दीपकको ‘घिन्ताङ’ मा गौरव र लक्ष्मी
काठमाडौँ : श्रीपंचमी पर्व एवं विद्याकी अधिष्ठात्री देवी सरस्वती पुजाको अवसरमा दीपक श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र ‘घिन्ताङ’को शुभमुर्हूत गरिएको छ।
शुक्रवारबाट छायाङ्कनमा जाने तयारीका साथ मङ्गलवार चलचित्रको मुर्हत गरिएको हो। यस चलचित्रमा गौरव पहाडी, लक्ष्मी बर्देवा, निर शाह, मदनकृष्ण श्रेष्ठ र ४ जना बालकालकारको अभिनय रहनेछ।
अभिनेत्री एलिजा गौतम चलचित्रमा अनुबन्धित भएकी थिइन। उनले चलचित्र मन नपरेको भन्दै हात झिकेपछि अभिनेत्री लक्ष्मी बर्देवालाई दीपकले ‘घिन्ताङ’मा अनुबन्धित गर्दै चलचित्रको छायाङ्कनको घोषणा गरेका हुन्।
चलचित्रको कथा अन्तरजातीय सम्बन्धमा केन्द्रित हुने निर्माण पक्षले जनाएको छ। लामो समय पछि चलचित्र निर्देशनमा फर्किएका दीपकले चलचित्रमा आफू नयाँ जोस र जाँगरका साथ काम गर्न लागेको बताए।
चलचित्रमा अभिनेता गौरव पहारीले चौतारीमा मादल बजाएर बेच्ने धनेको भूमिका निर्वाह गर्दैछन् भने अभिनेत्री लक्ष्मीले ब्राह्मण परिवारकी महिलाको भूमिका निर्वाह गर्दैछिन।
चलचित्रको कथा साहित्यकार मन्दिरा मञ्जुश्रीले लेखेकी हुन्। चलचित्रको गीतमा दीपक शर्माको सङ्गीत रहने छ भने सङ्कल्प भुजेलको छायाङ्कन रहने छ।
फागुन ५, २०७७ बुधबार ११:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।