२० लाख डोज कोरोना खोप किन्ने सरकारको तयारी 

२० लाख डोज कोरोना खोप किन्ने सरकारको तयारी 

काठमाडौं : सरकारले भारतबाट २० लाख डोज कोरोना खोप खरिद गर्ने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट कोभिसिल्ड खोप किन्ने तयारी थालेको हो। 

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया अघि बढेको जानकारी दिए। उनले कुन कम्पनीको खोप किन्न लागिएकाे बारेमा बताउन चाहेनन्। 

स्रोतका अनुसार मन्त्रालयले सेरम इन्स्टिच्युड अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपको खरिद प्रक्रिया अघि बढाएको बताएको छ। 

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको यो खोपले आपतकालीन प्रयोगको लागि मान्यता पाएको छ। 

कोरोना खोप अभियानअन्तर्गत माघ १४ बाट देशभर यो खोप लगाइँदैछ। 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. भीम सिंह तिंकरीले कोभिसिल्ड उत्पादक कम्पनीबाट सिधै खरिद गरेर खोप ल्याउने तयारी गरिएको र खरिद ऐनसँग बाँझिएकाले खरिद प्रक्रियामा ढिलाइ भइरहेको बताए। 

डा. तिंकरीले भने, ‘बाँझिएको प्रक्रियालाई कानुनसम्मत समाधान गर्ने पहल भइरहेको छ।’ 

त्यसो भए कति दिनमा खोप भित्रिएला त ? 

उनले कति दिनमा खोप भित्रिन्छ भन्नेबारे अहिले नै किटान गर्न नसकिने बताए। तर, अहिले चलिरहेको खोप अभियान प्रभावित नहुने गरी खोप भित्र्याउन पहल भइरहेको उनको भनाइ छ। 

सरकारले खोप आयातका लागि यसअघि नै कम्पनीलाई पत्र पनि पठाइसकेको उनले बताए। 

 

फागुन ५, २०७७ बुधबार ००:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।