भागरथी हत्याको कारण पारिवारिक रिसइवी: प्रहरी

भागरथी हत्याको कारण पारिवारिक रिसइवी: प्रहरी

काठमाडौं: किशोरी भागरथी भट्टको बलात्कार र हत्याको कारण पारिवारिक रिसइवी देखिएको प्रहरीले जानकारी दिएको छ। बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्टको बलात्कार र हत्या आरोपमा प्रहरीले उनका छिमेकी एक युवालाई* पक्राउ गरेको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार शङ्कास्पद व्यवहारका कारण ती युवा* प्रहरी नजरमा थिए। अनुसन्धानका क्रममा फेला परेका विवरण र उनको गतिविधि मिलेपछि उनलाई पक्राउ गरिएको हो। 'घटनामा उनी संलग्न रहेको पर्याप्त आधार फेला परेकाले नै पक्राउ गरिएको हो,' उनले उकेरासँग भने' कारण पारिवारिक रिसइवी देखियो।'


दैनिक हाजिरमा थिए *युवा
भागरथीको शव फेलापरेपछि सनातन धर्म माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिदा उनी पनि सहभागी थिए। तर उनी आक्रोशित भन्दा बढी डराएका देखिएपछि प्रहरीले शङ्काको घेरामा राखेको थियो। अनुसन्धानको क्रममा शङ्का लागेकालाई प्रहरीले दैनिक हाजिरीमा राख्नेक्रममा उनी* चार दिनदेखि दैनिक हाजिरीमा थिए।

प्रहरीले कार्यालय बोलाउने र हाजिर गराएर छाड्ने गरेपछि उनको स्वभाव थप बदलिएको अनुसन्धान स्रोतले बतायो। 'गाउँमा परिवारै त्यति नमिल्ने रैछन्। घर पनि एकान्त स्थानमा सारेका रैछन्,' स्रोतले भन्यो' केही छिमेकीले पनि उनको बदलिएको स्वभावबारे जानकारी दिएपछि बढी शङ्का उनीमाथि नै भयो।'


कक्षा ११ का विद्यार्थी
भागरथी कक्षा १२ मा पढ्दै थिइन्। ती युवा* कक्षा ११ मा। उनी भागरथीलाई दिदी भनेर सम्बोधन गर्थे। प्रवक्ता सिंहका अनुसार घटनाको दिन उनी भागरथी भन्दा केही दुरीमा पछ्याउँदै हिँडेर एकान्तस्थल आएपछि पहिला घाइते बनाएर पछि हत्या गरेका थिए।

सोधपुछमा उनले घटना स्विकारेपछि पक्राउ गरियो। एक्लै कि सहयोगी छन् सिंहका अनुसार किशोर उमेरका भए पनि शारीरिक रूपमा गठिलो छन् उनी। तै पनि कसैको सहयोग लिएकी भन्नेमा अनुसन्धान केन्द्रित हुँदा समय लम्बिएको प्रहरीको भनाई छ।

'पहिला लडाएर घाइते बनाएपछि घाँटी थिचेर हत्या गरेको स्विकारे,' सिंहले भने' शव घिसारेर झाडीमा छोपेर घर गएको देखियो।'

बलात्कार हत्यापछि कि अघि?

पोस्टमार्टममा बलात्कार समेत भएको देखिए पनि भागरथीको हत्यापछि बलात्कार कि बलात्कारपछि हत्या भन्ने प्रहरीले खुलाएको छैन। प्रहरीले आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्दै छ।भागरथी हत्याको अनुसन्धानमा डिआइजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्युरोका पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारी लगायत थिए।

* प्रहरीले पत्रकार सम्मेलनमा पक्राउ आरोपीको  एकिन उमेर नखुलाएको र १८ वर्ष मुनीका आरोपीको नाम उल्लेख गर्न नहुने संहिता अनुसार आरोपीको नाम हटाइएको छ।

फागुन ५, २०७७ बुधबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।