर आएपछि टोली लिएर पुगे। त्यस्तो ठुलो क्षति भएको थिएन। तर्साउन सामान्य सुतली बम पड्काएका रहेछन्।

सिराहा बजारमा पनि बम पड्कियो। त्यसपछि भने सेनाले पनि चासो लिन थाल्यो। उनीहरू अनुसन्धान गर्न हेलिकप्टर लिएरै आएका थिए। 

बम पड्किएपछि त्यो बेला रामराजा प्रसाद सिंहको समूहको नाम आइहाल्थ्यो। पार्टीको नाम बहुदलीय जनवादी मोर्चा थियो। सरकारले प्रतिबन्ध लगाएको थियो उसलाई पनि। 

२०४२ मै काठमाडौँमा बम पड्काएको घटनामा रामराजासँगै उनको समूहको धेरै विरुद्ध मृत्युदण्डको फैसला भएको थियो। त्यो घटना चैँ २०४२ असार ६ गतेको हो। काठमाडौँको नारायणहिटी दरबार दक्षिण ढोका, राष्ट्रिय पञ्चायत भवनको ग्यालरी बैठक अगाडि बम पड्काइएको थियो। 

राष्ट्रिय पञ्चायतको ग्यालरी बैठक अगाडि पड्किएको बममा परेर राष्ट्रिय पञ्चायतका सदस्य भोलामान सिंह थापा, डम्बर जङ्ग गुरुङ, जनकबहादुर शाह, दीपबहादुर सिंह लगायतकाहरु त घाइते नै भएका रहेछन्। अब राष्ट्रिय पञ्चायतको सदस्य नै घाइते भएपछि सरकारले के छाड्थ्यो र। सिंहसँगै धेरै विरुद्ध मुद्दा चल्दा सर्वोच्च अदालतबाट मृत्युदण्डको फैसला भएको रहेछ।

अब बम पड्किन थालेपछि उनीहरूको समूहको सदस्य खोज्ने प्रेसर आयो प्रहरीमा। तर उनीहरू त पहिल्यै भारतमा गएर बसेका थिए। को थियो र यता फेला पर्नु ?

सिंह परिवारसँग मेरो पनि सम्बन्ध थियो। त्यो चैँ बुबाबाट जोडिएको सम्बन्ध। मेरो व्यक्तिगत सम्बन्ध चैँ हैन। 

रामराजाप्रसाद सम्पन्न जमिनदार परिवारको सदस्य। उहाँका २ भाइ पनि नैनितालमा पढ्दा मेरो बुबासँगै हुनुहुँदो रहेछ। बुबाको क्लास मेट दुवै। उहाँहरू भूमिगत भएपछि घरमा बुबाले ‘लक्ष्मण त यस्तो थिएन’ भनेर कुरा गर्नुहुन्थ्यो। बुबाले नाम लिइराख्नु हुने भएकाले लक्ष्मण सिंह र अर्को भरत सिंह परिचित झैँ लाग्थ्यो मलाई। तर भेट चैँ भएन कहिल्यै। 

सिराहामा बम पड्कँदा उनीहरूको नाम पनि आउने नै भयो। त्यो बेला पक्राउ गर्न सकिन्छ कि भनेर खोजेको थिए। तर भेटिएनन्। 

२०४६ चैत २६ मा बहुदल आयो। बहुदल आउँदा म सिराहामै थिए।

०००

बहुदल आएसँगै मेरो सरुवा लाहानमा भयो। यी दुई ठाउँ गरेर २ वर्ष बिताए मैले। यति हो मैले ३० वर्षमा काठमाडौँ बाहिर जागिर खाएको पनि। लाहानपछि काठमाडौँ बाहिर मेरो सरुवा नै भएन। 

सिराहा गएपछि एक पटक रामराजासिंहको भाइ लक्ष्मण काकासँग भेट्न मन लाग्यो। त्यो बेला पक्राउ गर्ने योजना चैँ थिएन। उनीहरूबारे सुनेको किस्साले भेट्न मन लागेको। 

तर बहुदल आए पनि रामराजा, उनको भाइ लक्ष्मणप्रसाद लयागतमाथिको मृत्युदण्डको फैसला फिर्ता भएको थिएन। उनीहरू भारतमै बसेका थिए। प्रहरी नै भए पनि बुबाको नाम लिएपछि त भेट्लान् भन्ने आशा थियो। 

उनीहरूको समूहको केही व्यक्ति मेरो सम्पर्कमा आए पनि । मैले भेट्न मन लागेको सन्देश पठाए। तर उहाँले त भेट्नै मान्नु भएन। मलाई विश्वासै गर्नु भएन। राष्ट्र द्रोहको मुद्दा छ। फाँसीको सजाय भएको छ। अब साथीको छोरा भनेर मात्र मलाई विश्वास पनि कसरी गर्नु ? प्रहरी हुँ नि त। समात्ला भन्ने भयो होला। 

पछि मुद्दा फिर्ता भयो। मिति बिर्सिए। मेरो सरुवा लागु औषध नियन्त्रण इकाईमा भइसकेको थियो। अनि इकाईको कार्यालय नयाँ बानेश्वरमा थियो। 

रामाराजा सिंहको अफिस पनि बानेश्वरमै थियो। एक दिन उहाँलाई भेट्न गए। उहाँले माया गर्नुभयो मलाई। कुराकानी भए राम्रै।

मैले ‘लाहानामा हुँदा लक्ष्मणसँग भेट्न खोजेको थिए, तर उहाँ त डरले आउनु नै भएन’ भनेको उहाँले हाँस्दै ‘कहाँ भेट्नु त बाबु। समात्ला भन्ने डर हुन्छ नि’ भन्नुभयो।

०००

बहुदल आएपछि समस्याहरू बढे। नागरिक एकदम उद्दण्ड। सरकारी कर्मचारी भेट्यो कि तर्साइहाल्ने। प्रहरीसँगको व्यवहार पनि उस्तै। सरकारी कर्मचारीले कुटाई खाए । तर प्रहरी चैँ कुटिएनन्। तै पनि मनोबल भने निक्कै खस्किएको।

अब नयाँ व्यवस्था आएको थियो। हिजो जसलाई अराष्ट्रियता भनेर पक्राउ गर्न खोजिएको थियो उनीहरू नै नेता भए गाउँका। सानो केही विषय आयो कि हुल बाँधेर चौकी घेर्न आइहाल्ने। पहिलो पटक चौकीको इन्चार्ज पाएको। दिनकै चौकी नै घेरेपछि के काम गर्ने ?

माथिको अवस्था पनि उस्तै त थियो। प्रहरी र सरकारी कर्मचारीलाई त पञ्चायत जोगाउने यिनै हुन् भन्ने जस्तो व्यवहार भयो नि त्यो बेला। अब माथिको आदेश पनि ‘स्थानीय नेताहरूसँग छलफल गरेर काम गर्ने, जनताको कुरा सुन्ने। छलफल गर्ने’ भन्ने आउन थाल्यो। 

अब उनीहरूले निहुँ खोजेको खेज्यै गर्ने। त्यस्तो बेला कसरी छलफल गर्नु ? प्रहरीलाई छलफल गरेर काम गर्ने बानी पनि थिएन। 

०००

पञ्चायतमा पञ्चेहरू त नाम मात्रै हो। अगाडि देखिने त प्रशासन र प्रहरी नै थियो नि। उनीहरूले पञ्चायत जोगाएको सरकारी कर्मचारी र प्रहरीले नै हो भन्ने उनीहरूलाई। 

हुन् पनि हो। अराष्ट्रिय तत्त्व भनेर खोज्ने पञ्चायतका सदस्य त हुँदैनथे। प्रहरी नै हुन्थे। उनीहरूले लुकी लुकी राखेको बैठक स्थलमा राष्ट्रिय पञ्चायतका सदस्य पुग्ने हैनन्, खोजी खोजी पुग्ने र पक्राउ गर्ने त प्रहरी नै हुन्। आदेश दिने प्रमुख जिल्ला अधिकारी हुन्। 

अब प्रहरीले नेतालाई पक्राउ गर्दा केहीलाई झापड पनि हाने होलान्। घरमा बस्न नदिएर भारत तिरै लखेट्ने पनि प्रहरी नै त थियो। बहुदललाई पहिला त उनीहरूले त्यही रिस फेर्ने माध्यम बनाए। दुस्मनै जस्तो व्यवहार सहियो केही समय।

बहुदल आएसँगै समाज पनि विभिन्न दलमा बाँडियो। केन्द्रमा नेपाली काँग्रेस, कम्युनिस्ट, राप्रपा थापा र चन्दको उदय भयो। त्यसको प्रभाव गाउँसम्म पर्यो। एउटासँग छलफल गरे अर्को टेढिने। एउटासँग गर्यो अर्कोले निहुँ खोज्ने।

लाहानको एउटा रोचक छ परिवारमा पार्टीले पारेको प्रभाव बारे। यो बनाएको घटना पनि हैन, पञ्चायतको समर्थन गरेको पनि हैन है।

लाहान थानाको पूर्वतिर राजमार्गमा थिए म। एक ठाउँमा कुटाकुट भएको खबर आयो। अब कुटाकुटै भयो भनेपछि त प्रहरी पठाउनै पर्यो। टोली गएर एक जनालाई ल्यायो। सँगै एक जना बुढो मान्छे पनि लुखुरलुखुर आइरहेका थिए।

भएछ के भने, तीन जना दाजुभाइ रहेछन् घरमा। सबैको आँगन एउटै। तर एउटा भाइ थापातिर, अर्को कम्युनिस्ट अनि अर्को कङ्ग्रेस। एक दिन कम्युनिस्ट पार्टीमा लागेको भाइले पार्टीको झन्डा ल्याएर  आँगनको बिचमा गाडेछन्। अनि त मारामार भाइहरूबिच। बाबुले जति सम्झाए पनि नभएपछि चौकीमा छलफल गराएर पठायौँ।

०००

बिस्तारै स्थानीयवासी सँग घुलमिल सुरु गरे। उनीहरूको गुनासो सुन्न थाले। ए यिनीहरू कुरा गर्ने रहिछन् है, हाम्रो कुरा सुन्ने रहिछन् भन्ने बनाउनुको विकल्प थिएन। उनीहरूले बिस्तारै सम्झन थाले।

अर्को घटना पनि छ लाहानको । यो चैँ प्रहरीले स्थानीयको साथ पायो भने कसरी काम गर्न सक्छ भन्ने हो। अहिले तालिममा पनि यो उदाहरण चैँ दिन्छु म।

लाहान थानामा म जानुभन्दा अगाडि देखि नै एक जना अस्पष्ट बोली भएका व्यक्ति आइरहने। उनको कुरा बुझ्न गाह्रो थियो। 

तर सधैँ आउने। एक दिन बोलाएर बिस्तारै उनको कुरा सुने। उनको गाउँको एक जना भलाद्मी मानिने फटाहाले उनको २ बिगाहा जग्गा खाइदिएको रहेछ। कतै प्रहरीले जग्गा फिर्ता गरिदिन्छ कि भन्ने आशाले चौकी आइरहने रहेछन्। 

राजन भेटवाल थिए त्यो बेला मसँग। अनि भेटवाल र अर्को प्रहरी जवानलाई बोलाएर ती भलाद्मी भनिने फटाहालाई ल्याऊँ त भनेर पठाए।

केही समयमै उनीहरूले मोटरसाइकलको बिचमा राखेर तीनलाई चौकीमा ल्याए। गाउँका भद्रहरूलाई भेला गराएर छलफल गराएर २ दिनभित्र जग्गा फिर्ता गर्नु भनेर पठाए।

नभन्दै उनले २ दिनमै जग्गा नामसारी गरिदिए।

यसरी बिस्तारै जनविश्वास फर्किएपछि प्रहरीको मनोबल पनि फर्कियो। स्थानीयको साथ भएपछि त जस्तोसुकै खुंखारलाई पनि एक जना प्रहरीले हात बाँधेर ल्याउन सक्ने भइहाले नि। 

त्यस्तै घटना पनि सुनाऊँ है त ।

थानामा मोहन भन्ने प्रहरी जवान थिए। पुरै तामिल फिल्मको हिरो जस्तो जुँगा। कपाल पनि घुम्रिएको। उनी कुरा गर्दा दायाँ–बायाँ टाउको हल्लाएर कुरा गर्थे। उनी सादा पोसाकमा थिए। अपराधको सूचना सङ्कलन गर्थे। 

एक दिन उनले उसै गरी टाउको हल्लाउँदै ‘सर एक जनालाई समात्नुपर्ने छ, म गएर आउँछु’ भनेर हिँडे। होला कोही भनेर मैले बढी खोजीनिती पनि गरिन।

केही घण्टापछि मोहन साइकल दोहोर्याउँदै आए। यसो हेरेको साइकलको पछिपछि एक जना मान्छेको हात लुङ्गीले बाँधेको छ, कट्टु मात्र लगाएको छ। लुङ्गीको अर्को भाग साइकलको क्रेटमा बाँधेको छ। साइकलमा बोरा पनि छ।

त्यो बेलामा उदयपुरतिरबाट गाँजा आउँथ्यो भारत तस्करी गर्न। गोविन्दपुर भन्ने गाउँमा ती व्यक्तिले भारत लैजान गाँजा ल्याएर राखेको सूचना पाएपछि मोहन एक्लै उसको गाउँ गएर गाँजासँगै उसलाई पनि पक्राउ गरेर ल्याएका रहेछन्। अनि हात उसैको धोतीले बाँधेको। 

प्रहरीप्रतिको डर हेरौँ त। मोहन एक्लै थियो। पक्राउ परेका व्यक्तिले धोती सोती फालेर हिँडेको भए पनि सकिहाल्थ्यो। मोहनलाई गाउँमै ठटाउन पनि सकिहाल्थे। तर प्रहरीले पक्राउ गर्यो भनेर लुरुलुरु आफ्नै धोतीले हात बाँधेर आइरहेका थिए।

क्या विश्वास थियो प्रहरीको। कस्तो साहस थियो सङ्गठनका सदस्यको।

यो घटना सम्झँदा मलाई अहिले पनि गर्व लाग्छ। अनि डर पनि।

क्रमश :

(नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)

पुराना अंक

गोपालजिजंग शाहको प्रश्नले पुर्यायो प्रहरीमा

 ...अनि भाग्ने योजना बनाएँ

दर्ज्यानी चिह्न लगाउँदा झण्डै बेहोस

 बराल सरको संगतले अनुसन्धानको सीप सिकें

 

फागुन ५, २०७७ बुधबार २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।