अभिनेत्री दियाको परिपक्व प्रेम यात्रा

अभिनेत्री दियाको परिपक्व प्रेम यात्रा
तस्बिर : दिया मास्केको फेसबुक पेज

काठमार्डौं : प्रेम के हो? दिया मास्केले प्रतिप्रश्न गरिन्, कस्तो गाह्रो प्रश्न हो? साढे २ शब्दको एक अक्षर त हो। तर जति छोटो शब्द त्यति बृहत्। त्यति गाह्रो। 

‘यो शब्दको अर्थ उमेर अनुसार हुने रहेछ। टिनएजमा अर्कै, बिहेपछि अर्कै’ घोरिन थालिन् उनी‘ परिपक्व सम्बन्धमा... अर्को खोइ के हो भनूँ प्रेम?’

उनको परिभाषामा विवाहपछिको प्रेम परिपक्व हो। त्यो आधारमा उनी अहिले परिपक्व प्रेममा छिन्। यो समयको प्रेम भनेको आफ्नाको जुनसुकै पाटो पनि सहजै स्वीकार गर्न सक्ने क्षमताको विकास हो। यो चरणमा पुगेपछि न आकाशको तारा झार्ने गफ दिनुपर्छ न समुन्द्रको मोती टिप्ने असम्भव वाचा।

‘म असम्भवतामा सम्भावना देख्दिन। म अनुप सरको लागि ज्यान दिन पनि सक्दिन,’भावुक भइन् उनी‘तर उहाँ“को खुसीको लागि सहज रूपमा समर्पित हुन भने सक्छु।’

०००

दियाले पटक पटक नाम लिएका ‘अनुप सर’ हुन् अनुप बराल। नेपाली नाट्य क्षेत्रमा खारिएका कलाकार। निर्देशक पनि हुन् उनी। उनको बलियो परिचय चैँ अभिनय प्रशिक्षक भन्दा पक्कै उनलाई चित्त दुख्दैन होला।

यी दुवैको सम्बन्ध गुरु चेलीबाट सुरु भएको थियो। अहिले श्रीमान् श्रीमती हुन्। 

तर सम्बोधन गर्दा अझै पनि दिया अनुपसँगै सर जोड्न छाडेकी छैनन्। उनले जति पटक श्रीमान्को नाम लिइन् सर शब्द सँगै जोडिँदै आयो यी दुवैको प्रेम जोडिएझैँ।

०००

इन्डियन नेसनल स्कुल अफ ड्रामामा अभिनय तथा निर्देशन सिक्नेक्रममा अनुपको उतै मन बसेको थियो। उतैकी रङकर्मीसँग उनको विवाह पनि भयो। तर सम्बन्ध त्यत्ति लामो गएन। दुवैले सहमतिमा सम्बन्ध टुटाए। 

‘दलन’ सिरियलका लागि काली नामकी पात्रको खोजीका क्रममा दियालाई फेला पारेको हो, अनुपको टिमले। तर दिया र अनुपको भेट, देखादेख भने पहिले नै भैसकेको थियो। 

अनुपले अभिनय गरेको चलचित्र ‘लक्ष्य’को प्रिमियममा पुगेकी दियाले आफ्नो हातमा अनुपको फोन नम्बर लेखाएकी थिइन्। अनुपले त्यसभन्दा पहिले नै दियालाई देखिसकेका थिए। एउटा कफी सपमा साथीहरूलाई पर्खदा अर्को टेबलमा दिया ठूल्ठूलो स्वरमा कुनै समस्याका बारेमा कुरा गरिरहेको सुनेका थिए उनले। यो जोडी ‘दलन’पछि घनिष्ठ हुन थाल्यो । अनुपले एक्ट्रेस स्टुडियो खोले, जसका लागि दियासँग पनि सल्लाह गरेका थिए उनले। त्यही“बाट ‘कागबेनी’ फिल्म बनाए। सँगै अभिनय पनि गरे।

थुप्रै प्रोजेक्टमा सँगसँगै काम गर्दै जाँदा एक–अर्काका व्यक्तिगत समस्या पनि साझा हुन थाले। 

उताको सम्बन्ध टुटेपछि एक्लिएका अनुपले दियामा जीवन साथीको छाया देख्न थाले। उनले विवाहको प्रस्ताव राखे। नाइनास्ती गर्ने कारण पनि थिएन दियासँग उनले स्विकारिन् प्रस्ताव र घर सल्लाह अनुसार ६ वर्ष लामो प्रेम सम्बन्धलाई २०७१ मा श्रीमान्–श्रीमतीमा रूपान्तरण गरे उनीहरूले।

उनीहरूको सम्बन्धको नाम मात्र बदलिएको हो। सम्बन्ध प्रेमी–प्रेमिका हुँदा जति मधुर थियो अहिले पनि उस्तै। औपचारिकता देखिँदैन दुवैको सम्बन्धमा। जस्ता थिए उस्तै छन् दुवै। यत्ति हो दियाले अहिले आफूलाई अलि परिपक्व भएको महसुस भने गरिरहेकी रहिछिन्। 

०००

सानैदेखि उनको हुकाई घर बाहिरै भयो। कक्षा ४ मा पढ्दापढ्दै उनी होस्टेल पुगिन्। घरका लागि गेस्ट भइन् उनी। घर यसो बेला मौकामा बस्ने गेस्ट हाउस समान। प्लस टु पास नगदै कला क्षेत्रमा रुचि बढ्यो उनको। जुन यात्रा अहिलेसम्म जारी छ।

अहिले उनी परिपक्व प्रेममा पुगिसक्दा पनि निश्चित सेड्युल भने रहेनछ।

तर कोरोनाकाले उनलाई धेरै सिकायो। लकडाउनको अवधि पोखरामा बित्यो उनको। ससुरा, सासू अनि परिवारसँगै दिन बित्न थाले। बारी गोड्नेदेखि खाना पकाउनसम्म सिकिन् उनले। पक्का बुहारी बन्न हैन है उनले यो सिकेको। यी पनि त दैनिक जीवनको एक पाटो हो नि।

‘नौ महिना मेरो जीवन पुरै सेड्युलमा चल्यो। तर कुनै सकस भएन,’ उनले भनिन्‘ यो नै सच्चा प्रेम हो, मेरो अनुप सरको लागि।’

आज प्रेम, भोलि ट्रयाजिडीको शैलीको प्रेम उनका लागि प्रेम हैन। त्यो क्षणिक आर्कशणको परिणाम मात्र हो। जहाँ समर्पण हुन्न त्यहाँ प्रेम हुन्न। 

झटपट विवाह पनि प्रेम हैन उनको परिभाषामा। विवाह गर्यो, सन्तान जन्मायो अनि त्यही माहौलमा बाँधिँदै जीवनको गति अगाडि बढ्दा त्यहाँ प्रेम अंकुराउन नपाई मुर्झाउने बताउँछिन् उनी।

‘समाजका लागि कोही सँगै बस्छन् भने त्यसैलाई प्रेम भन्न सकिन्न,’ उनी दार्शनिक देखिन थालिन्‘ जीवन फेयरीटेल होइन, रियालिटीमा बाच्यौँ भने जीवन रमाइलो हुन्छ।’

०००

दुवै एकै क्षेत्रमा छन्। विवाहपछिका सम्बन्धमा उतारचढाव आउने जोखिम हुन्छ नै यस्तोमा। तर दियाका अनुसार विवाहपछिको यात्रा झन् सफल र रमाइलो भइरहेको छ।

‘एकले अर्काको सफलताको कामना गर्ने भएर पनि होला,हामीमा इगो, डाहा र ईर्ष्या छैन,’ उनले भनिन्‘ हामी आफूमा रहेको नकारात्मक पक्ष हटाउन प्रयन्तशिल छौँ। रिसाइहाल्ने, तुरुन्तै रियाक्ट गर्ने मेरो स्वभाव अहिले शान्त, धीर एवं परिपक्व हुँदै गएको छ। जीवनलाई हेर्ने दृष्टिकोण बदलिएको छ।’

एक्सटर्स स्टुडियोमा दिया पहिलो ब्याचको विद्यार्थी हुन्। उनी अहिले त्यसको निर्देशक छिन्। उनी ‘फिजिकल मुभमेन्ट’ सम्बन्धी कक्षा पनि लिन्छिन्। 

बिहान एक्ट्रेस स्टुडियोमा प्रशिक्षणबाट सुरु हुन्छ दुवैको दैनिकी। राति अबेरसम्म काममै व्यस्त हुन्छन् दुवै। यसले एक अर्काको सुखदुख बुझ्न सघाएको छ। गाह्रो-सार्हो सम्झाएको छ। काम सँगै हुन्छ, एकै क्षेत्रमा भएको फाइदा घुमघाम पनि सँगै। अभिनय पनि सँगसँगै झैँ हुन्छ उनीहरूको। त्यसले पनि सम्बन्धका रङहरू उस्तै गाढा बनाएको छ, उड्न पाएको छैन प्रेमको रङ।

सम्बन्धको सुरुवात नै गुरु–चेलीबाट भएकाले होला अभिनयको काममा अनुपले नै लिड गर्छन्। घरको इन्टेरियर र खानामा भने अनुपको नेतृत्व चल्दैन। दिया हो यसको लिडर।

‘यस्तो भन्दा परम्परागत झैँ देखिन सक्छ,तर जसको जे मा दखल छ त्यही गर्ने त हो,’ उनले भनिन्।

दुवैको रुचि पनि उस्तै, पुस्तक पढ्ने, मुभी हेर्न जाने। हलमा पुग्दा पनि उनीहरूको हातमा कुनै न कुनै पुस्तक हुन्छन्। एक जना लाइनमा बस्दा अर्काले पुस्तक पढेर सुनाउँछन्। 

प्रेमका लागि गते, बार, तिथि, मिति हेर्नुपर्दैन। तै पनि प्रेम दिवस भनेपछि मनमा एक प्रकारको भाव त आउँछ नै। आज अनुप पोखरामा छन्। दिया काठमाडौँमा। उनीहरूको प्रेमलाई आज भिडियो कलले जोड्यो।

०००

एक वर्ष अगाडि पाँचौँ एनिर्भसरी मनाउँदै दियाले इन्टाग्राममा दुवैको प्रेमिल तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्‘असली प्रेमको कुनै अन्त्य हुँदैन।’

उस्तै छ यी दुवैको प्रेम, मिसवटहिन असली।

फागुन २, २०७७ आइतबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।